एक वर्षभित्र विशेष महाधिवेशन गर्ने
पार्टी अध्यक्ष पुष्पकमल दाहाल र नेता डा. बाबुराम भट्टराईबीच मच्चिएको वैचारिक तथा संगठनात्मक द्वन्द्वले विभाजनको संघारमा पुगेको एकीकृत नेकपा माओवादीले पार्टीभित्र देखिएको विवाद समाधान गर्न एक वर्षभित्र विशेष महाधिवेशन गर्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पोलिटब्युरोको अनौपचारिक बैठकले नयाँ परिस्थितिमा आवश्यकताअनुसार विशेष महाधिवेशनमा जाने निर्णय भएको स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
आगामी असोज १ गते पार्टीको केन्द्रीय समितिको बैठक बोलाइएको र सोही बैठकले महाधिवेशनको निर्णय गर्ने उहाँले बताउनुभयो ।
बैठकले पदाधिकारीसहित संरचनालाई विघटन गरी महाधिवेशन आयोजक समिति बनाउने र अहिलेको केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा बदल्ने छ ।
सापकोटाले नेकपा–माओवादी, नेकपा–माओवादी सहितका माओवादी पार्टीसँग पनि एकता गर्ने उद्देश्यसहित महाधिवेशन आयोजक समिति गठन गरिने उल्लेख गर्नु भयो ।
बैठकमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेता डा बाबुराम भट्टराईले मिलेर जानुको विकल्प नभएको बताउँदै हालसम्म भएको छलफलबारे जानकारी गराउनुभएको थियो ।
विस २०६९ माघमा हेटौँडामा महाधिवेशन गरेको एमाओवादीले विवाद बढ्दै गएपछि गत वैशाखमा विराटनगरमा राष्ट्रिय सम्मेलनको आयोजना गरेको थियो ।
हेटौंडा महाधिवेशनदेखि चर्को रुपमा देखिएको विवाद अहिले आएर फुटकै रुपमाा विकसित भैरहेको सन्दर्भमा पार्टी एकता कायम राख्न भैरहेका अनेक प्रयास नतिजाविहीन हुँदै गएको छ । पार्टी नेतृत्वले एकलौटी निर्णय गरेको भन्दै जिल्ला जिल्लामा भट्टराई पक्षले समानान्तर समिति गठन गर्दैआएका छन् ।
No comments:
Post a Comment