१ खर्ब ९२ अर्ब भारु खरिद गर्न ३ अर्ब डलर बिक्री
August31
नेपालले गत आवमा ३ अर्ब डलर बिक्री गरी १ खर्ब ९२ अर्ब भारतीय रुपैयाँ खरिद
गरेको छ । गत आवमा नेपालले भारततर्फ निर्यात गरी कमाएको पैसाले भारतबाट
खरिद हुने वस्तुको भुक्तानी गर्न नपुगेपछि डलर बिक्री गरेर भारतीय रुपैयाँ
खरिद गर्नुपरेको हो ।
गत आवमा नेपाल राष्ट्र बैंकले अघिल्लो
आवको तुलनामा करिब २१ अर्ब बढी भारतीय रुपैयाँ खरिद गरेको छ । राष्ट्र
बैंकको तथ्यांकअनुसार आव ०६९/७० मा ३ अर्ब १२ करोड डलर बिक्री गरेर १ खर्ब
७१ अर्ब भारतीय रुपैयाँ खरिद भएको थियो ।

सरकारले आयात प्रतिस्थापन गरी निर्यात
प्रवद्र्धन गर्न नसक्दा गत आवमा वस्तु व्यापार घाटा ६ खर्ब १८ अर्ब ४७ करोड
रुपैयाँ पुगेको छ । राष्ट्र बैंकले जारी गरेको गत आवको आर्थिक
प्रतिवेदनअनुसार वस्तु व्यापार घाटा २८.९ प्रतिशत वृद्धि भएको हो । नेपालको
सबैभन्दा बढी व्यापार घाटा भारतसँग छ ।
नेपालले उत्पादनमा ध्यान दिएर निर्यात
बढाउन नसक्दासम्म डलर बिक्री र भारु खरिदको चक्र चलिरहने राष्ट्र बैंकका
पूर्वगभर्नर डा. दीपेन्द्रबहादुर क्षेत्रीले बताए । ‘नेपालको ६०–६५ प्रतिशत
व्यापार भारतसँग निर्भर छ । निर्यातभन्दा आयात उच्च मात्रामा भइरहेको कारण
भुक्तानीकै लागि डलर बिक्री गरेर भारतीय रुपैयाँ खरिद गर्नुपरेको हो,’
उनले भने ।
कुल वस्तु व्यापार घाटामध्ये भारतसँगको
व्यापार घाटा ३०.८ प्रतिशत उच्च दरले बढेको राष्ट्र बैंकले जनाएको छ ।
अघिल्लो वर्ष १९ प्रतिशत बढेको अन्य मुलुकसँगको व्यापार घाटा अघिल्लो
वर्षमा २५.३ प्रतिशत बढेको हो । राष्ट्र बैंकको तथ्यांकअनुसार गत आवमा ९०
अर्ब २९ करोड रुपैयाँको वस्तु निर्यात भएको छ भने ७ खर्ब ८ अर्ब ४६ करोडको
आयात भएको छ । कुल वस्तु निर्यातमध्ये भारततर्फको निर्यात समीक्षा वर्षमा
१६.५ प्रतिशत बढेको छ ।
नेपाल आयात हुने केही वस्तुको भने डलरमै
भुक्तानी गर्नुपर्ने नियम राष्ट्र बैंकले बनाइदिएको छ । ‘नेपालमा आयात
हुनेमध्ये करिब ३० प्रतिशत वस्तुको भुक्तानी डलरमै गर्नुपर्ने व्यवस्था छ ।
तर, स–साना वस्तु पनि भारतबाटै खरिद गर्नुपर्ने भएकाले सबै वस्तुको डलरमा
भुक्तानी गर्न सम्भव छैन,’ अर्थविद् केशव आचार्यले भने ।
कतिपय जनता शिक्षा र स्वास्थ्य उपचारका
लागि पनि भारत नै जाने गरेका छन् । उनीहरूले भारतीय मुद्राकै माग गर्ने
हुनाले भारतीय मुद्रा व्यवस्थापन गर्न राष्ट्र बैंकले चर्को दबाब खेप्दै
आएको छ । भारतीय मुद्रा खरिद गर्दा राष्ट्र बैंकले भाडा र बिमाबापत रकम
खर्च गर्ने गरेको छ ।
भारतीय बैंकबाट खरिद गरिएको मुद्रा नेपाल
ल्याउन र व्यवस्थापन गर्नका लागि मात्रै बर्सेनि करोडौँ रुपैयाँ खर्चिंदै
आएको छ । मुद्रा खरिद–बिक्री गर्दाको कमिसनसमेत नेपालले गुमाउनुपर्ने केही
वर्षअघिसम्मको अवस्था भने अहिले छैन । राष्ट्र बैंकले भारतका विभिन्न
बैंकबाट भारतीय मुद्राको बिक्री दर माग्ने र जसले सस्तोमा उपलब्ध गराउँछ,
उसैसँग खरिद गर्ने हुँदा केही वर्षदेखि कमिसन घाटा बच्न थालेको छ ।
No comments:
Post a Comment