Saturday, August 30, 2014

धामीको अस्थिपञ्जर भेटियो

August 30

गोकुलेश्वर: गत वर्ष जेठ महिनादेखि हराइरहेका दार्चुलाको दत्तु गाविस वडा नं ५ थाप्लाका ५२ वर्षीय नरसिंह धामीको अस्थिपञ्जर फेला परेको छ । गाविसकै भगवतीको बालशिखरसँग जोडिएको धुराकीखाली जङ्गलमा बुधबार बेलुकीतिर स्थानीय बासिन्दाले उनको अस्थिपञ्जर भेटाएका हुन् । घाँस काट्न वनमा गएका केही महिलाले कपडा, टोपी, चप्पल तथा हड्डी देखेपछि गाउँमा खबर गरेका थिए । स्थानीय बासिन्दाले बेपत्ता धामीले लगाएका कपडाको आधारमा उनकै अस्थिपञ्जर भएको पहिचान गरी प्रहरीलाई खबर गरेका हुन् । जिल्ला प्रहरी कार्यालय तथा प्रहरी चौकी दत्तुबाट घटनास्थलमा गएको प्रहरी टोलीले बिहीबार उक्त अस्थिपञ्जरको मुचुल्का उठाएपछि आफन्तजनले अन्त्येष्टि गरेका छन् । आफन्तको कसैप्रति शङ्का नभएपछि अन्त्येष्टि गरिएकोे प्रहरी निरीक्षक मङ्गलबहादुर चन्दले बताए । बाख्रा चराउन गएका बेला बेपत्ता भएका धामी नेपाली सेनाका अवकाशप्राप्त जमदार हुन् । - रासस

No comments: