डा. भोला रिजाल
डा. भोला रिजाल नेपालका वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ (गाइनेकोलोजिस्ट) हुन् । प्रसूति उपचार, नेपालमा टेस्टट्युब बेबीको अवधारणा एवम् गर्भपतन सेवाका सन्दर्भमा डा. रिजालको नाम सदैव अग्रपंक्तिमा आउँछ । गीत–संगीतको क्षेत्रमा पनि आफ्नो विशिष्ट पहिचान बनाएका रिजालले साढे चार दशक लामो डाक्टरी अनुभव सँगालेका छन् । यो एउटा जिज्ञासा हो । आफूलाई नेपालकै पहिलो पुरुष गाइनेकोलोजिस्ट भन्न रुचाउने डा. रिजालले चिकित्साको यही क्षेत्र रोज्नुका कारणदेखि स्त्री अंगहरूको उपचार गर्दा भएका अप्ठ्यारासम्मबारे हाम्रा जिज्ञासाको खुलेर जवाफ दिएका छन् ।
मैले १९८२ मा युनिभर्सिटी अफ ढाकाबाट गाइनेकोलोजिस्ट एन्ड अब्स्ट्रक्टिभ सकेर आउनुअघि नेपालमा २५ जना गाइनेकोलोजिस्ट थिए, तर ती सबै महिला थिए । त्यसपछि २६औँ नम्बरमा म आएको थिएँ । त्यसैले म नेपालकै पहिलो पुरुष गाइनेकोलोजिस्ट हुँ ।
अध्ययनको क्रमसमेतलाई जोड्ने हो भने स्त्रीरोगको उपचारमा खटिएकै साढे चार दशक नाघ्यो । यसबीचमा स्वदेश तथा विदेशमा गरी मैले लाखौँ महिलाहरूको उपचारमा सहभागी भएँ । हजारौँ–हजार महिलालाई सुत्केरी गराएँ । त्यस्तै हजारौँको गर्भपतन पनि गराएँ । गाउँदेखि सहर, विपन्नदेखि सम्पन्न सबैखालका महिलाको उपचार पनि गरेँ । अहिले पनि गरिरहेको छु । तर, तपाई्रंले संकेत गरेजस्तो कुनै अप्ठ्यारो भएन र हुँदैन पनि । उपचार गर्ने वेलामा पुरुष र महिलाको रूपमा नभई बिरामी र डाक्टरको सम्बन्ध र रोगको उपचारमा ध्यान जाने भएकाले गोप्य अंग होस् कि अन्य अंग, कुनै फरक पर्दैन । काम लिंगका आधारमा होइन, यो एक्सपर्टिजमा हुन्छ ।
०००
सन् १९७२ मा ढाका मेडिकल कलेजबाट एमबिबिएस पूरा गरेपछि म नेपाल फर्किएँ । नेपाल आई विभिन्न अस्पतालमा सेवा पुर्याएपछि म फेरि सात वर्षपछि पुन: बंगलादेश फर्केर गएँ विशेषज्ञता हासिल गर्न । त्यतिवेला उत्कृष्ट मानिने ‘मेडिसिन’मा पोस्टग्राजुएट्स गरोस् भन्ने घरपरिवार, आफन्त र युनिभर्सिटीका प्राध्यापकहरूको पनि चाहना थियो । तर, त्यसविपरीत मैले गाइनेकोलोजी विषय अध्ययन गरेँ । र, प्रसूति तथा स्त्रीरोग विशेषज्ञ बनेर स्वदेश फर्किएँ ।
त्यतिवेला युनिभर्सिटी अफ ढाकामा गई चर्चित प्रोफेसर डाक्टर नुरु इस्लामका साथमा रही मेडिसिन विषयमा विशेषज्ञता गर्ने अवसर पाउनु चानचुने कुरा थिएन । तर, मैले प्रा. डा. नुरुलाई मात्रै छाडिनँ, त्यतिवेला एकदमै राम्रो मानिने ‘मेडिसिन’ विषयसमेत त्यागेर ‘गाइनेकोलोजी एन्ड अब्स्टेट्रिक्स’ विषय रोजेको हुँ ।
परिवारको अपेक्षाविपरीत स्त्रीरोग विशेषज्ञ भई फर्कँदा सुरुमा परिवार तथा आफन्तहरूले नै अनौठो व्यवहार देखाए । झन्डै ३५ वर्षअघिको कुरा थियो त्यो । मेरो यो विशेषज्ञतालाई सुरुमा सम्मान गर्ने श्रीमतीबाहेक परिवारका अन्य सदस्य पनि थिएनन् जस्तो लाग्छ । के आफन्त, के अलि परका चिनेजानेका, सबैले नाक खुम्च्याउँथे । तर, अहिले त्यस्तो छैन । त्यतिखेर नाक खुम्च्याउनेहरू नै अहिले दंग परेका छन् । कहिलेकाहीँ मैले विगतका कुरा कोट्याइहालेँ भने पनि ‘छाडिदिऊँ उहिलेका कुरा बितिसक्यो’ भनेर तर्किन्छन् । मलाई सबैभन्दा अप्ठ्यारो त त्यतिवेलाका महिला गाइनेहरूले पार्न खोजेको थिए । उहाँहरूको एकाधिकारमा अर्को सदस्यको प्रवेश भयो भनेर होला सायद त्यतिवेलाका महिला सिनियरहरूले मलाई निकै होच्याउन खोज्ने, उडाउन खोज्ने र असफल पार्न खोज्ने गर्नुहुन्थ्यो ।
०००
वास्तवमा मेडिसिन छाडी गाइनेमा लाग्नुमा मेरी श्रीमतीको पनि कारण रहेको छ । विसं २०३४ को कुरा हो । त्यतिवेला मेरो पोस्टिङ सप्तरीको सदरमुकाम राजविराजमा भएको थियो । श्रीमती पनि सँगै थिइन् । त्यसवेला हाम्रो पहिलो सन्तान जन्मनेवाला थियो । तर के भयो, के भयो, उनलाई व्यथा लागेको दुई दिनसम्म पनि बच्चा जन्मेन । केस सिरियस हुँदै गयो । म आफैँ डाक्टर थिएँ, तर मलाई आफ्नो पहिलो सन्तानको मुख हेर्न पाइने हो कि होइन भन्ने त्रास हुन थाल्यो । सन्तान मात्रै होइन, जीवनसंगिनीकै ज्यान पनि खतरामा परिसकेको थियो ।
मैले जिल्लामा रहेका प्रसूतिका चिकित्सकहरूलाई मेरी श्रीमतीको अवस्थाका बारेमा जानकारी गराएँ । उनीहरूले यो केस ‘अब्स्ट्रक्टिभ लेवर’ हो, यस्तो केसमा त अप्रेसन नगरी हुँदैन भने । तर, श्रीमतीलाई ‘सर्भाइभल डिस्ट्रोसिया’ भइसक्यो भन्दा पनि कसैले मलाई सहयोग गरेनन् । केही नलागेपछि त्यतिवेलाका अञ्चलाधीश महेशकुमार उपाध्यायसँग गाडी मागेर मध्यरात १२ बजे विराटनगर लैजानुपर्यो । त्यसवेला श्रीमतीलाई १०६ डिग्री ज्वरो आइरहेको थियो । तर, मैले कुनै चिजको मुखै नहेरी अप्रेसन गर्नुहोस् भनेँ ।
बच्चा पाइसकेपछि पनि दुवैजना बाँच्ने निश्चित थिएन । तर, भाग्यवश दुवैजना बाँच्न सफल भए । त्यसपछि मात्रै मैले यदि मेरो पेसालाई मर्यादित बनाउने हो भने यसलाई गाइनोकोलोजीमा ढाल्नुपर्छ भन्ने महसुस गरेको हुँ । आमा र बच्चाले अनाहकमा ज्यान जाने अवस्था आउन दिनुहुन्न भन्ने मेरो मान्यता रहेको थियो । त्यसबाहेक ढाकामा पढ्दा पनि प्रसूति र स्त्रीरोगमा काम गरेको, कपिलवस्तुमा रहँदा पनि बढीजसो प्रसूति सेवा गराइरहेकाले पनि आफूलाई सो विषयले बढी आकर्षित गरेको हुनुपर्छ ।
यो स्थानमा आउन बंगलादेशका गुरुद्वय प्रोफेसर डा. नुरु इस्लाम र प्रोफेसर डा. टिए चौधरीको ठूलो योगदान छ । उहाँहरूकै प्रेरणाले मैले २०३९ सालदेखि आजसम्म कतै पनि नगईकन स्वदेशमै बसी सेवा गरिहेको हुँ । यसमा सदैव गर्व पनि लाग्छ ।
बंगलादेशमा एमडी गरेर फर्किपछि म स्त्रीरोग विशेषज्ञका रूपमा त्रिवि शिक्षण अस्पतालमा काम गर्न थालेँ एसोसिएट प्रोफेसरका रूपमा । तर, केही वर्षपछि त्यहाँ समस्या निस्कियो । जब त्यहाँ प्राक्टिसिङ र नन प्राक्टिसिङको विवाद चर्कियो, त्यसपछि २०४६ सालमा डा. धु्रम मुडभरी, डा. गोविन्द शर्मा, डा. मधु घिमिरेहरूको साथ लिई मैले ओम अस्पतालको स्थापना गरेँ । त्यतिवेला कमलपोखरीमा आठवटा बेडबाट ओम अस्पताल सुरु गरिएको थियो । अहिले यो अस्पताल दुई सय ५० बेडसहित चाबहिलमा आफ्नै अत्याधुनिक भवनसहित विस्तारित भएको छ ।
०००
गाइनेमा जाने प्रसंगमा अर्को एउटा रोचक घटना पनि छ । मलाई बंगलादेशमा एमडी गर्न बोलाउने प्रोफेसर डा. नुरु इस्लाम मेडिसिनको प्रोफेसर हुनुहुन्थ्यो । एकदिन उहाँ एक्लै भएको मौकामा मैले उहाँलाई भनेँ, ‘मलाई गाइने–अब्समा पठाइदिनु’ । उहाँ चकित हुनुभयो । आँसु नै झार्नुभयो । भन्नुभयो, ‘मान्छेहरू मेडिसिन पाउन कति हत्ते गर्छन् । तिमी भने पाएको अवसर गुमाउँदै गाइनेतिर जान्छु भन्छौ ।’ उहाँले मलाई दोहोर्याई–तेहर्याई सोध्नुभयो, ‘साँच्चिकै जाने हो ?’ मैले हो भनेँ । त्यसपछि तत्काल गाइनेको प्रोफेसर डा. टिएन चौधरीलाई बोलाएर भन्नुभयो, ‘यो मेरो सबैभन्दा प्यारो विद्यार्थी हो । तिमी लिएर जाऊ ।’ त्यस दिनदेखि मैले प्रा. चौधरीको मातहत रहेर अध्ययन गर्न थालेँ । उहाँले पनि मलाई अत्यन्त नजिकबाट, निकै स्नेहले सिकाउनुभयो ।
देशमा आएपछि चिकित्सा क्षेत्र, खासगरी प्रसूतिको क्षेत्रमा केही नयाँ कामको थालनी गर्ने अग्रसरता पनि लिएको छु । नेपालमा एबोर्सन लिगल हुनुपर्छ भन्दै आवाज उठाउने पहिलो चिकित्सक मै हुँ । पहिलो टेस्टट्युब बेबी जन्माउने पनि मै हुँ । पहिलो ट्युबो सर्जरी, ट्युबोप्लास्टी गरेर बच्चा जन्माउने पनि मै हुँ । अहिले पनि कसैलाई केही अप्ठ्यारो परेमा यहीँ रेफर भएर आउँछन् । शिक्षण अस्पताल छोडेपछि पनि अप्ठ्यारो परेका वेला गएर महिलाहरूको अप्रेसन गरिदिएको छु ।
यो क्षेत्रमा लागेका कारण र स्वदेशमा थोरै सुविधाका बीच काम गर्दा पनि मलाई कति पनि ग्लानि छैन । मैले गरेको सेवाले नै मेरो अहिलेको नाम बनेको हो जस्तो लाग्छ । सहरका घरानियादेखि दुर्गम बस्तीका गरिब बिरामीहरू मैले हेर्ने गरेको छु । उपचार खोज्ने कुनै पनि महिलाले म पुरुष भएकै कारण अप्ठ्यारो मानेको थाहा छैन । यदि त्यस्तो थियो भने यतिका महिला गाइनेहरू भएको सहरमा मबाटै चेक गर्न तीन–तीन महिना अघिदेखि किन पालो पर्खन्थे होलान् र ? आम मानिसको त्यो विश्वास मेरो पुँजी हो ।
०००
एमबिबिएस अध्ययन गर्दैगर्दा म त्यहाँको रेडियो पाकिस्तानमा समेत जागिरे थिएँ । प्रोजेक्टमा काम गर्थेँ । न्युज भन्थेँ । कार्यक्रम चलाउँथें । त्यतिवेला मेरो तलब नै नेपाली २० हजारजति थियो । तर, त्यो छाडेर नेपालमा आई मासिक चार सय ५० रुपैयाँमा काम गर्न थालेँ । म नेपाली हुँ र मैले नेपालीकै सेवा गर्नुपर्छ भनेर म देश फर्केको हुँ । म यता आउने वेलामा उताका प्रोफेसरहरूले थप प्रोजेक्ट दिन्छौँ, यतै बस पनि भनेका थिए । तर होइन, म नेपाल जान्छु र नेपालीको सेवा गर्छु भनेर यता आएको हुँ । मेरो त्यो निर्णयबाट म सदैव सन्तुष्ट छु ।
No comments:
Post a Comment