काठमाडौं : नेपाल प्रहरीका लागि दुई करोड ७४ लाख रुपैयाँमा इटालीबाट खरिद गरिएका हतियारलाई वास्तविक मूल्यभन्दा दोब्बर बढी रकम तिरेको प्रमाण फेला परेको छ। यो प्रकरणमा एक करोडभन्दा बढी रकम अनावश्यक भुक्तानी गरिएको छ।
अन्नपूर्णलाई प्राप्त हतियार खरिदसम्बन्धी कागजातअनुसार इटालीको बेर्रेटा कम्पनीमा बनेको १२ बोर सर्ट गनलाई प्रतिथान दुई हजार तीन सय ७० अमेरिकी डलर (२३ हजार सात सय रुपैयाँ) तिरिएको छ। जम्मा सय थान सर्ट गनका लागि सरकारले दुई लाख ३७ हजार अमेरिकी डलर (दुई करोड ३७ लाख रुपैयाँ) तिरेको छ।
ती हतियारको वास्तविक मूल्य प्रतिथान बढीमा एक हजार ३८ अमेरिकी डलर पर्छ। खरिद निर्णयका बेला एक अमेरिकी डलरको मूल्य सय रुपैयाँ थियो। सोही लटमा खरिद गरिएको ५० थान ९ एमएम पिस्तोलको मूल्य पनि अत्यधिक भुक्तानी गरिएको छ।
एउटा पेस्तोलको सात सय ५८ अमेरिकी डलर (७५ हजार आठ सय रुपैयाँ) का दरले ५० वटाको ३७ हजार नौ सय अमेरिकी डलर (३७ लाख नब्बे हजार रुपैयाँ) तिरिएको छ। यो हतियारको वास्तविक बजार मूल्य भने बढीमा प्रतिथान ६ सय अमेरिकी डलरमात्र पर्ने नेपाल प्रहरीको एक उच्च स्रोतले बतायो। प्रहरीका प्रवक्ता गणेश केसीले भने, 'यसबारे के भएको हो, आन्तरिक रूपमा बुझ्छौं।'
संविधानसभा चुनाव गराउन खिलराज रेग्मी नेतृत्वमा गठित अन्तरिम मन्त्रिपरिषद्ले नेपाल प्रहरीका लागि सर्ट गन र पेस्तोल खरिदको निर्णय गरी रकम निकासा गरिदिएको थियो। त्यसपछि ठेक्का प्रक्रियामा व्यापारी दीपक भट्टका फर्महरूलाई मात्र सूचीकृत गरी प्रतिस्पर्धाको बाटो बन्द गरेर खरिद प्रक्रिया सुरु गरिएको प्रहरी उच्च स्रोतले बतायो।
भट्ट तत्कालीन मन्त्रिपरिषद् अध्यक्ष रेग्मीका पारिवारिक नाताभित्रका व्यापारी हुन्। उनको वर्तमान सत्ता सञ्चालकसँग पनि गहिरो सम्बन्ध रहेकाले बढी मूल्य तिरेर ल्याइएका हतियारको चुपचाप आम्दानी बाँध्न बाध्य पारिएको छ।
मूल्य र खरिद प्रक्रियाका कागज मिलाउन नसक्दा यी हतियार २६ दिनसम्म भन्सारमै अलपत्र थिए। प्रहरी र ठेकेदार कम्पनीले भन्सार छुटको कागजात पेस नगरेकाले भन्सारबाट हतियार बाहिर निकाल्न सकेका थिएनन्।
गत साउन ८ मा सिंगापुरबाट नेपाल ल्याइएका ती हतियार गृह मन्त्रालयको पत्रपछि भदौ ४ मा भन्सारबाट छुटाइएका थिए। प्रहरी भण्डार शाखाका असई कृष्णप्रसाद चौलागाईंले भन्सारबाट हतियार बुझेका थिए।
कागजातअनुसार हङकङको निहाल ट्रेडिङले हतियार आपूर्ति गरेको हो। त्यस कम्पनीको स्थानीय एजेन्ट दीपक भट्टको गणपति ग्लोबल सिन्डिकेट, जोरपाटी हो।
डेढ सय हतियारका लागि एक हजार एक सय ६ युरो भाडा र चार हजार सात सय ४० अमेरिकी डलरको बिमाबापत छुट्टै खर्च गरिएको छ।
डेढ सय हतियारका लागि एक हजार एक सय ६ युरो भाडा र चार हजार सात सय ४० अमेरिकी डलरको बिमाबापत छुट्टै खर्च गरिएको छ।
प्रहरीका लागि हतियार आवश्यक छैन भन्दाभन्दै पनि व्यापारी र तत्कालीन सरकारको नेतृत्वको इच्छामा खरिद प्रक्रिया सुरु गरिएको थियो। खरिद प्रक्रियाको अन्तिम निर्णय अघिल्ला प्रहरी महानिरीक्षक कुवेरसिंह रानाको पालामा भएको थियो।
नेपाली सेनाले नेपालमा खरिद हुने हतियारको एकरूपता कायम गर्न एउटै ढोकाबाटमात्र खरिद गर्नुपर्ने प्रस्ताव केन्द्रीय सुरक्षा समिति बैठकमा राखेको र रक्षा मन्त्रालय हुँदै गृह मन्त्रालयमा लिखित पत्राचार त्यहीबेला गरेको भए पनि रेग्मी सरकारले प्रहरीकै च्यानलबाट खरिद गर्ने निर्णय गरेको थियो।
बेर्रेटा सर्ट गनको प्रयोग गरी नजिकबाट प्रहार गर्दा एकैपटक आठदेखि दसवटासम्म छर्रा प्रहार हुन सक्छ। साइकलको बेयरिङजस्तो सानो गोली लाग्ने र छरिएर प्रहार हुने भएकाले भीड नियन्त्रण र सानोतिनो अपरेसनमा यो हतियार प्रयोग गरिन्छ।
९ एमएम पेस्तोल पनि अपराध नियन्त्रणका लागि प्रयोग गरिने सानो साइज र कम क्षमताको हतियार हो।
No comments:
Post a Comment