Saturday, August 30, 2014

तीजमा मेहन्दी शृंगार

August 30

तीजको शृंगारमा छुटाउनै नहुने एउटा शृंगार मेहन्दी पनि हो। मुम्बई मेहन्दी ट्रेनिङ सेन्टर डिल्लीबजारका मेहन्दी डिजाइनर कुलदीप कुमारका अनुसार अहिले अरेबिक मेहन्दी, खुबसुरत अरेबिक, इन्डो अरेबिक, सानिया अरेबिक, गोल्डेन मेहन्दी बढी प्रचलनमा छन्। 

मेहन्दी बनाउने तरिका 

दुई सय ग्राम पानीमा एक चम्चा चियापत्ती, डेढ चम्चाको चार भागको एक भाग चिनी, एउटा कागतीको रस मिसाएर पानी उमाली मनतातो बनाउने। त्यसपछि जालीबाट सो पानी छान्ने। त्यसमा एक ग्राम मेहन्दी घोल्ने। यो घोल दुईदेखि तीन घन्टासम्म भिज्न दिने। त्यसपछि आठदेखि दस थोपा मेहन्दीको तेल हाली राम्रोसँग मिक्स गर्ने। यसलाई डल्लो पर्न नदिई राम्रोसँग फिट्ने। मेहन्दी हातमा लगाउनुपूर्व दुईतीन थोपा डिटोल राखी पानीले हात सफा गर्ने। हातमा मेहन्दी तेल लगाएर बुट्टा बनाउने। मेहन्दी सुक्दै जाँदा बुट्टा नझरोस् वा गाढा बनोस् भनेर त्यसमाथि चिनी र कागतीरस मिसाई बनाइएको घोल कटनको सहायताले हल्कासँग लगाउने। यसलाई तीनचारपटक लगाउने। मेहन्दी सकेसम्म रातभरि राख्दा राम्रो हुन्छ। रातभर सम्भव नभए तीनचार घन्टा राख्नुपर्छ। दस मिनेटजति तोरीको तेलले हात भिजाई वाटर नाइफले मेहन्दी निकाल्ने। आठदसवटा ल्वाङ पिँधेर धुलो बनाई एउटा खाली कराईमा तताउने र कालो बनाउने। डढिसकेपछि त्यसबाट आएको धूवाँमा हात सेक्ने। त्यति गरिसकेपछि चारपाँच घन्टा पानी नछुने। यसो गर्दा मेहन्दी गाढा भई राम्रोसँग बस्छ। धेरै दिनसम्म हातबाट छुट्दैन।

No comments: