गिरिजाप्रसाद पार्टीभन्दा माथिका नेता : डा. बाबुराम
एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गिरिजाप्रसाद कोइराला आफ्नो दलभन्दा पनि माथि उठेर राष्ट्रिय हितका पक्षमा लाग्ने नेता भएको बताउनुभएको छ ।
डा. भट्टराईले जिपी कोइराला अध्ययन केन्द्रद्वारा बुधबार आयोजित ‘राणाशासनदेखि गणतन्त्रको यात्रासम्म गिरिजाबाबु’ नामक निबन्ध सङ्ग्रहको विमोचन एवम् ‘संविधानसभामा लोकतान्त्रिक संविधान र गिरिजाबाबु’ विषयक अन्तक्र्रियामा सो कुरा बताउनुभएको हो ।
देश अत्यन्त जटिल अवस्थामा रहँदा विरोधी शक्तिलाई लिएर राष्ट्रिय हितमा लागिपर्ने साहस गिरिजाप्रसादले देखाएको डा. भट्टराईले उल्लेख गर्नुभयो ।
त्यसै गरी नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले अहिले जारी संविधान लेखन प्रक्रियालाई सम्पन्न गर्नु नै स्व. नेता गिरिजाप्रसाद कोइरालाप्रति सच्चा सम्मान हुने बताउनुहुँदै कोइरालाले नेपालमा गणतन्त्रको स्थापनाका लागि सर्वोपरी भूमिका निर्वाह गर्नुभएको बताउनुभयो ।
भिन्न विचारधारा भएका शक्तिलाई पनि सहमति र सहकार्यको माध्यमबाट एक ठाउँमा ल्याउने गिरिजाप्रसाद नेपालको समकालीन राजनीतिका अग्रणी व्यक्तित्व भएको चर्चा गर्दै उहाँले भन्नुभयो, “एउटा युगको अन्त्य गरेर नयाँ युग थालनी गर्ने नेताका रूपमा गिरिजाप्रसाद रहनुभएको छ ।”
नेपालको राष्ट्रिय हित हुने लोकतान्त्रिक संविधान वर्तमान समयको आवश्यकता भएको उल्लेख गर्दै उहाँले संविधान लेखनका सम्बन्धमा आएका विवादलाई वार्ताका माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपालका ऐतिहासिक उपलब्धिलाई संस्थागत गर्न संविधान लेखनलाई पूर्णता दिनुपर्ने उहाँको भनाइ थियो ।
सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले सबैलाई मिलाएर लैजान सक्ने दूरदर्शीता गिरिजाप्रसादमा रहेको बताउनुभयो ।
नेका सङ्गठन विभाग प्रमुख आनन्दप्रसाद ढुङ्गानाले गिरिजाप्रसादले अघि सारेको सहमति र सहकार्यको राजनीति वर्तमानमा पनि उत्तिकै सान्दर्भिक भएको बताउनुभयो ।
कार्यक्रममा नेका काठमाडौँका सभापति भीमसेनदास प्रधान, केन्द्रका अध्यक्ष रामप्रसाद अधिकारी, नेपाल विद्यार्थी सङ्घका पूर्व अध्यक्ष प्रदीप पौडेल, कुन्दन काफ्ले, हिरण्यमान प्रधानलगायतले नेपालको जारी संविधान लेखन प्रक्रियालाई सम्पन्न गर्दैै राष्ट्रिय समुन्नति र विकासका मार्गमा देशलाई उन्मुख गराउन सकेमात्र गिरिजाप्रसादप्रतिको सच्चा सम्मान हुने बताउनुभएको थियो ।
No comments:
Post a Comment