Saturday, September 6, 2014

कोरियाली भाषा सिकाउने नाममा लाखौंको ठगी भएको गुनासो, २२ केन्द्रबाट परीक्षा दिन पाइने

September 6
काठमाडौ । कोरियाली भाषा पढाउने संस्थाले अधिक शुल्क असुली गर्ने क्रम रोकिएको छैन । तालिम प्रदायक संस्थाले ग्यारेन्टी पास गराउने भन्दै विज्ञापन गर्ने र प्रतिब्यक्ति एक लाख रुपैंयाँसम्म शुल्क असुल्ने गरेको गुनासो भाषा सिकिरहेकाहरुले गरेका छन् ।

तालिम दिने संस्थाले लुट मच्चाए पनि सरकारले भने अहिले सम्म ठोस कारबाही गर्न सकेको छैन । सरकारी निकायबीच समन्वय अभावमा कारबाही हुन नसकेको अन्नपूर्ण पोष्टमा खबर छ ।

अनुगमन तथा कारबाही हुन नसकेकोले तालिम दिने संस्थाले ग्यारेन्टी पास भन्दै चर्को शुल्क लिन पाएका हुन् । तालिम प्रदायक संस्थाले प्रतिब्यक्ति सात हजारदेखि एक लाख रुपैंयाँसम्मको रकम असुल्ने गरिएको भाषा सिक्नेहरुको दावी छ । भाषा सिकाउने तथा ग्यारेन्टी परीक्षा पास गराउने नाममा मोटो रकम असुल्ने काम भएको छ । ईपीएस कोरिया शाखाले भने कोरियन भाषाका नाममा कसैले बदमासी गरेको पाइएमा त्यस्ता संस्था तथा ब्यक्तिलाई कडा कारबाही गर्ने जनकारी दिएको छ ।

 कसैले पनि भाषा परीक्षा पास गराउने ग्यारेन्टी गर्न सक्दैन । कोरियन पक्षको प्रत्यक्ष संलग्नतामा परीक्षा सञ्चालन हुने र उत्तर पुस्तिका समेत कोरियामा परिक्षण हुने जानकारी ईपीएस शाखाले दिएको छ । ईपीएस कोरिया शाखाका प्रमुख डिल्ली बास्तोलाले कोरियन भाषा पास गराईदिने भन्दै कुनै ब्यक्ति तथा संस्थाले रकम असुलेको प्रमाणसहित आएमा तत्काल कडा कारबाही गरिने बताए ।

 भाषा परिक्षाका लागि २२ केन्द्र
 सरकारले आगामी असोजको दोस्रो साता सञ्चालन हुने कोरियन भाषा परीक्षाका लागि उपत्यकाका विभिन्न २२ वटा स्थानमा परीक्षा केन्द्र कायम गरेको छ । यसमा १५ वटा केन्द्र काठमाडौमा र सातवटा ललितपुरमा हुनेछन् । भाषा परीक्षा उपत्यकामामा मात्रै सञ्चालन गर्ने निर्णयसमेत गरिएको छ । आवेदन फार्म भर्दा केन्द्र थोरै भएकाले भीडभाड बढेको निश्कर्षसहित यसपटक परीक्षा केन्द्र बढाएको हो । गतवर्ष जम्मा १७ वटा परीक्षा केन्द्र थिए । यस वर्ष परीक्षा दिनेको संख्या समेत गत वर्षको तुलनामा धेरै छ । कोरियन भाषा परीक्षा असोज १० र ११ गते सञ्चालन हुदैछ ।

No comments: