Sunday, August 31, 2014

एडिबीलाई स्थानीय मुद्रामा ऋणपत्र जारी गर्न स्वीकृति

काठमाडौं, August 31
एसियाली विकास बैंक (एडिबी)ले नेपालका जलविद्युत् आयोजनामा लगानीका लागि ५० अर्ब रुपैयाँको ऋणपत्र (बन्ड) जारी गर्ने प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृति गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले एडिबीको ऋणपत्र जारी हुने प्रस्ताव स्वीकृत गरेको अर्थ मन्त्रालयका सचिव सुमनप्रसाद शर्माले जानकारी दिए ।adb

एडिबीले नेपाली रुपैयाँमा जारी गरिएको ऋणपत्रबाट उठेको रकम ८ जलविद्युत् आयोजनामा लगानी गर्ने प्रस्ताव अर्थ मन्त्रालयमा पेस गरेको थियो । ‘एडिबीले ऋणपत्रबाट उठाएको रकम लगानी गर्ने जलविद्युत् आयोजना नै तोकेर निवेदन दिएको थियो । मन्त्रिपरिषद्ले यसैलाई स्वीकृत गरेकाले एडिबीले ऋणपत्रमार्फत उठाएको पैसा जलविद्युत् आयोजनामै लगानी हुन्छ,’ उनले भने ।

एडिबीले मुलुकभित्र र बाहिर छरिएर रहेको रकम ऋणपत्रमार्फत नेपाली रुपैयाँमा बटुलेर जलविद्युत् आयोजनामा लगानी गर्न लागेको हो । एडिबीले पूर्वाधार निर्माणका लागि भारत, मलेसिया, थाइल्यान्डलगायतका मुलुकमा स्थानीय मुद्रामा बन्ड जारी गरिसकेको छ ।

अन्तर्राष्ट्रिय संस्थालाई नेपाली रुपैयाँमा ऋणपत्र जारी गर्न पहल गरेको एडिबीले गत साउनको अन्तिममा ऋणपत्र जारी गर्ने प्रस्ताव अर्थ मन्त्रालयमा पेस गरेको थियो । सरकारले यसअघि विश्व बैंक समूहको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)लाई नेपालको पूर्वाधार, कृषि र पर्यटन क्षेत्रमा लगानी गर्न ५ वर्षका लागि ५० अर्ब रुपैयाँ (५० करोड अमेरिकी डलर)को ऋणपत्र जारी गर्न स्वीकृति दिइसकेको छ ।

ऋणपत्र जारी गर्दा ठूला परियोजनाका लागि ठूलो पुँजी संकलन हुने र लगानीकर्ताको जोखिम न्यूनीकरण भई प्राथमिकताप्राप्त क्षेत्रमा लगानी परिचालन गर्न सघाउ पुग्नेछ । ऋणपत्र (बन्ड) जारी गर्ने संस्थाले नै लगानीमा रहेको भुक्तानी जोखिम (डिफल्ट रिक्स) पूर्ण रूपमा व्यहोर्ने र लगानीकर्तालाई रकम फिर्ता दिने हुँदा लामो अवधिका लागि वित्तीय स्रोत जुटाउन सहज हुनेछ ।

ऋणपत्रबाट नेपाली मुद्रामा रकम उठाएर लगानी गरिने हुदा अमेरिकी डलरमा भइरहने उतारचढाबका कारण हुने विदेशी मुद्रा विनिमय जोखिम व्यहोर्नुपर्ने छैन । ऋणपत्रमार्फत आन्तरिक रूपमा वित्तीय साधन परिचालन भई विदेशी ऋणको भार न्यून हुने, संस्थागत लगानीकर्तालाई दीर्घकालीन लगानी गर्न सुरक्षित उपकरण उपलब्ध हुने, पुँजी बजार विकासमा सघाउ पुग्ने र तरलता व्यवस्थापनमा सघाउ पुग्ने अर्थको अपेक्षा छ ।

No comments: