Sunday, August 31, 2014

सुनसरीमा १ सय २० सहकारी निष्क्रिय

सुनसरी, August 31

जिल्लाभर सहकारी नियमअनुसार दर्ता भएका ५ सय ९० संस्थामध्ये १ सय २० निष्कृय छन् । निष्कृय सहकारीलाई सकृय हुन एकपटक आग्रह गरिने र नभए दर्ता खारेजीसम्मको कारबाही थालिने सहकारी तथा प्रशिक्षण डिभिजन कार्यालय सुनसरीले जनाएको छ ।

सहकारी विभागको निर्देशनअनुसार निष्कृय सहकारीमाथि कारबाहीका लागि तयारी सुरु गरिएको जिल्ला डिभिजन कार्यालयका प्रमुख गुरुभक्त श्रेष्ठले बताए ।

उनका अनुसार सुनसरीमा दर्ता भएका ५ सय ९० सहकारीमध्ये ३ सय १७ बचत तथा ऋण, १ सय ७१ कृषि, ४१ बहुउद्देश्यीय, १३ दुग्ध र ५ सञ्चारसम्बन्धी सहकारी छन् ।

तीमध्ये १ सय २० वटाले डिभिजन कार्यालयलाई मासिक प्रगति प्रतिवेदन नबुझाएको श्रेष्ठले जानकारी दिए । भदौ अन्तिम सातासम्म निष्कृय रहेका सहकारीलाई एकपटक पुन: मौका दिइने र अटेर गरे खारेजी प्रकृयामा लगिने उनको भनाइ थियो ।

श्रेष्ठका अनुसार ०७१ असारसम्म जिल्लामा ५ सय ५२ सहकारी दर्ता भएकोमा २ सय ८५ वटाले मात्र लेखा परीक्षण र साधारणसभा गरेको डिभिजन कार्यालयमा रिपोर्ट पेस गरेका छन् । बाँकीले भदौको दोस्रो सातासम्म पनि प्रतिवेदन बुझाएका छैनन् ।

जिल्लामा २ वर्षभन्दा बढी निष्कृय हुने सहकारी संख्या ५० पुगेका छन् । आउँदो असोजदेखि ५ करोडमाथिको कारोबार गर्ने सहकारीलाई सहकारी विभाग र त्यसमुनिको कारोबार गर्ने सहकारीलाई जिल्ला तहमा क्रियाशील अनुगमन समितिबाट नियमित अनुगमन गराइने श्रेष्ठले जानकारी दिए ।

सहकारी खोल्न नरम नीति अपनाइँदा धेरै बचतकर्ताको करोडौँ रुपैयाँ जोखिममा परेकाले डिभिजन कार्यालयले त्यसमा कडाइ गर्ने उनको भनाइ थियो ।

कार्यालयमा दैनिक ४ वटासम्म सहकारीविरुद्ध उजुरी दर्ता हुने गरेको उनले बताए । नियमित बचतकर्तालाई बचत निकाल्न नदिइएको, सहकारी सञ्चालक रकम लिएर फरार भएका, सेयर रकम फिर्ता नदिएका, कार्यालय नै बन्द भएकालगायत आर्थिक अपराधका विषय उल्लेख गरी उजुरी आउने गरेको श्रेष्ठले बताए ।

जनशक्ति अभाव भए पनि दैनिक आउने उजुरीमाथि कार्यालयले अनुसन्धान गरिरहेको उनको भनाइ थियो । श्रेष्ठले भने, ‘इटहरी नगरपालिकामा मात्रै ९९ सहकारी दर्ता छन् । एक वडा बराबर ११ वटा सहकारी पर्छ । धेरै सहकारी खोल्न स्वीकृति दिँदा समस्या निम्तिएको हो ।’

No comments: