Saturday, September 13, 2014

खाद्यान्न मूल्य भारतीय बजारमा निर्भर

September 13
काठमाडौं– विराटनगरमा केही सातायता गहुँ र मकैको मूल्य लगातार ओरालो झरिरहेको छ। भारतबाट यी दुई खाद्यान्नको आपूर्ति पर्याप्त मात्रामा भइरहेकाले मूल्य घटेको हो। खाद्यान्न कारोबारीका अनुसार विराटनगरको खाद्यान्न मूल्य भारतीय बजारमा निर्भर छ। त्यहाँ मूल्य तल–माथि हुनासाथ विराटनगरमा असर परिहाल्छ।
गहुँको मूल्य क्विन्टलमा तीनसय रुपैयाँ कम भयो, मकै बजारमा फालाफाल भएकाले हरेक साता क्विन्टलमा सय रुपैयाँ कममा किनबेच भइरहेको छ। बिहीबार विराटनगरमा गहुँको मूल्य एक क्विन्टलको २ हजार ६ सय रुपैयाँ कायम छ। मकै क्विन्टलको १ हजार ७ रुपैयाँमा बिक्री भइरहेको छ। गत साता गहुँको मूल्य क्विन्टलको २ हजार ९ सय थियो, मकैको १ हजार ८ सय। खाद्यान्नको कारोबार गरिरहेका विराटनगरका उद्योगपति अभिनाश बोहराका अनुसार उत्पादनको स्थिति, पुरानो स्टक, माग र आपूर्ति तथा मार्केटिङकै आधारमा खाद्यान्नको मूल्य तोकिन्छ। ‘उदाहरणका लागि यसपालि धानको उत्पादन राम्रो देखिएको छ, पुरानो स्टक पनि छ,’ बोहराले भने, ‘यो सिजनमा धानको मूल्य कम हुन्छ।’
विराटनगरमा खाद्यान्नको थोक मूल्य मोरङ व्यापार संघ र खुद्रा मूल्य विराट व्यापार संघले तोक्छ। मोरङ व्यापार संघका सदस्य श्रवण अग्रवालका अनुसार मूल्य तोक्दा क्विन्टलमा बढीमा ५० रुपैयाँसम्म मार्जिन राखिन्छ। ‘ब्रान्डेड समानमा भने मार्जिन अधिक हुन्छ,’ अग्रवालले भने, ‘भारतीय बजारमा खाद्यान्न मूल्य निर्भर रहेकाले रिस्क हाई हुन्छ।’
माग र आपूर्ति नै हो, मूल्य निर्धारणको प्रमुख आधार। बोहरा भन्छन्, ‘पहिला कम्युनिकेसनको समस्या हुँदा अनुमान गरेर मूल्य तोक्नुपर्थ्यो, अहिले एक क्लिकमा विश्वकै बजार अध्ययन गर्न सकिन्छ, त्यसैले मूल्य तोक्न त्यति गाह्रो पर्दैन।’
५–१० रुपैयाँ जोगाउन जोगबनी
प्रतिकिलो खाद्यान्न खरिदमा ५ देखि १० रुपैयाँ सस्तोको लोभमा पूर्वी नेपालका उपभोक्ता सीमावर्ती भारतीय बजारमा किनमेल गरिरहेका छन्। चाडपर्वको बेला मात्र होइन, हरेक दिन नेपालसँग जोडिएको सीमावर्ती बजारमा नेपाली ग्राहकको ताँती लाग्छ। विराटनगर र सीमावर्ती बजार जोगबनीको खाद्यान्न मूल्यमा ५ देखि १० रुपैयाँ मात्र फरक पर्छ।
विराटनगरको बजारमा ५८ देखि ६० रुपैयाँ प्रतिकिलो पाइने जिरामसिनो चामलको मूल्य जोगबनी बजारमा ५१ रुपैयाँ छ। सोनाचामल विराटनगरको बजारमा ४० देखि ४५ रुपैयाँ किलो पाइन्छ भने जोगबनीमा यसको मूल्य ३६ देखि ३८ रुपैयाँ कायम छ। विराटनगरका चामल व्यवसायी निर्मल बोथराका अनुसार चामलको मूल्य मिलैपिच्छे फरक–फरक छ। ‘खाद्यान्नमा भन्सार दस्तुर चर्को छ, त्यसैले उपभोक्ता भारतीय बजारमै किनमेल गर्न रुचाउँछन्,’ बोहराले भने, ‘तर सीमावर्ती बजारमा सस्तोको लोभमा तौलमा ठगिन्छन्।’
विराटनगरमा प्रतिकिलो १ सय २० देखि १ सय २५ रुपैयाँमा पाइने मुसुरो दालको मूल्य जोगबनीमा सयदेखि १ सय १० तोकिएको छ। रहरको दाल विराटनगरमा १ सय २५ रुपैयाँ किलो छ भने जोगबनीमा त्यसको मूल्य १ सय २५ रुपैयाँ पर्छ। तोरीको तेल विराटनगरमा एक लिटरको १ सय ६० रुपैयाँ छ भने जोगबनीमा ९ सय एमएलको तोरी तेलको मूल्य १ सय २५ छ। दलहन र तोरी भारतबाट लुकीचोरी नेपाल आउँछ। विराटनगरमा ब्रोइलर कुखुराको मूल्य २ सय ८० रुपैयाँ कायम गरिएको छ। जोगबनीमा २ सय ६० रुपैयाँमा पाइन्छ। कुखुरा व्यवसायी दीपक राईका अनुसार स्टक अधिक रहेकाले विराटनगरमा यसको मूल्य मनपर्दी छ। ‘कतै २ सय ५० मै पाइन्छ, कतै २ सय ८० सम्म लिन्छन्,’ राईले भने, ‘ठूला डिलरवालाले सीमावर्ती बजारबाट कुखुरा लुकीचोरी ल्याउँछन्, यहाँ सस्तोमा बेच्छन्।’
वीरगन्जमा पनि उस्तै
भारतीय बजार रक्सोलमा १ सय २८ रुपैयाँ (नेरु) प्रतिकिलो पाइने रहर दाल वीरगन्जमा १ सय ४५ रुपैयाँ प्रतिकिलोमा किनबेच हुन्छ। उता १ सय १० रुपैयाँ प्रतिकिलो पर्ने मसुरोको दाललाई यहाँ १ सय २५ रुपैयाँ प्रतिकिलो पर्छ।
रहर, मास र मुँग दाल आयातमा ८ प्रतिशत कृषि सुधार शुल्क र अन्य दालमा १० प्रतिशत भन्सार महसुल छ। मूल्यको अन्तर भने २० प्रतिशतसम्म छ। चामलको मूल्यमा पनि धेरै अन्तर पर्छ। सोना मन्सुली चामल रक्सोलमा ३८ रुपैयाँ छ भने वारि वीरगन्जमा ४४ रुपैयाँ प्रतिकिलो छ।
थोकमा कम्तीमा १० प्रतिशत घटी मूल्यमा किनेको सोना मन्सुली चामल व्यापारीले आयात गर्दा वीरगन्ज भन्सार कार्यालयमा प्रतिकिलो १ रुपैयाँ ५० पैसा कृषि सुधार शुल्क तिर्छन्।
जिरा बासमती चामलको भाउमा पनि त्यस्तै अन्तर छ। रक्सोलमा खुद्रा मूल्य ५६ रुपैयाँ पर्ने जिरा बासमतीलाई वीरगन्जमा ६८ रुपैयाँ प्रतिकिलो पर्छ। बास्नादार बासमती उता १ सयदेखि १ सय ३० सम्म पर्छ भने यहाँ १ सय ३० देखि मूल्य सुरु हुन्छ। तेस्रो मुलुकबाट आयात हुने गेडागुडीको भाउमा भने धेरै अन्तर पर्दैन।
आवश्यकताअनुसार खाद्यान्न आपूर्ति योजना सरकारसँग नभएको भन्दै, दाल–चामलको भाउमा अन्तर हुनुमा खाद्यान्न व्यापारी आ–आफ्नै अनुकूल तर्क गर्छन्। बजारको मागअनुसार आयात र वितरणमा मनोमानी भाउ कायम गर्नेमाथि नियन्त्रण हुन नसक्नुलाई उनीहरुले यसको कारण बताउँछन्। भारतबाट आयात गर्दा लाग्ने ढुवानी खर्च र बिनारसिद भारतीय भन्सार अधिकारीले लिने रकमले खाद्यान्नको भाउमा अन्तर बढाउने उनीहरु बताउँछन्।
'प्रति ट्रकमा उनीहरुले एजेन्टमार्फत ४० देखि ६० हजार रुपैयाँसम्म बिनारसिद लिने गरेका छन्,' एकजना आयातकर्ता व्यापारीले भने। खाद्यान्न आयात गर्ने ब्यपारी गणेश लाठका अनुसार ढुवानी खर्च पनि अत्याधिक बढेको छ। 'भारतको पन्जाब, हरियाण, पश्चिम बंगाल र दक्षिण भारतीय प्रान्तदेखि नेपालको खुद्रा बिक्रेतासम्म आइपुग्दा कारोबारीको तह जति बढ्दै जान्छ, मूल्य पनि बढ्छ,' लाठले भने, 'प्रत्येकले आफ्नो नाफा थप्छन्।'
भारतीय बजारमा व्यापारीको मनोमानी रोक्न 'फुड कर्पोरेसन अफ इन्डिया' ले भूमिका खेल्छ। नेपालमा त्यसरी सरकारी संस्था सक्रिय नभएर मूल्य नियन्त्रण हुन नसकेको वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्षसमेत रहेका लाठको बुझाइ छ। 'फुड कर्पोरेसन अफ इन्डिया' ले खाद्यान्न भण्डार गरेर राख्ने र नियन्त्रित मूल्यमा आवश्यक पर्दा बजारमा लैजाने गरेको छ। 'त्यसले गर्दा त्यहाँ व्यापारीले मनपरी गर्न पाउँदैनन्,' लाठले भने, 'हामीकहाँ खाद्य संस्थान, नेसनल ट्रेडिङ र साल्ट ट्रेडिङजस्ता संस्थाले त्यस्तो भूमिका खेल्न सक्नुपर्थ्यो।' भारतबाट आयातित मात्र होइन, नेपालमै उत्पादित चामल पनि यहाँ महँगो अर्थात उही भाउमा नै किनबेच हुन्छ।
भारतबाट चामल ल्याउँदा ढुवानी खर्च, भन्सार खर्चलगायत कुराले असर पार्छ भने नेपाली चामल उत्पादन लागत नै बढी पर्ने गरेको चामल उद्योगी सुबोध गुप्ता बताउँछन्। 'मलको भाउ, बीउको भाउ, सिँचाइ, जोताइ हरेक कुरामा बढी खर्च भएर खेतीको लागत भारतको तुलनामा हामीकहाँ १५ देखि २० प्रतिशत बढी छ,' संघका उपाध्यक्षसमेत रहेका गुप्ताले भने।
महँगो पोखरा
पछिल्लो समय पोखराले महँगीको सहरका रूपमा पहिचान बदल्न थालेको छ। अन्यत्रभन्दा पोखरामा सबै चिज महँगो हुने स्थानीय बताउँछन्। दैनिक उपभोग्यदेखि विलासिताका सामग्रीको मूल्य अन्य सहरभन्दा यहाँ महँगो छ।
बर्सेनि चार लाख हाराहारी विदेशी पर्यटक भित्रिने यहाँ विदेशीले भनेजति खर्च गर्न सक्छन् भन्ने मान्यता यहाँ छ। तिनै विदेशीको दाँजोमा स्वदेशीलाई हेर्ने गरिन्छ। धनी मान्छे बस्ने सहरको रूपमा पनि पोखरा परिचित छ। ब्रिटिस र भारतीय लाहुरेको बाक्लो बस्ती भएकाले उनीहरूले भनेजति खर्च गर्न सक्छन् भन्ने धेरैको धारणा छ।
व्यवसायीका अनुसार पोखराका बासिन्दा गुणस्तरीय सामान खोज्छन्, त्यसले पनि महँगीलाई थप बल पुर्यायएको छ। पोखरा भित्रिने तरकारी, फलफूलदेखि मासु अन्यत्रभन्दा महँगो हुन्छ। एउटै बारीको तरकारीको मूल्य काठमाडौं र पोखरामा फरक पर्छ। अधिकांश तरकारी धादिङबाट आउँछ। तर, काठमाडौंको तुलनामा पोखरामा सधैंजसो महँगो हुन्छ।
'काठमाडौंमा निकै सस्तिएको बेला पनि पोखरामा तरकारीको मूल्य बढी तिर्नुपर्छ,' पोखराका तरकारी व्यापारी रामकृष्ण दुवाडी भन्छन्, 'यहाँ भित्रिने तरकारी गुणस्तरीय हुन्छ। त्यही भएर केही महँगो परेको हो।' गुणस्तरीयता खोज्ने क्रममा बढी मूल्य पाउने भन्दै कृषकले पोखरालाई पहिलो प्राथमिकता दिएको उनी बताउँछन्।
मासु व्यवसायी समिति कास्कीका अध्यक्ष प्रेमप्रसाद पौडेलका अनुसार पोखराका उपभोक्ताले गुणस्तरीय मासु खोज्ने भएकाले मासु पनि महँगो पर्छ। 'राजधानीमा कुखुराको मासु यहाँको जस्तो गुणस्तरीय हुँदैन, पोखरामा सफा र गुणस्तरीय मासु पाइन्छ,' उनको दाबी छ।
पोखरा महँगो सहर बन्नुमा सबैका आ–आफ्ना तर्क भए पनि सिन्डिकेटले पोखरालाई महँगो बनाएको पर्यटन व्यवसायीको भनाइ छ। पश्चिमाञ्चल होटल संघका अध्यक्ष हरि शर्माका अनुसार यहाँका हरेक व्यवसायमा सिन्डिकेट छ। 'महँगी बढाउनुमा सिन्डिकेट कारक बनेको छ। किसानको बारीदेखि उपभोक्ताको भान्सासम्म पुग्दा सिन्डिकेटका धेरै चरण पार गर्र्नुपर्छ,' शर्मा भन्छन्, 'बजार भाउ व्यवस्थित गर्ने निहुँमा यहाँ एकाधिकार लादिन्छ।' सामानको मूल्य निर्धारणमा समेत बिचौलियाको हात हुने भएकाले पोखरेलीले महँगो मूल्य तिर्नुपरेको उनी बताउँछन्।
उपभोक्ता मञ्च कास्की अध्यक्ष कपिल कोइराला पोखरा महँगो हुनुमा विभिन्न कारण देख्छन्। उनका अनुसार यहाँ डलरमा कारोबार हुन्छ। विदेशी र स्वदेशीलाई एकै मूल्य राखिन्छ। 'काठमाडौंमा सस्तो खोज्दै बार्गेनिङ गर्छन्, यहाँ व्यवसायीले जति मूल्य भन्यो त्यति तिर्नुपर्छ,' उनले भने, 'त्यसैले महँगी बढेको हो।'
तीजदेखि तिहारसम्मै महँगी
चाडवाडका बेला हरेक वर्ष दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि हुँदै आएको छ। तीजसँगै सुरु हुने मूल्यवृद्धि तिहारसम्म कायम रहने व्यवसायीले बताएका छन्। थोक व्यवसायीले मालसामान स्टक राखेर अभाव सिर्जना गरी मूल्यवृद्धि गर्ने गरेको बुटवलका एक किराना व्यवसायीले बताए।
चाडबाडमा दैनिक उपभोग्य वस्तु, दालचामल, तेल र तरकारीको माग बढी हुन्छ। व्यवसायीले यही मौकामा मूल्य बढाइरहेका हुन्छन्। उपभोक्ता पनि चाडबाडको रन्कोमा लागेकाले अरु कुरालाई खासै ध्यान दिँदैनन्। बजार अनुगमन गर्ने सरकारी निकायले गर्ने बेवास्ताले मूल्यवृद्धि हुने गरेको किराना व्यवसायी विकास पौडेलले बताए।
बजार दर निर्धाण गर्ने काम कुनै निकायले गर्दैन। खुद्रा व्यवसायीले थोक खरिदको आधारमा ५ देखि १० प्रतिशतसम्म मुनाफा राखेर सामान बेच्ने गरेको खुद्रा किराना व्यवसायी संघका सल्लाहकार पौडेलले बताए।
चाडबाडका बेला स्थानीय बजारको भर नपरी सस्तो पाइने लोभले यस क्षेत्रका उपभोक्ता सीमावर्ती भारतीय बजार सुनौली जाने प्रचलन पनि बढ्दै गएको छ। रुपन्देहीको बुटवल र भैरहवा क्षेत्रका मात्र नभई ग्रामीण क्षेत्र र पाल्पासम्मका उपभोक्ता सुनौली बजारमा बिहान बजार नखुल्दै भेटिन्छन्। सामान्यतया बिहान आठ बजे खुल्ने सुनौली बजारका पसल खुल्दाखुल्दै नेपाली उपभोक्ताको भीड लाग्छ। सुनौलीमा नेपालमा भन्दा चिनी सस्तो पाइन्छ। चिनी लिन जाने उपभोक्ताले अरु सामान पनि किन्छन्। सुनौलीमा दैनिक ३ करोड रुपैयाँको कारोबार हुने सुनौली बजार व्यवसायी संघले जनाएको छ। सुनौलीमा चिनी ५५ रुपैयाँ प्रतिकेजी, मसुरो दाल १ सय ५, रहर १ सय २७, मैदा ३२, आटा ३५ चना ६८ रुपैयाँ प्रतिकेजी छ।

No comments: