Saturday, September 13, 2014

धर्ना बसेको १९ महिना वित्दा पनि माग पुरा भएन, धर्ना बसेकै ८ जनाको मृत्यु

September 13
काठमाडौ । विभिन्न माग राखेर करिब १९ महिनादेखि धर्ना बस्दै आएका ज्येष्ठ नागरिकमध्ये आठजनाको मृत्यु भइसक्दासमेत उनीहरुको मागको सुनुवाई भएको छैन । २०६९ फागुन २४ गतेदेखि मीनभवनस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात ब्यवस्था विभागको कार्यालय ढोका अगाडि दैनिक रुपमा धर्ना बस्दै आएका ज्येेष्ठ नागरिकमध्ये आठ जनाको मृत्यु भइसकेको गोरखापत्रमा खबर छ ।

गएको १९ महिनाको अवधिमा रामु पोखरेल (काठमाडौ, ८० वर्ष), नरबहादुर खाँड (चितवन, ७२), लालबहादुर खत्री (भक्तपुर, ८०), वासु लम्साल (काठमाडौ, ६५), सीमा पराजुली (भक्तपुर, ६१), प्रेमहरी अमात्य (काठमाडौ, ६५), तेजकुमार दाहाल (भक्तपुर, ६१)को मृत्यु भएको हो ।

मृत्यु हुने काभ्रे जिल्ला बनेपाका एकजना बरिष्ठ नागरिकको नाम खुल्न सकेको छैन । ज्येष्ठ नागरिक संयुक्त संघर्ष समितिका अध्यक्ष महाप्रसाद पराजुलीले १९ महिनाको अवधिमा वर्तमान उपप्रधानमन्त्री, मन्त्री, विभिन्न राजनीतिक दलका अध्यक्ष, तथा नेता, पूर्वप्रधानमन्त्रीहरु तथा पूर्वमन्त्रीहरु धर्नास्थलमा आएर माग पुरा गरिदिने आश्वासन दिए पनि अहिले सम्म एउटा माग पनि पुरा नभएको बताए ।

 ज्येष्ठ नागरिकले ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ को दफा ९ (२)ले सार्वजनिक सवारी साधनमा ज्येष्ठ नागरिकलाई कम्तीमा ५० प्रतिशत छुट दिन गरेको ब्यवस्था तुरुन्त लागू गर्नुपर्ने, सर्वोच्च अदालतले २०६७ चैत्र २४ गते सरकारको नाममा जारी गरेको परमादेशको आदेश तुरुन्त लागू गर्नुपर्ने लगायतको आठसूत्रीय माग राखेर धर्ना बस्दै आएका छन् । धर्नामा ६० देखि ९८ वर्षसम्म्का करिब तीन सय वृद्धवृद्धाको सहभागिता छ ।

No comments: