Wednesday, August 27, 2014

लगानीकर्तालाई नआत्तिन आग्रह

११ बुधबार

काठमाडौं : अर्थ मन्त्रालयका सहसचिव कृष्ण देवकोटाले सेयर लगानीकर्तालाई हतोत्साही नहुन आग्रह गरेका छन्। नेपाल राष्ट्र बैंकले गत साता जारी गरेको निर्देशनपछि सेयर बजार निरन्तर घटेपछि साना लगानीकर्ता डराएका छन्। लगानीकर्ता डराएपछि नेपाल इन्भेस्टर्स फोरमले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा देवकोटाले नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय नियमन विभागद्धारा जारी गरिएको निर्देशनबाट लगानीकर्तालाई हतोत्साही नहुन आग्रह गरेका हुन्। बजार अस्वभाविकरूपमा घट्न नदिनेसमेत उनले बताए। उनले भने, 'अर्थमन्त्रालयले चनाखो भएर हेरिरहेको छ। हामीले नेपाल राष्ट्र बैंकलगायतका सरोकारवालासँग समेत छलफल गरिसकेका छौं।' नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले राष्ट्र बैंकले जारी गरेको निर्देशनका कारण लगानीकर्ता अत्तालिन नहुने बताए। नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष राजकुमार तिमिल्सिनाले धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जको नालायकीपनका कारण सेयर बजार अस्तव्यस्त भएको आरोप लगाए। स्टक ब्रोकर्स एसोसिएसनका अध्यक्ष नरेन्द्रराज सिंजापतिले राष्ट्र बैंकले लगानीकर्तालाई हतोत्साहित हुने गरी नियमन जारी गर्दा यस्तो समस्या आएको आरोप लगाए। लगानी सीमामा परिवर्तन गरिएको छैन नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले ३० प्रतिशतसम्म सेयरमा लगानी गर्न पाउने सीमा कुनै पनि परिवर्तन नगरेको प्रस्ट पारेको छ। बैंक तथा वित्तीय संस्थाले कुल लगानीमध्ये दैनिक रूपमा मूल्यांकन गरिने व्यापारिक लगानीको (हेल्ड फर ट्रेडिङ) मात्र प्राथमिक पुँजीको एक प्रतिशतसम्म लगानी गर्न सक्ने सीमा तोकिएको जनाएको छ। राष्ट्र बैंकले मंगलबार विज्ञप्ति जारी गर्दै गत असारमा जारी गरको एकीकृत निर्देशनलाई परिवर्तन नगरिएको समेत प्रस्ट पारेको छ।

No comments: