Saturday, September 13, 2014

मायाका भोका डाँडामाथिका घाम

September 14
पशुपति वृद्धाश्रमस्थित पञ्चदेवल मन्दिरको पूर्वतर्फ बसेर ६४ वर्षीया भगवती ढकाल कपासको बाती कात्दै छिन्। कमजोर हातले कात्दै गरेका कपासका धागो छिनछिनमा चुँडिन्छन्, खरानी हातमा लिएर उनी टुटेको धागोलाई जोड्छिन्। पुनः कात्न सुरु गर्छिन्। कपासजस्तै उनको जिन्दगीको धागो पनि पटक–पटक टुटेको रहेछ।
भगवती २००७ सालमा जन्मिइन्। जन्मिएको महिना दिन नपुग्दै आमाको देहान्त भयो। 'त्यसपछि मेरा बाले भैंसी पालेर मलाई हुर्काउनुभयो। सात वर्षको उमेरमै मेरो बिहे भयो,' उनी सुनाउँछिन्। ३० वर्षका पुरुषसँग गरेको बिहे तीन वर्ष नबित्दै टुटेछ। जति बेला उनी १० वर्षकी पुगिन्, श्रीमान्ले सौता हाले। 'श्रीमानसँगको सम्बन्ध पनि टुट्यो, म फेरि बाबाकै घर फर्किएँ,' आफ्नो कहालीलाग्दो विगतमा फर्किन्छिन्, उनी।
उनको घर भने पनि माइती भने पनि त्यही थियो। बाबा बाहिरको काम गथर्ेे उनी घर सम्हाल्थिन्। जिन्दगीप्रति उनलाई खासै गुनासो पनि थिएन। 'तीन वर्षअघि तिनै बाबा पनि बित्नुभयो,' कपास कात्दै गरेकी उनी एक छिन् अडिएर विलौना गर्छिन्, 'अहिले एकदमै एक्लो बनेको छु, आँसु पुछिदिने पनि कोही छैनन्।'
तीन वर्षदेखि आश्रममा बस्दै आएकी उनले यहाँको खानाले पेट भरिए पनि मन भने सधैं खाली रहने सुनाउँछिन्। 'खानलाई त खासै समस्या छैन,' उनले भनिन्, 'तर माया गरेर खुवाइदिनेको कमी छ।' बुढेसकालमा मनका कुरा सुनिदिने र केही बेर बोलिदिने भइदिए निकै खुसी मिल्ने उनी बताउँछिन्। 'कहिलेकाहीँ बाहिरबाट भेट्न आउनेले हामीलाई खुसी दिएर जान्छन्। त्यसपछि फेरि हाम्रो उदासी सुरु भइहाल्छ,' उनी भन्छिन्।
उनीजस्तै वृद्धाश्रममा बस्दै आएकी ८४ वर्षीया रमा केसी भने पञ्चदेवलको मन्दिरको फेदमा टोलाउँदै थिइन्। आफ्नो अवस्थालाई कर्मको खेला बताउने उनी भन्छिन्, 'बारी रुखो भए मलजल गर्न सकिन्थ्यो। कर्मै रुखो भएपछि कसको के लाग्छ!'
उनीकहाँ उनका आफन्तहरू आउदैनन्। तर पनि कहिलेकाहीँ आफ्नो ठानेर आउनेहरूले थोरै खुसी छोडेर जाने उनी सुनाउँछिन्। 'यही आशामा हामी बाँचिरहेका छौं। यहाँको पट्यारलाग्दो समयमा आइपुग्ने आगन्तुकसँग कुरा गर्न पाउँदा मन हलुका बन्छ,' उनी भन्छिन्।
वरिपरि कोही भए पनि वृद्धाश्रमको जिन्दगी निरस र एक्लो हुन्छ। चाउरिएका अनुहारले जति नै हाँस्ने कोसिस गरे पनि कतै न कतै दुःखका बांगाटिंगा रेखा उनीहरूका अनुहारमा झल्किहाल्छ। तर पनि केही दिनअघि तीजमा सहयोगीले दर खुवाएर आफ्नो पट्यारिलो दैनिकीलाई खुसी दिएको सुनाउँछिन्, ७० वर्षीया सन्तकुमारी उप्रेती। 'हामीले उनीहरूसँग नाचगान पनि गर्यौन,' उनी खुसी हुँदै भन्छिन्, 'सानो खुसीले पनि धेरै दिनसम्म रमाइलो गराउँदो रहेछ।'
ठूला चाडबाड भित्रिरहेका छन्, तर आश्रमका वृद्धवृद्धामा कुनै रौनकको संकेत छैन; बरु आफ्नाहरूको सम्झनाले मन अमिलो बनाएर बसिरहेका छन्। 'चाडपर्व नजिकिँदा न्यास्रो झनै बढ्दो रहेछ,' उप्रती टोलाउँदै भन्छिन्, 'कोही आएर एक छिन बसिदिए मात्रै पनि कति रमाइलो लाग्छ।'

खुवाउने हातको अभाव
वृद्धाश्रममा आश्रय लिइरहेका वृद्धवृद्धालाई आफ्ना छोराछोरी वा नातेदार कहाँ छन्, पत्तो छैन। न त उनीहरू भेट्न नै आउँछन्। तर कहिलेकाहीँ आउने सहयोगीहरूसँग दुःखका कहानी बाँड्न पाउँदा खुसी लाग्ने उनीहरू बताउँछन्।
यहाँका वृद्धवृद्धामा खान–लाउनभन्दा मायाको कमी भएको कतिपय सहयोगीको अनुभव छ। 'उनीहरूलाई जसोतसो खान र लाउन हर्जा छैन तर बुढेसकालमा पाउने माया र सद्‍भावको कमी देख्यौं,' सहयोगी मन्दिरा बरालले भनिन्, 'त्यही भएर बिदाको समयमा उनीहरूलाई साथ दिन आइरहन्छौं।'
विभिन्न ठाउँबाट आएका सहयोगीले ल्याउने खानेकुरा भए पनि तिनलाई खुवाउने हातको अभाव भएको बराल बताउँछिन्।
भेनस इन्टरनेसनल अस्पतालकी स्टाफ नर्ससमेत रहेकी उनी स्वास्थसम्बन्धी सल्लाह दिने गर्छिन्। 'ध्यान दिएर उनीहरूका कुरा सुन्दा खुसी महसुस गर्दा रहेछन्,' उनी भन्छिन्, 'अहिले त हामी उनीहरूको साथीजस्तै भएका छौं।'

सहज छैन बसाइ
पशुपति वृद्धाश्रमको दक्षिणतिरको टहरामा अशक्त अवस्थाका करिब ५० वृद्धवृद्धा बस्छन्। उनीहरू बस्ने कोठामा छिर्नेबित्तिकै ह्वास्स दुर्गन्ध आउँछ। जस्ताका छानाका कारण पानी पर्दा आउने आवाजले निद्रा बिथोलिने उनीहरू गुनासो गर्छन्।
१९३८ सालमा बनेको पुरानो भवनका अधिकांश कोठा बस्न उपयुक्त छैनन्। अशक्त ५० सहित यहाँ दुई सय ३० वृद्धवृद्धाले असजिलो जिन्दगी गुजार्दै छन्।
आश्रम प्रमुख मनोजकुमार बस्नेत कर्मचारी र सुसारेको अभावमा केही समस्या देखिएको स्विकार्छन्। कार्यलयमा २१ कर्मचारीको दरबन्दी भए पनि हाल १४ जनामात्र कार्यरत रहेको उनले बताए।
वृद्धाश्रममा सरसफाई र हेरचाहका लागि चाहिने सुसारे पनि यहाँ छैनन्। '१०–१५ जनाको लागि कम्तीमा पनि एक जना सुसारे चाहिन्छ,' उनले भने, 'तर यहाँ सुसोरे नै छैनन्।' भान्से, स्वीपर र स्वयंसेवकले सुसारेको काम गर्नुपर्ने बाध्यता रहेको उनले बताए।
श्ाौचालयसमेत पायक पर्ने ठाउँमा नभएपछि वृद्धवृद्धालाई थप समस्या छ। कतिपयलाई आफू बसेको कोठाबाट शौचालय पुग्न दुई सय मिटरसम्म हिँडनुपर्ने बाध्यता छ। सक्नेहरू बिस्तारै शौचालयसम्म पुग्छन् तर अशक्तहरू अप्ठ्यारोमा पर्ने गरेका छन्।
यही समस्याबारे जिज्ञासा राख्दा आश्रम प्रमुख बस्नेतले भने, 'सरसफाईमा ध्यान दिनेछौं र शौचालयको विकल्प खोजिँदै छ। सम्भवतः त्यसपछि राम्रो होला।'

No comments: