September 6
काठमाडौ । सरकारले दसैं, तिहार र छठसम्मका लागि चामल, चिनी र नूनमा छुट दिएर यसवर्ष पनि देशका विभिन्न स्थानमा सहुलियत पसल सञ्चालन गर्ने भएको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयले साल्ट ट्रेडिङ लिमिटेड र खाद्य संस्थानमार्फत सञ्चालित सहुलियत पसलबाट छुट दिने निर्णय गरेको हो ।७१ वटा यस्ता पसल देशका विभिन्न स्थानमा सञ्चालित हुने नयाँ पत्रिका दैनिकमा खबर छ । मन्त्रालयका प्रवक्ता दीपक सुवेदीले सहुलियत पसलमा चामल र नून प्रतिकेजी दुई रुपैंयाँ तथा चिनी पाँच रुपैंयाँ प्रतिकेजी छुटमा उपलब्ध हुने जानकारी दिए ।
दसैंमा ब्यवसायीले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि र कृत्रिम अभाव गर्ने प्रवृति रहेकोले त्यसलाई निरुत्साहित गर्न सरकारले वर्षेनि दसैं, तिहार र छठसम्मका लागि सहुलियत पसल सञ्चालन गर्दै आएको छ । सुवेदीका अनुसार साल्ट ट्रेडिङ्ले काठमाडौ कालिमाटीका दुई स्थानमा, कोेटेश्वर, टेकु, रामशाहपथ, बल्खु तरकारी बजार, सतुंगल, पाटनको विशालबजार र उद्योग वाणिज्य संघ भक्तपुर परिसरमा सहुलियत पसल सञ्चालन गर्नेछ ।
त्यस्तै खाद्य संस्थानले प्रधान कार्यालय टेकु, रामशाहपथ, जावलाखेल चोक, बल्खु तरकारी बजार, कोेटेश्वर र भक्तपुरमा सहुलियत पसल राख्नेछ । सहुलियत पसलबाट एक ब्यक्तिले चामल एक बोरा, चिनी ६ केजीसम्म र नून तीन प्याकेटसम्म मात्रै लैजान पाउने ब्यवस्था गरिएको छ ।
सहुलियत पसलमा नेसनल ट्रेडिङ् लिमिटेडले मेसिनरी र घरायसी सामग्री विशेष छुटमा उपलब्ध गराउनेछ । त्यस्तै, दूग्ध विकास संस्थान (डीडीसी)ले लैनचौरस्थित केन्द्रीय कार्यालय परिसर र रामशाहपथमा सहुलियत पसल राखेर विभिन्न दूग्धजन्य पदार्थमा छुट दिने जनाएको छ ।
No comments:
Post a Comment