आत्महत्या र दुर्घटनाबाट चारजनाको मृत्यु
28 August
कञ्चनपुरको बेलौरी नगरपालिका–१२ नयाँबस्ती (भतपुरी) का दुई जनाले आत्महत्या गरेका छन् । नयाँबस्तीका २१ वर्षीय राजकुमार राना र १८ वर्षीया सङ्गीता रानाले आत्महत्या गरेका हुन् ।
राजकुमारले विषादी सेवन गरेर र सङ्गीताले झुण्डिएर आत्महत्या गरेको अवस्थामा शव फेला परेको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक युवराज भण्डारीले बताउनुभयो ।
राजकुमारको हातमा सङ्गीताको नाम मेहन्दीले लेखिएको फेला परेकाले दुवै जनाले प्रेम सम्बन्धका कारण आत्महत्या गरेको हुनसक्ने बताइएको छ । दुवै जनाको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पताल लगिएको छ ।
उता रौतहटमा वाग्मती नदीमा नुहाउने क्रममा नदीले बगाउँदा बुधवार साँझ एक युवतीको मृत्यु भएको छ । सर्लाही कर्मैया–४ घर भएकी २० वर्षीया प्रमिला दाहालको नदीले बगाउँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जनाकारी दिनुभयो ।
त्यस्तै काभ्रेपलाञ्चोकमा चट्याङबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको महाभारत शृङ्खालापारीको गोकुले गाविस–३ मा गएराति चट्याङ पर्दा २६ वर्षीया मख्खी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जनक भट्टराईले जानकारी दिनुभयो ।
महाभारत शृङ्खलापारीका गाविस चट्याङका दृष्टिकोणले उच्च जोखिमको क्षेत्र मानिन्छ । यसअघि पनि गत जेठ अन्तिम साता सो क्षेत्रमा चट्याङ पर्दा एकैपटक चार जनाको मृत्यु भएको थियो ।
No comments:
Post a Comment