Thursday, August 28, 2014

आफ्नो मर्दलाई घरभित्र नचाउँछु : शोभा त्रिपाठी

भदौ १२आफूलाई राष्ट्रप्रेमी गायिकाको रुपमा चिनाउन चाहन्छिन् शोभा त्रिपाठी । उनले गाउने प्रायः तीज गीतमा कतै न कतै देश प्रेम झल्केकै हुन्छ । यसपाली पनि रातो पासपोर्ट नभएको र स्वदेशमै केही गर्न चाहने पुरुषको खोजी गरेको आशयको गीत गाएकी छिन् उनले । रातो पासपोर्ट भाको नि भन्दिन, अमेरिका गाको नि भन्दिन…बोलको गीत गाएकी शोभा यहि मुलुकमा बसेर आफूलाई पुग्ने कमाई गरेको बताउँछिन् । हेरौं, शोभासँग गरेको कुराकानीको संक्षेप-  


shobhaधेरै गायक गायिका तीज मनाउन विदेश गएका छन् तपाइ किन नजानु भएको ?

 मलाई पनि जापान लगायत केही मुलुकवाट तीज कार्यक्रमका लागि निम्ता आएको थियो तर, गईन । धेरैले पैसा चाँही दिन सक्दैनौं घुमाईदिन्छौं भन्छन् । म त्यस्तो कार्यक्रममा जान्न । अर्को कुरा म यही बसेर दिनमा २५ हजारसम्म कमाउन सक्छु भने किन जाने विदेश ?  


गीतमा त तपाई राष्ट्रप्रेमी देखिनुहुन्छ नि ?

 गीतमा मात्रै हैन, म ब्यबहारमा पनि राष्ट्रवादी छु । यो मुलकमा जन्मेकाहरुले यहि मुलुकमा बसेर केही गर्नुपर्ने मान्यता राख्छु । मुलुकको बेरोजगारी हटाउने हो भने विदेश गएर होईन यहि मुलुकमा बसेर काम गर्नुपर्छ ।  


तीज स्पेशल कार्यक्रम के छ ? तीजको दिन के गर्नुहुन्छ ?

 दिनभरि जसो कार्यक्रममा सहभागी हुनुपर्ने भएकाले म तीजको दिन ब्रत बस्दिन । तीजको दिन बिहानैदेखि भक्तपुरको सिपाडोलमा रहेको डोलेश्वर महादेब मन्दिरमा जान्छु र त्यहीका दिदी बहिनीहरुसँग गीत गाएर नाच्छु ।  

पशुपति जानुहुन्न ?

म त डोलेश्वर महादेवको भक्त हुँ । म त्यहि जान्छु, त्यहि रमाइलो लाग्छ । साउनदेखि नै डोलेश्वर महादेव धाउन थालेकी छु ।  


डोलेश्वर महादेबको भक्त भएर पनि के मर्द जुराईदेउ भरिहनु भएको त ? महादेबले सहयोग गरेनन् ? किन नगर्नु ? महादेबको सहयोग पाईसकेको छु । मैले मर्द भेटिसकेको छु । यही हिउँदमा मैले खोजेको मर्द तपाइहरुलाई पनि भेटाउने छु ।  


भनेपछि अर्को वर्ष तीजमा तपाईको गीतमा मर्दले पनि कम्मर मर्काएको देखिन्छ हो ? तीन वर्ष भयो मैले तीजको गीतमा पुरुषलाई नचाएको छैन् । तीज त नारीहरुको चाड हो किन पुरुषहरुलाई नचाउने ? आफ्नो मर्दलाई घरभित्रै नचाउँछु, भिडियोमा त म मात्रै देखिन्छु । राज्यले नै तीजलाई महिलाको चाडको मान्यता दिएको छ भने पुरुषलाइ किन सहभागी गराउने ?


 शहरमा त महिला पुरुष दुबै नाच्छन् नि तीजमा ? शहरका मान्छे अलि फरक छन् । पुरुष नाच्छन् मात्रै हैन, कतिपय तीज कार्यक्रममा हिन्दी गीत बजाएर नाचेको पनि भेटेको छु । यो राम्रो होईन ।  


तपाई त नाच्नु पनि हुन्छ । गाउँदा र नाच्दा के मा बढी आनन्द छ ? म संगीतको विद्यार्थी हुँ । मलाई गायिका नै भएर चिनिनु छ । नाच पनि मेरा दर्शक एवं स्रोताले मन पराएकाले नाचेकी मात्रै हुँ ।

No comments: