September 9
स्टारडम त्यसै बन्दैन, बनाउन सक्नुपर्छ । तर, स्टारडम बनाउँन चाहने कलाकारलाई दर्शक र विभिन्न कार्यक्रममा बोलाउने आयोजकले पनि ईज्जत दिन जान्नुपर्छ । नेपाली सिनेमाका कलाकार सस्तो बनेको चर्चा त कुनै नौलो होइन ।तर, कलाकारलाई सस्तो बनाउने काम हामीले पनि गरेका छौ कि, ध्यान दिन जरुरी छ । कलाकारलाई जुनसुकै कार्यक्रममा, जस्तो पायो त्यस्तो स्थानमा बोलाउँदा आयोजकले पनि ध्यान दिन जरुरी छ । सोमबार आयोजना भएको उपन्यास ‘साया’को कार्यक्रममा पनि यस्तै देखियो ।
कार्यक्रममा पुस्तक बिमोचनका लागि पुगेका नायिकाद्धय गरिमा पन्त र केकी अधिकारी प्रज्ञा प्रतिष्ठानको बाहिरी चौरमा यसै हल्लिए । उनीहरुलाई बोलाउने आयोजकले पनि उचित स्थानमा लगेर राख्नुपर्छ भन्ने हेक्का पाउन सकेन । जसका कारण पनि कलाकारहरु सामान्य दर्शक जस्तै चौरमा रन्थनिएको देखियो । नायिका गरिमा पन्तले आफूलाई ४ बज्न १० मिनेट अगाडि बोलाइएको बताइन् ।
गरिमा आएको केही समयपछि केकी पनि आइपुगिन् । तर, दुबै कलाकारलाई चौरमा भौतारिरहँदा आयोजक लिन आएन । गरिमाले आधा घन्टा चौरमै भौतारिदा पनि आयोजकले कुनै वास्ता नगरेपछि र्फकन कुरा गर्दै थिइन् । उनले कुनै पनि कार्यक्रममा सही समयमा आउनु बेकार छ भन्दै थिइन् ।
तर, केही संचारकर्मीले आयोजकलाई कलाकारका लागि केही व्यबस्था गरिदिन आग्रह गरेपछि मात्र दुई नायिका नजिकै रहेको क्यान्टिनसम्म पुगे ।करिब आधा घन्टाको समयमा उनीहरुलाई केही दर्शकले घेरे, कसैले अटोग्राफर लिए त कसैले फोन नम्बर माग्दै हैरान गरे ।
हजारौ दर्शक उपस्थित भएको प्रज्ञा प्रतिष्ठानको हलमा पुगेका दुई नायिकाको अनुहार त परिचित थियो तर उपस्थिती फितलो । यो कार्यक्रम त एक उदाहरण मात्र हो । हो, नेपाली कलाकाररु सामान्य भन्दा सामान्य स्थानमा पुगेर आफ्नो सेलिब्रेटीहुड जोगाउन सकिरहेका छैनन् ।
तर, कार्यक्रममा बोलाइसकेपछि उनीहरुलाई कहाँ र कस्तो स्थान दिने भन्ने कुरा आयोजकले पनि ध्यान दिनु जरुरी छ । एक नारीको प्रेममा आधारित रहेर तयार पारिएको पुस्तक बिमोचनमा दुई नायिकाको उपस्थिती निक्कै सुहाउँदो हो ।
तर, उपस्थित भैसकेका कलाकार आधा घन्टा भन्दा बढि चौरमा सामान्य दर्शक जसरी हराउँनु आयोजकको कमजोरी हो । कलाकारले पनि कुनै कार्यक्रम आयोजना हुँदा त्यसको बारेमा सम्पूर्ण जानकारी लिन जरुरी छ । कार्यक्रम कहाँ हुँदैछ, कस्तो स्थान छ, उपस्थित को-को हुन्, आदि इत्यादी कुरामा कलाकार सजग हुनु जरुरी छ ।
कलाकार आफै सस्तो हुने र कलाकारलाई सस्तो बनाउँने काम नगर्दा नेपालमा पनि सेलिब्रेटी क्रेज बढ्ने थियो कि ?


No comments:
Post a Comment