Thursday, August 28, 2014

आरक्षपीडित शिविरमा मलेरिया ज्वरोको सङ्क्रमण

कञ्चनपुर जिल्लाका आरक्षपीडितको शिविरमा यतिबेला मलेरियालगायत विभिन्न किसिमका रोग देखापरेका छन् । जिल्लाको दक्षिणी क्षेत्र देखतभूली–१ ढक्कामा बसोबास गर्दै आएका आरक्षपीडितको शिविरमा मलेरिया लगायतका गर्मी मौसममा लाग्ने रोगहरू देखापरेको हो ।
विस्थापित भएपछि गाँस बास र कपासको समस्याबाट ग्रसित भएका आरक्षपीडित बसोबासको सुविधा नभएका कारण लगातारको शीतलहरले बिरामी परेका हुन् । उचित बासस्थान नभएका कारण बिरामी भएको आरक्षपीडित शिविरका एक पीडित गणेश विकले बताए । “लामखुट्टेबाट बाँच्नका लागि झूल, लुगाकपडा छैन्”- उनले भने,“जसका कारण हाम्रा छोराछोरी बिरामी पर्न थालेका छन् ।”
उनका अनुसार गर्मीका कारण शिविरका बालबालिका र वृद्धवृद्धा प्रभावित भएका छन् । लगातारको शीतलहरका कारण शिविरमा दैनिक पाँचजना बिरामी भएको पीडित विकले बताए । बिरामी परेकाको उपचारका लागि नजिकैका प्राथमिक स्वास्थ्य केन्द्र र निजी मेडिकलमा लग्ने गरेको अर्का पीडित गोपाल धामीले जानकारी दिए । “गर्मीबाट बिरामी भएपछि स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र र मेडिकलमा लग्ने गरेका छौँ”- उनले भने,“हाम्रो आर्थिक अवस्था कमजोर छ ठूला अस्पतालमा जान सक्दैनौँ ।”
बिरामी बालबालिका तथा वृद्धवृद्धालाई बेलौरी र बेल्डाँडी प्राथमिक केन्द्र तथा मेडिकलमा लग्ने गरिएको छ । सरकारको बेवास्ताले आरक्षपीडित गर्मीका समयमा रोगबाट ग्रसित भएको आरक्षपीडित सङ्घर्ष समितिका अध्यक्ष हीरासिंह भण्डारीले बताउनुभयो । “सरकारको बेवास्ताले हाम्रा बालबालिका रोगका सिकार बनेका छन्”- उहाँले भन्नुभयो,“आर्थिक अवस्था कमजोर भएकाले उपचार सेवा नपाएर हाम्रा बालबालिका अकालमै मर्दछन् ।”
वर्षौंदेखि शिविरमा झुपडी बनाएर बस्दै आएका पीडित मौसमअनुसार बिरामी हुने गरेको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । विसं २०५८ मा आरक्ष विस्तारमा जिल्लाका विभिन्न गाविसबाट एक हजार २४४ परिवार विस्थापित गराएको थियो । जिल्लाका रौतेली विचुवा, बेल्डाँडी, रामपुरविलासपुर, लक्ष्मीपुर, पिपलाडी, झलारी, दैजी, सुडा, देखतभुली, कृष्णपुरलगायतका गाविसबाट विस्थापित भएको थियो । विस्थापित भएका पीडितहरूको अहिलेसम्म पुनः स्थापना हुन सकेका छैन ।

No comments: