Thursday, September 4, 2014

अटो मेलामा दर्शकको भिड, नयाँ मोडलमा देखियो चासो

September 4
काठमाडौं । राजधानीको भृकुटीमण्डमा जारी नाडा अटो शोमा गाडीका पारखीहरुको भिड लागेको छ । संगीतमय बनाइएको मेलामा दर्शकहरु कार तथा मोटरसाइकलको बारेमा जानकारी लिन व्यस्त देखिन्थे । मेलामा खासगरी नयाँ मोडलका कार तथा मोटरसाइकलमा दर्शकको भिड लागेको थियो । विश्वभर प्रख्याती कमाएका ब्रान्डहरुको सहभागीता रहेको मेलामा आधा दर्जन गाडी कम्पनी र ४ वटा मोटरसाइकल कम्पनीले नयाँ मोडल प्रर्दशनीमा राखेका छन् । मेलास्थलको प्रवेशद्धारमा रहेको सुजुकीको स्टलमा ग्राहकहरुको भिड देखिन्थ्यो । सुजुकीले मेलामा अटो र म्यानुअल गियर भएको सेलेरियो कार प्रर्दशनीमा राखेको छ । उक्त कार कम्पनीले मेलास्थलमै सार्वजनिक गरेको थियो ।Nada Auto Show (8) सेलेरियो कारका बारेमा जानकारी लिने र बुकिङ गर्न खोज्नेहरुको बाक्लो भिड लागेको सीजी मोटोकोर्पका प्रबन्ध निर्देशक करण चौधरीले बताए । २३ लाख ९५ हजार रुपैयाँ पर्ने सेलेरियो गाडी इन्ट्री लेवलका कारहरुमा सबैभन्दा उत्कृष्ट रहेको उनको दाबी थियो । टाटाले मेलामा कन्सेप्ट भेहिकल टाटा स्ट्रोम लदाक गाडी प्रर्दशनीमा राखेको छ । आकर्षक डिजाइनमा रहेको उक्त गाडी हेर्ने मात्र नभई छोएर अनुभव लिने दर्शक मसेत निकै देखिन्थे । गाडी कहिले नेपाल आउँछ भनेर जिज्ञासा राख्नेहरु धेरै रहेको सिप्रदी ट्रेडिङका कर्मचारीले बताए । मेलामा नयाँ ब्रान्डले प्रवेश गरेको छ । जापानीज ब्रान्ड डाटसन पनि मेलामा आकर्षणको केन्द्र बनेको छ । आकर्षक डिजाइनमा रहेको डाटसन २० लाख रुपैयाँको हाराहारीमा पर्ने बताइएको छ । मेलामा स्कुले विद्यार्थीको समेत भिड लागेको थियो ।Nada Auto Show (9) मेलामा सार्वजनिक गरिएका यामाहाको एफजेडएस, आर ६, आर १५, होन्डाको सिबिआर १५० आर, एक्टीभा १२५, सुजुकीको जिक्सरमा विद्यार्थीको भिड देखिन्थ्यो । जिक्सर चढेर अनुभव लिन खोज्नेहरुको लाइन देखिन्थ्यो । माथिका सबै मोडलहरु अपग्रेडेड भर्सन हुन् । थप सुविधासहित आकर्षक डिजाइनमा आएका यी मोटरसाइकलले यूवाहरुको ध्यान तानेका थिए । मध्यमवर्गीय परिवारको संख्या बढी भएको नेपालमा गाडी भन्दा मोटरसाइकल उत्तम साधन मानिन्छ । त्यसो त गाडी भन्दा महंगा मोटरसाइकलका बारेमा जानकारी लिने यूवाहरुको पनि कमी थिएन । मेलामा डुकाटी, यामाहा, होन्डा, रोयल इन्पिmल्ड लगायतका महंगा हेभी बाइक प्रर्दशनीमा राखिएको छ । टोयोटाको स्टलमा पनि दिनभर भिडभाड देखियो । टोयोटाले मेलामा इटिओस क्रस सार्वजनिक गरेको थियो । टोयोटाका सस्ता गाडीहरुमा सबैभन्दा आकर्षक डिजाइन रहेको इटिओस क्रस बुकिङ गर्न खोज्नेहरु पनि धेरै आएको स्टलकर्ताले बताए । हृयाचव्याक सेगमेन्टको इटिओस क्रसको ४१ लाख ४५ हजार रुपैयाँ रहेको छ । फेमिलि कारको रुपमा होन्डाले भित्राएको सेभेन सिटर मोबिलियोमा पनि दर्शकको भिड देखियो । त्यस्तै, हुन्डाई, फियट, निशान, किया, बजाज, केटीएम डुक लगायतका स्टलहरु पनि दर्शकले भरिए । साँझ ठूलो पानी परेपनि दर्शकको उपस्थिती घटेको थिएन । झरिमा रुझ्दै गाडी हेर्न आउनेहरु उत्तिकै देखिन्थे । पार्किङ स्थल भरिए पछि सवारी व्यवस्थापन गर्न हम्मे हम्मे परेको देखिन्थ्यो ।

No comments: