राष्ट्रपति डा रामवरण यादवले निर्धारित समयमै संविधान बनाउन अध्यक्षलाई आग्रह गर्न चाहन्छु
राष्ट्रपति डा रामवरण यादवले निर्धारित समयमै संविधान बनाउन संविधानसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई जिम्मेवारीपूर्वक लाग्न आग्रह गर्नुभएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहमा गायक मोहन राईद्वारा स्वरबद्ध गीति सङ्गह ‘कस्तो सपना’ को लोकापर्ण गर्दै उहाँले भन्नुभयो, “सबै पार्टीलाई मिलाएर समन्वय गरी समयभित्रै संविधान दिन संविधानसभाका अध्यक्षलाई आग्रह गर्न चाहन्छु ।”
संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलगायत प्रमुख राजनीतिक दलका नेता सहभागी हुनुभएको उक्त समारोहमा राष्ट्रपतिले त्यस्तो आग्रह गर्नुभएको हो । राष्ट्रपति डा यादवले मुलुकको कला र संस्कृतिको संरक्षणमा गीत सङ्गीतको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै मधुर स्वरका धनी युवा गायक राईको गीति सङ्ग्रहले मानवीय मूल्य, मान्यता र देशप्रेमको भावनालाई उजागर गरेको चर्चा गर्नु भयो ।
“संस्कृति मासिए हामी मासिन्छौँ र इतिहास विर्सिए हामी भासिन्छौं भन्ने कुरालाई हाम्रा गीत सङ्गीतले सम्बोधन गर्न सक्नुपर्दछ । गीतकार सङ्गीतकारले समाजमा रहेको सुख दुःख, पीडा, बेदना र मूल्यमान्यतालाई उजागर गरेको हुन्छ । ”–राष्ट्रपति डा यादवले भन्नुभयो ।
गीति सङ्ग्रहका रचनाकार पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालको राजनीतिकभन्दा पृथक कार्यको चर्चा गर्दै उहाँले यस कार्यले गीत सङ्गीतको क्षेत्रमा नयाँ आयाम थपिनेछ भन्नुभयो ।
अर्का रचनाकार ब्याकुल माइलाले अहिलेको अवस्थामा गीति सङ्ग्रहमा लगानी गर्नु बालुवामा पानी हाले सरह हुने बताउँदै प्रतिलिपि अधिकारको बर्खिलाप हुने गतिविधि अन्त्य गरी कलाकर्मी बाच्ने आधार बनाउन राज्यले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
गायक मोहन राईले गीति सङ्ग्रहले राष्ट्रिय गौरव, जातीय रुपान्तरण, प्रणय भाव र राष्ट्र प्रेमको भावलाई झल्काएको उल्लेख गर्नुभयो ।
नेपाल म्युजिक क्रिएसन प्रालिको प्रस्तुति रहेको सो गीति सङ्ग्रहमा राष्ट्रभाव, दूराचार र चिन्ता समेटिएका विभिन्न सात गीत रहेका छन् । जसमा वरिष्ठ नेता खनाल, माइला, प्रहरी नायब महानिरीक्षक (डिआईजी) नवराज सिलवाल (नव सिलवाल), भारतको सिक्किमका मुख्यमन्त्री डा पवन चाम्लिङको शब्द रहेको छ भने चर्चित सङ्गीतकार सुरेश अधिकारी, वसन्त सापकोटा, कृष्णभक्त राईलगायतले सङ्गीत दिनुभएको छ ।
उक्त सङ्ग्रहको एउटा राष्ट्रगानमा झलनाथ खनालले पनि अभिनय गर्नुभएको छ । गीति सङ्ग्रहबाट उठेको निश्चित रकम वैदेशिक रोजगारीमा जाँदा ज्यान गुमाएका कामदारका बालबच्चालाई पठनपाठनका लागि सहयोग गरिने म्युजिक कम्पनीले जनाएको छ ।
सो अवसरमा नेपाल म्युजिक क्रिएसनका तर्फबाट गीति सङ्गहका रचनाकार खनाललाई राजनीतिक जीवनभन्दा माथि उठेर गीत सङ्गीतको क्षेत्रमा योगदान पुर्याएबापत ‘नेपाल म्युजिक क्रिएसन राष्ट्रिय सङ्गीत सम्मान–२०७१’ द्वारा सम्मान गरिएको थियो ।
राष्ट्रपति डा यादवले रचनाकार खनाललाई दोसल्ला र प्रसंशापत्रद्वारा सम्मान गर्नुभयो ।
No comments:
Post a Comment