Thursday, August 28, 2014

बिहानैदेखि पशुपतिनाथमा तीज मनाउने ब्रतालुहरुको घुइँचो


१२ बिहीबार काठमाडौं:

 आज हिन्दु नेपाली महिलाहरुको महान चाड हरितालीका तीज। भगवान श्रीमहादेवको पूजा अर्चना गरि धुमधामका साथ मनाईंदैछ। पशुपतिनाथको मन्दिरमा तीजको अवसरमा बिहीबार बिहानैदेखि हिन्दू महिलाको विशेष मेला लागेको छ। पशुपति क्षेत्र विकास कोषले बिहान साढे तीन बजेदेखि नै दर्शनका लागि व्यवस्था मिलाइएको कोष सदस्यसचिव डा गोविन्द टण्डनले जानकारी दिएका छन्। मन्दिरको भित्रि भागमा महिला सुरक्षाकर्मी र स्वयम्सेवक पनि महिला नै खटाएको उनले जानकारी दिए। मन्दिर प्राङ्गणमा ११३ महिला प्रहरी र २०० महिला स्वयम्सेवक खटाइएको छ। तीज पर्वमा महिलाको भीड लाग्ने भएकाले पुरुष दर्शनार्थीलाई बिहान ६ बजे अगाडि नै दर्शन गराइ सकिएको कोषका कानुन अधिकृत कमलबहादुर बोगटीले बताए। तीजमा दर्शनार्थीले व्यवस्थित ढङ्गले दर्शन गराउनको लागि मात्रै दुई हजार २४६ सुरक्षाकर्मी पशुपति क्षेत्रमा खटाइएको तीज व्यवस्थापन समितिका संयोजक तारानाथ सुवेदीले बताए। विभिन्‍न सङ्घसंस्था पनि भक्तजनको सहयोगका लागि संलग्न छन्। मन्दिरको उत्तर, दक्षिण र पश्‍चिममतर्फका ढोका खुला गरिएको छ। नारी स्वतन्त्रताको प्रतीकका रूपमा रहेको यस पर्वमा सौभाग्यका प्रतीक रातो सारी, चुरा, पोते र गरगहनामा सजिएका महिलाहरु, दुम्जाको कुशेश्‍वर महादेव, खोटाङको हलेसी महादेव, गोकर्णको गोकर्णेश्वर महादेवलगायत देशका अन्य शिव मन्दिरमा आज बिहानैदेखि घुइँचो लागेको छ। धार्मिकस्थलमा महिलाको सौभाग्यका सामग्रीको किनबेच गर्नेको पनि घुइँचो लागेको छ। सत्ययुगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई स्वामी पाऊं भनी हरितालीका तीजको ब्रत लिएको र ब्रतको प्रभावले श्रीमहादेवलाई पतिका रुपमा पाएको धार्मिक विश्‍वास रहिआएको छ।

No comments: