Wednesday, August 27, 2014

पत्रकार महासंघले भन्यो-सूचना आयोगमा नियुक्ति प्रक्रिया थालौं


११ भदौ, काठमाडौं । 

सूचना लुकाउनेमाथि कारवाही गर्ने अधिकार प्राप्त राष्ट्रिय सूचना आयोग दुई वर्षदेखि रिक्त हुँदा पनि आयोगमा पदाधिकारी नियुक्तिको प्रक्रिया अघि बढ्न सकेको छैन । सूचना आयोगमा प्रमुख आयुक्त २ वर्षदेखि र आयुक्तहरु करीव डेढ वर्षदेखि छैनन् । सूचनाको हक कार्यन्वयन गर्ने निकाय सूचना आयोगमा पदाधिकारी नियुक्तिमा सरकारले चासो नदिएपछि नेपाल पत्रकार महासंघले मुख खोलेको छ । महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले बुधवार प्रेस विज्ञप्ति निकालेर आयोगमा तत्काल पदपूर्तिको निम्ति औपचारिक प्रक्रिया शुरु गरिदिन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । सूचना आयोगका प्रमुख आयुक्त र आयुक्तको नियुक्तिका लागि सभामुखको अध्यक्षतामा तीन सदस्यीय सिफारिस समिति रहने व्यवस्था छ । समितिमा सूचना तथा सन्चारमन्त्री र नेपाल पत्रकार महासंघको अध्यक्ष सदस्य रहन्छन् । तर त्यसका लागि सरकारले प्रक्रिया शुरु गर्नुपर्छ । कांग्रेस र एमालेबीच भागबण्डाबाटै आयोगका पदाधिकारी नियुक्ति हुने भएकाले सरकारले त्यसमा प्रवेशनै गरेको छैन । लामो समयदेखि आयोग नेतृत्वविहीन रहँदा आम नागरिकको सूचनाको हकको संरक्षण, संवर्द्धन र प्रचलनमा गम्भीर असर परिरहेको पत्रकार महासंघले जनाएको छ । ‘आयोगमा पदपूर्तिको औपचारिक प्रक्रिया प्रारम्भसमेत नहुँदा पदीय हिसावले र व्यक्तिगतरूपमा समेत असहज महसुस भैरहेको छ ।’ अध्यक्ष बिष्टले भनेका छन् ।

No comments: