टिपर गुन्डागर्दी गर्ने साहु र चालकलाई सार्वजनिक मुद्दा चलाइने
August 30
काठमाडौं : निर्माण सामग्री ढुवानी गर्न नपाएपछि रोजगारी ठप्प भएको भन्दै विरोधस्वरूप टिपर र ट्रक व्यवसायीले शुक्रबार आफ्ना गाडी तीनकुने सडक बीचमा घन्टौंसम्म तेर्स्याउँदा राजधानी दिनभरजसो अस्तव्यस्त बन्यो। वार्ता र छलफलको माध्यम हुँदाहुँदै पनि सरकारमाथि दबाब दिन गरिएको विरोध प्रदर्शनले सरकारकै क्षमतामाथि प्रश्नचिन्ह उठाएको छ।
अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब दुई किलोमिटर, आर्यघाटबाट साढे दुई किलोमिटर, सत्ता केन्द्र सिंहदरबारबाट तीन किलोमिटर र संविधानसभा भवनबाट एक किलो मिटर दूरीमा रहेको तीनकुनेमा टिपर तेस्र्याइँदा सरकार उदासीन बन्यो। विमानस्थलमा समयमा पुग्न नसक्दा कयौंको यात्रामा व्यवधान भयो। पशुपति र आर्यघाट जानैपर्नेसमेत मारमा परे।
सरकारले चुरेलगायतका क्षेत्रबाट भइरहेको अवैध गिट्टी र बालुवा निकासी रोकेपछि आक्रोशित व्यवसायीले विरोधस्वरूप शुक्रबार बिहानैदेखि सडक अवरुद्ध पारेका हुन्। सरकारले जथाभाबी प्रकृति दोहन रोक्दै व्यवस्थित रूपमा ढुवानी गर्न दिने भन्दै आए पनि काम भने त्योअनुसार भएको छैन।
तीनकुनेमा सडक अवरुद्ध पारेको जानकारी नौबिसेका व्यवसायीले पाएपछि उनीहरूले पनि टिपर तथा ट्रक तेस्र्याउन सुरु गरेका थिए। यसबाट पृथ्वी राजमार्ग भएर गुड्ने सयौं यात्रु तथा मालवाहक सवारीसाधन घन्टौं राजमार्गमै रोकिए। अरनिको राजमार्ग पनि प्रभावित भयो।
व्वसायीसँग दुई चरणमा वार्ता गरे पनि सरकार निर्णयबाट पछि नहटेपछि उनीहरू आन्दोलित भएका हुन्। राजधानी अस्तव्यस्त हुने गरी ट्रक र टिपर तेर्साएर एर सडक अवरुद्ध गर्नेविरुद्ध सरकारले सार्वजनिक अपराध मुद्दा चलाउने भएको छ।
अराजक र गुन्डागर्दी शैलीमा सडक कब्जा गरेर आवागमनमा अवरोध पुर्याउने टिपरधनी र चालकलाई सार्वजनिक मुद्दा चलाउन गृह मन्त्रालयबाट निर्देशन भएको हो।
'माग सरकारसमक्ष राख्न पाइन्छ, वार्ता र छलफलबाट समस्या समाधानका लागि प्रयास गर्नुको साटो सडक कब्जा गरेर आवागमनमा अवरोध पु:याउनेमाथि सार्वजनिक मुद्दा चलाइन्छ', गृहका प्रवक्ता लक्ष्मी ढकालले भने।
राजधानी अस्तव्यस्त हुने गरी ट्रक र टिपर तेर्साएर एर सडक अवरुद्ध गर्नेविरुद्ध सरकारले सार्वजनिक अपराध मुद्दा चलाउने भएको छ।
सडकमा तेस्र्याइएका टिपरलाई र्याकरले तानेर हटाइएको थियो। बिहान ९ बजेदेखि अस्तव्यस्त बनेको सडक अपराह्न ४ बजेमात्रै पूर्ववत् भएको थियो। सडकमा टिपर तेस्र्याइएको घटनाको सर्वत्र आलोचना हुन थालेपछि मात्र प्रहरी अवस्था बुझ्न घटनास्थल पुगेको थियो।
प्रहरीले सडक अवरोध हटाउन आग्रह गर्दा उल्टै जाइलागेका चालक र मजदुरमाथि बल प्रयोग गरेको थियो। प्रहरीले सडकमा अवरोध पुर्याएको आरोपमा टिपर मजदुर तथा चालक गरी ३७ जनालाई नियन्त्रणमा लिएको छ।
भक्तपुर कौशलटारबाट वीर अस्पताल हिँडेका रवीन्द्र पौडेलले भने, 'यो सबै सरकारको नालायकीपन हो। बेलैमा हस्तक्षेप गरेर रोक्न नसक्नु सरकारको कमजोरी हो। अब आफ्नो स्वार्थ पूरा गर्न सडक कब्जा गर्नुपर्ने भयो।
सडक कब्जा गर्नु अपराध हो। यो टिपर व्यवसायी र चालकको गुन्डागर्दी पनि हो।' मेरुदण्डका रोगी पौडेल चढेको ट्याक्सी कोटेश्वरमा रोकिएको थियो।
महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रवक्ता एसएसपी हेमन्तबहादुर पालले भने, 'पक्राउ र फरार टिपरका साहु र चालकमाथि सार्वजनिक मुद्दा चलाइन्छ, बाटो सबैको साझा सम्पत्ति हो, कसैले अवरोध गर्न पाउँदैन।'
टिपर व्यवसायी र मजदुरले काम गरी खान दिन माग गरेका छन्। राजधानीमा आयोजित पत्रकार सम्मेलनमा नेपाल टिपर तथा ट्रक व्यवसायी समितिका अध्यक्ष यादवलाल श्रेष्ठले महिना दिनदेखि ट्रक तथा टिपरले काम नपाउँदा व्यवसायी र कामदार मर्कामा परेको बताए।
बागमती टिपर व्यवसायी संघका उपाध्यक्ष शेरबहादुर कुँवरले शान्तिपूर्ण आन्दोलनमाथि सरकारले हस्तक्षेप गरेको आरोप लगाए।
सरकारले चुरे क्षेत्रमा अवैध रूपमा सञ्चालित क्रसर उद्योगले प्राकृतिक विपत्ति निम्त्याएको निष्कर्ष निकाल्दै जथाभाबी उत्खननमा रोक लगाउँदै खोलाकिनार, वनजंगल तथा राजमार्गबाट तोकेको दूरी (मापदण्ड) बाहिरका उद्योगलाई तत्काल अन्यत्र सार्न निर्देशन दिएको छ।
व्यवसायीले भने सरकारले तोकेको मापदण्डबाहिरका उद्योगसमेत त्यहीं सञ्चालन गर्न पाउनुपर्ने माग गरिरहेका छन्। 'सरकारले तोकिदिएको मापदण्डअनुसार उद्योग चल्नुपर्छ', विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयका सचिव डा. कृष्णचन्द्र पौडेलले भने।
No comments:
Post a Comment