September 8
एसबी थापा/राजनीतिक विश्लेषण
नागार्जुनमा ज्ञानेन्द्रद्वारा आयोजित लञ्चमा कीर्तिनीधि विष्ट स्वास्थ्यका कारण उपस्थित भएनन् । बोल्ने दुईजनामा तुलसी गिरी र सूर्यबहादुर थापा मात्र भए । लोकेन्द्रबहादुर चन्द बोलेनन् ।
राजा महेन्द्रको शासनकालमा महेन्द्रले पनि यसैगरी थापा र गिरीकै कुरा सुन्थे, विचार बुझ्थे र दुबैको कुरा सुनेर निर्णय लिन्थे ।पचास वर्षपछि पनि थापा र गिरीबीचको विचारधारात्मक द्वन्द्व कायमै छ । लोकेन्द्रबहादुर चन्दलाई कुनै वजन नभएको र राजनीतिक सोच समेत नभएको मान्छेको रुपमा लिन्छन् पूर्वपञ्चहरुले । चन्दलाई थापा र गिरी दुबैले राजनीतिक तथा बौद्धिक रुपमा निष्प्रभावी ठान्छन् । राजाले पनि लोकेन्द्रलाई केवल ‘पपेड’ मात्रै ठाने विगतमा ।
गिरी र थापाको बेग्लाबेग्लै स्कुल
पञ्चायतकालमा दुईवटा ‘स्कूल अफ थट’ थिए : गिरी र थापा । गिरीले राजतन्त्रमै सार्वभौमसत्ता नीहित हुन्छ र राजा एक्लै नै नेपाली जनताको विकासका लागि जिम्मेवार छन् भन्ने कुराको पैरवी गरे । राजा न त निरंकुश हुन्छन्, न त संवैधानिक, उनी त आफ्ना जनताप्रति जिम्मेवारी एउटा सामान्य राजा हुन्छन् भन्ने मान्यता गिरीको थियो ।
Gyanendra-tulsi-and-surya-bdr
गिरीले राजा र जनता मिले भने आर्थिक विकासका लागि कसरी राजनीतिक स्थायित्व कायम गराउन सक्छन् र प्रजातन्त्र क्रियाशील हुन्छ भन्ने कुरा देखाउनसमेत प्रयत्न गरे । अर्कोतर्फ थापा भने पञ्चायतको सुधारका लागि पैरवी गर्दा जेलसमेत गए । नेपाल राज्यको स्थायित्वको तत्व राजा भएको हुँदा प्रजातान्त्रिक सुधारलाई सीमान्तकृत गरियो भने त्यसले प्रजातन्त्र र राष्ट्रियता दुबैको अवमूल्यन हुने थापाको ठम्याइ थियो ।
महेन्द्रको अधुरो प्रयास
राजा महेन्द्रले आफ्नो निधन हुनुभन्दा अगाडि उनले यो कुराको महसुस गरेका थिए कि प्रजातान्त्रिक सुधारको विषयमा मौन बसिरहे पञ्चायत प्रणाली टिक्न सक्दैन । भारतीय प्रधानमन्त्री लालबहादुर शास्त्री गोप्य रुपमा काठमाण्डौ आएर सुधारको प्रक्रिया थाल्ने तथा वीपी कोइरालासँग सम्वादसमेत सुरु गर्ने आवश्यकताका विषयमा राजा महेन्द्रलाई प्रभावित पारेर गएका थिए ।
ज्ञानेन्द्रले अहिले आफुलाई पार्टीको धारभन्दा माथि राख्ने कोसिस गरिरहेका छन्, ता कि आफू पुनःस्थापित भएमा कमल थापामात्र नभएर सबै दलको समर्थन पाइयोस्
राजा महेन्द्रले आफु एक निरंकुश शासकका रुपमा इतिहासमा चिनिने डरका कारण पर्दा पछाडिबाट व्यवस्था सुधारको काम सुरु गरे । र, संविधानमा संसोधन गरी राजनीतिक दललाई आफ्ना क्रियाकलाप गर्न छुट दिइयो । यो एउटा सम्झौता थियो । तर, राजा महेन्द्रको मृत्यु भयो ।
‘हार्डलाइनर’ हाबी
महेन्द्रको मृत्युपछि हार्डलाइनरहरुले युवा राजा वीरेन्द्रलाई कब्जामा लिए । आफ्ना बुबाको निधनपछि संवेदनशील बनेका वीरेन्द्रले पञ्चायतलाई बचाउनका लागि थप महत्व थिए । वास्तवमा उनले नियतविना जे गरे, त्यसले पञ्चायतको सुधारका कार्यक्रमलाई निर्मूल पार्यो । पञ्चायतमा तुलसी गिरीले जीते र सूर्यबहादुर थापा किनारा लगाइए ।
जनमत संग्रह र सुधारिएको पञ्चायत
सन् १९७८ मा इन्दिरा गान्धीले लगाएको संकटकालपछि भारतमा व्यापक राजनीतिक अस्थिरता सिर्जना भयो ।
निर्वासनमा रहेका धेरै नेपाली राजनेताहरु जयप्रकाश नारायणलाई बल पुर्याउन इन्दिरा गान्धी विरोधी आन्दोलनमा सहभागी भए ।
सोही समयमा पाकिस्तानको सैनिक सरकारले भुट्टोलाई मृत्युदण्ड दियो । काठमाण्डौका सडकहरुमा राजनीतिक रंग पोखियो र प्रदर्शनकारीहरुले भुट्टो हत्याको विरोधमा पाकिस्तानी दूतावासमा समेत आक्रमण गर्न पुगे । सडकको आक्रोशलाई मध्यनजर गर्दै राजा वीरेन्द्रले जनमत संग्रहको घोषणा गरे ।
थापा प्रधानमन्त्री भए । तुलसी गिरी नेपाल छाडेर श्रीलंका गए । पञ्चायतलाई खुकुलो पार्ने राजाको निर्णयको विरोध स्वरुप गिरीले नेपाल छाडेका थिए । जनमत संग्रह घोषणा भएका बेला भारतमा इन्दिरा गान्धी सत्तामा पुनरागमन भएकी थिइन् । उनीविरुद्धको जनसंघको आन्दोलनमा नेपाली नेताहरुको सहभागिताबाट रिसाएकी गान्धीले निर्वासनमा रहेका नेपाली नेताहरुलाई नेपाल फर्केर जनमत संग्रहमा भाग लिन अनुरोध गरिन् ।
सूर्यबहादुर थापाको राजासँगको व्यक्तिगत ग्यारेन्टीमा बीपी कोइरालालाई नेपाल फर्कने अनुमति दिइएको थियोे । जनमत संग्रहको नतिजा आयो र सुधारिएको पञ्चायतले जीत हात पार्यो । नयाँ अध्याय सुरु भयो । बीपी र अन्तराष्ट्रिय समुदायले जनमत संग्रहको नतिजालाई तत्कालै स्वागत गरे ।
जनमत संग्रहपछि सुधारिएको पञ्चायतले राजनीतिक दलको ब्यानरविना चुनावमा सहभागी हुन पाइने र यसरी चुनिएको सभाले प्रधानमन्त्री चयन गर्ने नयाँ व्यवस्था गर्यो, जुन राजाले प्रत्यक्षरुपमा प्रधानमन्त्री चुन्ने व्यवस्थाको विपरीत थियो ।
पञ्चायत सभाद्वारा प्रधानमन्त्रीमा निर्वाचित भएको ३ वर्षपछि राजा वीरेन्द्रले प्रधानमन्त्री सूर्यबहादुर थापालाई राजीनामा दिन अह्राए । तर, प्रधानमन्त्री हाउसप्रति जवाफदेही हुने भन्दै थापाले राजाको आग्रह अस्वीकार गरी हाउसको सामना गर्ने घोषणा गरे । राष्ट्रिय पञ्चायतमा थापाले विश्वासको मत प्राप्त गर्न सकेनन् र हारे ।
यो सुधारिएको पञ्चायतको हार थियो । अन्तराष्ट्रिय समुदाय र विपक्षी दलहरुले पनि पञ्चायतमा लागु गरिएका सुधार देखावटी मात्र रहेको आशंका गर्न थाले । त्यसपछिका लगातार पाँच वर्षसम्म थापालाई दरबारले दुख दिइरह्यो । सूर्यबहादुरका थापाका भाइ हरेन्द्र थापालाई अन्नपूर्ण होटलमा बम पड्काएको आरोपमा जेल हालियो । पत्रकार पदम ठकुराठीलाई थापाको अन्तरवार्ता लिएकै कारण गोली हानियो ।
०४६ सालको जन आन्दोलन
पञ्चायत ढल्न सुरु भएको थियो । विपक्षी राजनीतिक दलहरुको पञ्चायतविरोधी प्रदर्शन चर्किँदै जाँदा ठूलो संख्याका उदार पञ्चहरुले विपक्षी दलहरुको सुधारको मागलाई समर्थन गरे । अन्ततः पञ्चायत ढल्यो र नेपालमा प्रजातन्त्र पुनस्र्थापित भयो ।
आफ्नो पुनः स्थापना लागि प्रयास सुरु गर्ने विषयमा गम्भीर भएमा ज्ञानेन्द्रले जनताको समर्थन प्राप्त गर्नुपर्ने गिरीको तर्क छ । तर, सूर्यबहादुर थापाको मत भने अलि फरक छ
पञ्चायत व्यवस्था ढल्नुको कारण राजा आफै हुन् । राजाले शक्ति र सुधार दुबै चाहे । सोही विरोधाभाषका कारण उनले पञ्चायतलाई मरणको अवस्थासम्म पुर्यााए ।
०३६ सालसम्म सूर्यबहादुर थापा सुधारिएको पञ्चायतको पक्षमा थिए । ०४६ पछि उनी बहुदलीय संवैधानिक राजतन्त्रको पक्षमा उभिए । ०६३ पछि गणतन्त्रको पक्षमा खुलेर उभिए ।
डा. गिरी यसकारण पार्टीमा लागेनन्
बहुदलीय व्यवस्थाको पुनस्थापनाले पूर्वपञ्चहरुलाई संगठित भई राजनीतिक दल स्थापना गर्न बाध्य बनायो ।
दरबारको पटक-पटकको प्रयासका बाबजुत तुलसी गिरीले देशको नयाँ राजनीतिक प्रणालीमा सहभागी हुन अनिच्छा प्रटक गरे । उनको अनिच्छा इमान्दार थियो, किनभने गिरी दलीय प्रणालीमा विश्वास गर्दैनन् । दलीय प्रणालीमा सहभागी हुनु गिरीको विचारमा पाखण्डीपना हुन्थ्यो । नेपाली कांग्रेस र एमालेको सीमित शासकीय अनुभवका कारण जनताले सन् १९९४ को चुनावमा विभाजित मत प्रकट गरे । जसबाट गठबन्धन राजनीतिको सुरुवात भयो ।
प्रजातन्त्र पुनःस्थापनाको ९ वर्षमा नेपालमा ९ वटा सरकार गठन भैसकेका थिए । त्यहीबेला दरबारिया तत्वका कारण राष्ट्रिय प्रजातन्त्र पार्टी विभाजित भयो । सूर्यबहादुर थापाले नेपाली कांग्रेससँगको गठबन्धनको वकालत गरे भने लोकेन्द्रबहादुर चन्दले एमालेसँग ।
‘कु’ पछि फेरि गिरी हावी
सन् २००५ मा राजाले राज्यसत्ता हातमा लिएपछि फेरि डा. तुलसी गिरीको लाइन हाबी भयो । राजा ज्ञानेन्द्रको शासनमा डा. गिरी उपाध्यक्ष बनाइए भने थापालाई घरमै नजरबन्दमा राखियो, अन्य विपक्षी दलका नेताहरुलाई जस्तै ।
राजाको शासनलाई समर्थन गर्नका लागि डा. गिरीले थापालाई मनाउने प्रयाससमेत गरे । तर, थापाले गिरीको प्रस्ताव अस्वीकार गरे । सत्ता हातमा लिएसँगै राजा ज्ञानेन्द्रले एकैपटक त्रिकोणात्मक युद्ध छेडेका थिए : प्रजातन्त्र, माओवादी र अन्तराष्ट्रिय समुदायविरुद्ध । तीनवटै पक्षको दबाव झेल्न नसक्दा ज्ञानेन्द्रले सत्ता त्यागे ।
आखिर ज्ञानेन्द्रले किन भेट गरे ?
पछिल्लो समयमा ज्ञानेन्द्रले आफूलाई कमल थापाबाट सकेसम्म टाढा राख्ने कोसिस गरेका छन् ।
हालै ज्ञानेन्द्रको चितवन भ्रमणका बेला एकजना भ्रमण आयोजकले कमल थापा राजतन्त्रविरोधी भएको भन्दै कडा आलोचना गरेका थिए । भारतमा एक अन्तरवार्ताका क्रममा ज्ञानेन्द्र आफैले पनि कमल थापालाई अवसरवादी भनेका थिए । तर, जब यसबारेमा कमल थापाले ज्ञानेन्द्रलाई सोधे, तब उनले आफुलाई यसबारे केही थाहा नभएको बताए ।
भारत भ्रमणका क्रममा ज्ञानेन्द्रले आफ्ना भारतीय मित्रहरुसँग कमल थापाले राजतन्त्रको संस्थाको प्रतिनिधित्व नगर्ने र कमल थापामा आत्मनियन्त्रण नभएको बताएका थिए । त्यसैले ज्ञानेन्द्रले अहिले आफुलाई पार्टीको धारभन्दा माथि राख्ने कोसिस गरिरहेका छन्, ता कि आफू पुनःस्थापित भएमा कमल थापामात्र नभएर सबै दलको समर्थन पाइयोस् । यही सन्देश दिन उनले कमल थापाबाहेक अरुसँग पनि भेटघाट गरेको हुन सक्छ ।
थापा र गिरीका बेग्लै सल्लाह
डा. गिरीको बुझाइअनुसार नेपालमा तीन वटा शक्तिकेन्द्र छन् : राजसंस्था, माओवादी र भारतीय पक्ष । वर्तमानमा राजसंस्था शक्ति त हो तर सुसुप्त अवस्थामा रहेको छ । नेपालमा अहिलेको अनिश्चितता माओवादी र भारतबीचको द्वन्दका कारण भएको हो ।
तुलसी गिरीको विचारमा कांग्रेस र एमाले सहायक शक्ति मात्रै हुन् । र, नेपालमा अहिले जे भइरहेको छ, त्यो माओवादी र भारतको बीचमै भैरहेको छ । जसरी माओवादीले नेपालमा आफुले एकतन्त्रीय शासन लागु गर्न चाहेको कुरा खुल्लारुपमा घोषणा गर्न सक्दैनन्, त्यसैगरी भारतले पनि नेपालको सन्दर्भमा आफ्नो पोजिसनका बारेमा बोल्दैन ।
थापाले राजालाई दिएको सन्देश व्यवहारिकताले लेस छ । जब कि गिरीको सन्देश यथार्थ राजनीति हो । ज्ञानेन्द्रले के गर्लान् ? अझै हेर्न बाँकी नै छ
यो बढ्दो अन्योलका कारण नेपालमा राजनीतिक अवस्था बिग्रँदै गएको छ ।
गिरीको विचारमा अन्तराष्ट्रिय शक्तिहरुको आशिर्वादका कारण आफु पुनस्र्थापित हुनेमा पूर्वराजा आशावादी छन् । तर, नेपाली जनताको समर्थनविना एक खुट्टाले उभिएका ज्ञानेन्द्र झनै जोखिममा हुनेछन् र जनताले यस्तो पुनःस्र्थापनाको विरुद्धमा विद्रोह गर्नेछन् । आफ्नो पुनःस्थापनाका लागि प्रयास सुरु गर्ने विषयमा गम्भीर भएमा ज्ञानेन्द्रले जनताको समर्थन प्राप्त गर्नुपर्ने गिरीको तर्क छ ।
यसका लागि राजनीतिक गतिविधि तिब्र पार्न र त्यसबाट हुने राजनीतिक परिणतिको सामना गर्न तयार रहन पनि डा. गिरीले ज्ञानेन्द्रलाई सुझाव दिएको बुझिन्छ । ज्ञानेन्द्रले अब जनतामा गएर अहिलेका राजनीतिका नायकहरु माओवादी, कांग्रेस र एमालेका विषयमा बोल्नुपर्छ भन्ने गिरीको मत रहेको बुझिन्छ । तर, सूर्यबहादुर थापाको मत भने अलि फरक छ ।
नेपाललाई गणतन्त्र घोषणा गर्ने पहिलो संविधानसभाको मतलाई स्वीकार गर्नुबाहेक राजासँग विकल्प नभएको थापाको ठम्याइ छ । जनआन्दोलनका कारण प्राप्त परिवर्तनको विरुद्धमा ज्ञानेन्द्रले चाल्ने कदमले उनी आफैलाई अप्ठेरोमा पार्ने र त्यो अप्ठेरोलाई उनले झेल्न नसक्ने थापाको मत छ ।
थापाका अनुसार ज्ञानेन्द्रका लागि एकमात्र ओखती भनेको हरेक प्रकारका राजनीतिबाट माथि रहनु र आफूलाई विवादबाट टाढा राख्नु नै हो । यो नै उनका लागि हितकारी हुनेछ । प्रजातन्त्रको अस्तित्व ज्ञानेन्द्रका लागि पनि महत्वपूर्ण रहेको र यसले नै उनको र उनका परिवारको सुरक्षित जीविका ग्यारेन्टी गर्ने छ ।
राजतन्त्रको पुनस्र्थापनाका लागि कि त राजाको पक्षमा जनआन्दोलन हुनुपर्ने वा अहिलेको राजनीतिक प्रणाली पूर्णरुपमा भताभुंग हुनुपर्ने हुन्छ । तर, यी दुबै घटना अहिले कठीन रहेको थापाको तर्क छ । त्यसैले ज्ञानेन्द्रसँग अहिले चुपचाप बस्नु र परिस्थितिको अवलोकन गर्नुको विकल्प छैन भन्ने थापाको सुझाव छ । उनका अनुसार ज्ञानेन्द्रले छालको विपरीत पौडिनु आत्मघाती हुन्छ ।
डा. गिरी र थापासँगको ज्ञानेन्द्रको भेट यो अर्थमा निकै महत्वपूर्ण छ कि यसले ज्ञानेन्द्रलाई परिस्थिति बुझ्ने मौका प्रदान गरेको छ । अब गिरी वा थापा को हाबी हुनेछन् ? त्यो त हेर्न बाँकी छ । थापाले राजालाई दिएको सन्देश व्यवहारिकताले लेस छ । जब कि गिरीको सन्देश यथार्थ राजनीति हो । ज्ञानेन्द्रले के गर्लान् ? अझै हेर्न बाँकी नै छ ।
No comments:
Post a Comment