Wednesday, September 17, 2014

जितियाको रन्कोमा घरघरमा झमटा

September 17
चितवनको बछौलीका थारु महिलाहरुले आज मंगलबार जितिया पर्व धुमधामका साथ मनाएका छन्। थारु महिलाहरुको महत्वपूर्ण चाड जितियामा उनीहरुले झमटा नाच प्रस्तुत गर्दै चाड मनाएका हुन्।
जितियाको आज दोस्रो दिन निराहार ब्रत बसेका महिलाहरुले परिवार र असल पतिको कामना गरेर पर्व मनाएका छन्। 
 
तीन दिन मनाईने जितिया पर्व हप्ता दिन देखिनै चितवनका गाउँटोलमा झमटा गीत गाएर मनाईएको थारु कल्याणकारीणी सभाका केन्द्रीय पार्सद वासुदेव चौधरीले बताए।
 
एकदशक अघि जितीया पर्वको रौनक नै हराईसकेका बेला आफ्नो दशकको प्रयासमा युवा पुस्तामा संस्कृति हस्तान्तरण गर्न पाएको भन्दै उहाँले खुसी व्यक्त गरे।
 
हिन्दु नारीहरुले मनाउने हरितालिक तीजसँग मिल्दो जुल्दो चाड जितिया पर्वको आज मुख्य दिन हो।  चितवन लगायत तराईमा थारुहरुले यो पर्व बनाउने चलन छ।
 
बछौलीकी एकजना अगुवा थारु महिला लीला चौधरीले  बिबाहिता महिलाले  आफ्ना सन्तान र परिवारको दीर्घायुका लागि अनि अबिबाहितले राम्रो श्रीमानको कामना गर्दै पर्व मनाईरहेको बताए।
 
भोलि बुधवार नदी या तलाउमा स्नान गरी रमाईलो र मिठो मसिनो खाएर यो पर्वको समापन हुन्छ। जीतवहानलाई पूजा गरेर जितिया मनाईने थारु अगुवा बासुदेव चौधरीले बताए।
 
दुई दिनअघि थारु कल्याणकारीणी सभाले चितवनको खैरहनीमा पनि कर्याक्रम गरेको थियो। चितवनका थारु बस्तीहरु भएको क्षेत्र माडी,मेघौली,पुर्विचितवनको बछयौली,खैरहनी लगायतका क्षेत्रमा झाम्टा नाच जारी छ।  
 
जितिया पर्व असोजको कृष्णपक्ष सप्तमी तिथिबाट शुरु हुन्छ। सोही दिन राती डदटखट (दर) खाने चलन छ। दास्रो  दिन थारु महिलाहरु निराहार  ब्रत बस्छन्। 
 
तेस्रो दिन बुधबार जलाशयमा स्नान गरी खली र तेल चढाई भगवान सूर्यलाई अर्घ अर्पण गरी दिनभर रमाईलो गरेपछि यो पर्व समाप्त हुन्छ। व्रतबस्दा चाहेको जस्तो पति पाउने विश्वास युवतीहरुमा रहेको छ।

No comments: