सात आयोजनाद्वारा विद्युत् उत्पादन अनुमतिपत्र माग

विद्युत् उत्पादनको अनुमतिपत्र पाउँ भनी यस वर्षको पाँच महिनाको अवधिमा विभिन्न सात जलविद्युत् आयोजनाले विद्युत् विकास विभागमा निवेदन दिएका छन् ।
सर्वेक्षणको काम पूरा गरेका र निर्माणको प्रक्रिया सुरु गर्न लागेका ती आयोजनाले अन्तिम स्वीकृति लिनुपर्ने प्रावधान अनुसार निवेदन दिएको बताइएको छ ।
हाल निवेदन दिएका सात जलविद्युत् आयोजनाको क्षमता कुल २३० मेगावाट रहेको छ । विभागमा पछिल्लोपटक निवेदन परेका आयोजनामा बुटवल पावरले निर्माण गर्न लागेको १४० मेगावाट क्षमताको तल्लो मनाङ मस्र्याङदी सबैभन्दा ठूलो आयोजनाको रुपमा रहेको छ ।
सो आयोजनाको निर्माणस्थल मनाङ जिल्ला हो । यस्तै बुटवल पावरले निर्माण गर्न लागेको हालसम्मकै सबैभन्दा ठूलो आयोजनासमेत हो ।
यस्तै, उत्पादन अनुमतिपत्र पाउन आवेदन दिने सालु साङ्गे पावरले निर्माण गर्न लागेको ७८ मेगावाट क्षमताको साञ्जेन आयोजना हो । चिलिमे जलविद्युत् आयोजनाले हाल निर्माण गरिरहेको माथिल्लो साञ्जेनभन्दा केही तल बाँध निर्माण गरेर विद्युत् निकालिने बताइएको छ । सो परियोजना रसुवा जिल्लाको अर्को महत्वपूर्ण आयोजना हो । हाल रसुवामा चिलिमे जलविद्युत् कम्पनीले रसुवागढी साञ्जेन, माथिल्लो साञ्जेनलगायतका जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।
त्यस्तै माथिल्लो पिलुवा खोला ४.७ मेगावाट, थामे खोला १.२५ मेगावाट, ठेउली खोला १.५ मेगावाट, सेती खोला ३.५ मेगावाट र मध्य तारा खोला जलविद्युत् आयोजनाले पनि उत्पादनको अनुमतिपत्रका लागि विभागमा निवेदन दिएका छन् ।
विभागमा अहिलेसम्म नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रका कुल ८३ आयोजनाले पाँच हजार ३२२ मेगावाट क्षमता बराबरको विद्युत् उत्पादन अनुमतिपत्रका लागि निवेदन दिएको विभागका सूचना अधिकृत गोर्कणराज पन्थले जानकारी दिनुभयो ।
यस्तै, विभागले अहिलेसम्म ९० आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र प्रदान गरेको छ । यसरी अनुमतिपत्र पाएका आयोजनाबाट कुल दुई हजार ४५५ मेगावाट विद्युत् उत्पादन हुनेछ ।
उत्पादनको अनुमतिपत्र पाएका अधिकांश जलविद्युत् आयोजनाले विद्युत् खरिद सम्झौता(पिपिए) समेत गरिसकेका छन् । हिउँदमा आठ रुपैयाँ ८० पैसा र वर्षामा रु चार रुपैयाँ ४० पैसा प्रतियुनिटमा पिपिए गरिएको छ ।
उत्पादन अनुमतिपत्र लिएपनि केही आयोजनाले भने निर्माण सुरु नगरेकाले विभागले त्यस्ता आयोजनालाई तत्काल निर्माण सुरु गर्न आग्रह गरिसकेको छ ।
No comments:
Post a Comment