Sunday, August 31, 2014

खेतीयोग्य जमिनमा रासायनिक मल प्रयोग बढ्यो

August 30रूपन्देही

जिल्लाका खेतीयोग्य जमिनको माटोमा प्रांगारिक वस्तु कम हुँदै गएको देखिएको छ । जिल्ला कृषि विकास कार्यालय रूपन्देहीले ५ महिने अवधिमा गरेको माटो परीक्षणमा खेतीयोग्य जमिनमा रासायनिक मात्रा बढी भएको फेला परेको हो ।

जिल्लाका अधिकांश क्षेत्रमा प्रांगारिक मलको सट्टा रासायनिक मल प्रयोग बढ्दै गएकाले माटोमा अम्लीयपना बढी र प्रांगारिक पदार्थ कम हुँदै गएको कार्यालयले जनाएको छ ।

त्यसबाहेक माटोमा नाइट्रोजनको कमी देखिएको परीक्षणले पुष्टि गरेको छ । जिल्ला कृषि विकास कार्यालय रूपन्देहीका माटोविज्ञ आशुयनीकुमार शर्माले जिल्लाका विभिन्न स्थानमा माटो परीक्षण गर्दा बढी मात्रामा रासायनिक मल प्रयोग भएको भेटिएको बताए ।

किसानले सुरुमा उत्पादन मात्र बढी खोज्ने कारणले रासायनिक मल प्रयोग गरेकाले माटोको उर्वराशक्ति कम हुँदै गएको उनको भनाइ छ । कार्यालयले फागुनदेखि जिल्लामा पहिलोपटक माटो परीक्षण गरेको थियो ।
कार्यालयले रूपन्देहीको धकधई, करहिया, अमुवा र सूर्यपुरामा माटो परीक्षण शिविर सञ्चालन गरेको थियो । त्यसबाहेक कार्यालयबाटै माटो परीक्षण भइरहेको छ भने अन्य गाविसमा पनि माटो परीक्षण शिविर सञ्चालन गरिनेछ ।

हालसम्म कार्यालयले ५ सय ठाउँमा माटो नमुनाजाँच गरिसकेको छ । कृषकले युरिया मात्रा बढी राखी उत्पादन बढी लिन खोज्दा माटोमा अम्लीयपना बढी देखिएको हो ।

सामान्यत: प्रांगारिक पदार्थ प्रतिहेक्टर ३ देखि ५ प्रतिशत, नाइट्रोजन ०.११ देखि ०.२२ प्रतिशत, पोटास २ सय ८० केजीदेखि ५ सय केजी र फस्फोरस ३० केजीदेखि ५५ केजी भए माटो राम्रो मानिन्छ । हालसम्म गरिएको परीक्षणमा कुनै पनि पदार्थ माटोमा ठीक भएको भेटिएको छैन ।

तराईका जिल्लाका अधिकांश कृषकले गोबरबाट गुइँठा बनाई प्रांगारिक मल खेतीपातीमा प्रयोग नगर्दा माटोमा प्रांगारिक पदार्थ कमी देखिएको शर्माको भनाइ छ । गोबर तथा तोरीको डाँठ, केराउ र अन्य बालीको डाँठ कुहाएर प्रांगारिक मल बनाउन सकिने भए पनि त्यसलाई जलाएर नास गर्ने गरिएकाले तराईको माटोमा प्रांगारिक पदार्थ कमी देखिएको उनले जानकारी दिए ।

आइडब्लुआरएमपीले सहयोग गरेको कलर मेथडबाट माटोमा नाइट्रोजन, फस्फोरस, पोटास र पिएचको परीक्षण गर्न सकिनेछ । माटो परीक्षण गर्दा नाइट्रोजन कम भए युरिया प्रयोग, फस्फोरस कमी भए डिएपी र पोटास मात्रा कमी भए म्युरिटा पोटास राख्नुपर्छ । – रासस

No comments: