Sunday, September 14, 2014

लोप हुँदै प्राचीन पाटीपौवा

September 14
 गाउँगाउँमा सडक यातायातको सुविधा पुगेपछि यहाँको कटुन्जेस्थित प्राचीन पाटीपौवा लोप हुन थालेका छन् । पैदल मार्गको बीचमा पर्ने पूर्वी पहाडकै चर्चित तीनवटा पौवाको अहिले अवशेष मात्र छ ।

कटुन्जे–६ स्थित घलेपाटी, ५ को ढोकेपाटी र ३ को चुचेपाटी लोप भएका हुन् । पूर्वको पाँचथर, भोजपुर, सङ्खुवासभा, खोटाङलगायतका जिल्लाबाट राजधानी आवतजावतका लागि तत्कालीन समयमा पैदल मार्ग प्रयोग गर्नुपर्ने हुँदा यी पाटीपौवामा बास बस्ने प्रचलन थियो ।

“मान्छेहरु महिनौँ लगाएर यही बाटो हिँड्थे”–स्थानीय नारायण प्रधानले भने - सर्वसाधारण मात्रै नभएर राजामहाराजा पनि यिनै पौवामा बसेको स्थानीयको भनाइ छ । २०१७ पछि बिपी कोइरालालाई पूर्वमा पक्राउ गरेर ल्याउँदा यहाँकै घलेपाटीमा बास राखिएको थियो । त्यतिबेला पाटी कुर्न र हेरचाहका लागि राखिएको एक मगर परिवार अझै पनि छ । बाबुबाजेकै पालादेखि पाटी कुर्न राखिएको सो परिवारमा अहिले ६६ वर्षीया हरिमाया मगर मात्रै छिन् ।

 कुरुवालाई त्यतिबेला पाटी कुरेबापत धान खेत दिइएको थियो । पाटीमा पानी दिने, लिपपोत गर्ने, सामानको हेरचाह गर्नेलगायतका जिम्मा कुरुवाको हुन्थ्यो । “अहिले पाटी पनि छैन । खाने खेत पनि सकियो”–हरिमायाले भनिन्–“हिजोआज नारी चलुन्जेल बनी गरेर बाँचिराछु ।”

पुराना हस्तकला प्रयोग गरी खोपिएको काठ स्थानीय भीमसेन प्राथमिक विद्यालयको भौतिक पूर्वाधारमा प्रयोग गरिएको छ । २०५४ सालमा विद्यालय घलेपाटी भएको ठाउँमा सारिएपछि ढुङ्गाको गाह्रोबाहेक कुनै अवशेष छैन ।

 ढोकेपाटी र चुचेपाटी पनि सडक निर्माणका क्रममा भत्किसकेका छन् । बास बस्ने घर, घोडा राख्ने तबेलाजस्ता सुविधासम्पन्न प्राचीन पाटीपौवा संरक्षणमा कसैको चासो छैन । “चाहेर पनि संरक्षण गर्न सकिएन”–स्थानीय भन्छन्–“बाटो हिँड्ने मान्छे नभएपछि यी पौवाको महत्व घट्यो र ऐतिहासिक महत्वका बारेमा बुझ्न बुझाउन नसक्दा पौवाहरु मासिए ।”

बुढापाकाका अनुसार कटुन्जेको पौवामा बास बसेपछि रामेछापको शीतलपाटी तत्कालीन अवस्थामा अर्को चर्चित पाटी मानिन्थ्यो । रासस


No comments: