Thursday, September 11, 2014

'अन्तर्राष्ट्रिय पहुँच विस्तार हुनेछ'

१९–२४ भदौसम्म काठमाडौंमा भइरहेको रसायनशास्त्रका वैज्ञानिकहरूको अन्तर्राष्ट्रिय सम्मेलनको आयोजक 'नेपाल पोलिमर इन्स्टिच्युट' का अध्यक्ष डा. रामेश्वर अधिकारी भन्छन्, “देशमा विज्ञान–प्रविधिको विकास गर्न सही नेतृत्व आवश्यक छ।”
देबकी बिष्ट
यो सम्मेलनको उद्देश्य के हो?
यसपटक हामीले दुई वटा कार्यक्रम सँगै गरेका छौं। 'काठमाडौं अटम स्कूल अन केमेष्ट्री एण्ड टेक्नोलोजिज' १९–२१ भदौमा र 'सेकेन्ड इन्टरनेशनल कन्फ्रेन्स अन काठमाडौं सिम्पोजिया अन एड्भान्स मटेरियल' २२–२५ भदौमा। यी कार्यक्रममा विभिन्न देशका वैज्ञानिक सहभागी हुनुहुन्छ। रसायनशास्त्र र त्यससँग सम्बन्धित प्रविधिहरूको नवीनतम अनुसन्धान, विकास र उपयोगबारे विश्वभरका वैज्ञानिकहरूको सम्मेलन गरेर नेपाली विद्यार्थी र युवा वैज्ञानिकहरूको पहुँच विश्वका ख्यातिप्राप्त वैज्ञानिकहरूको प्रयोगशालासम्म पुर्‍याउने सम्मेलनको उद्देश्य हो।
सम्मेलनमा कति वैज्ञानिकको सहभागिता रहनेछ?
नेपालसहित भारत, अमेरिका, जर्मनी, फ्रान्स, जापान, कोरिया, दक्षिण अफ्रिका, बंगलादेश, पाकिस्तान, बेलायत लगायत ११ देशका १५० वैज्ञानिक सहभागी छन्।
यसबाट नेपाललाई के फाइदा हुनेछ?
नेपालका युवा वैज्ञानिक र विज्ञानका विद्यार्थीको सम्पर्क विश्वभरका विख्यात वैज्ञानिकहरूसँग हुन्छ। भविष्यमा नेपालमै बसेर अनुसन्धान गर्दा पनि अन्य देशका वैज्ञानिकहरूसँगको सम्पर्कले सजिलो पार्छ।
विज्ञान–प्रविधिको विकासका लागि राज्यले कस्तो नीति अवलम्बन गर्नुपर्ला?
विज्ञान–प्रविधिको विकास विना देशको विकास हुँदैन। त्यसैले सरकार र योजना आयोगले विज्ञान–प्रविधिलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नुपर्छ। युवा वैज्ञानिकलाई स्वदेशमै अनुसन्धान गर्ने वातावरण बनाउनुपर्छ।
वैज्ञानिक खोज अनुसन्धानलाई सर्वसाधारणको हितमा कसरी प्रयोग गर्न सकिएला?
हरेक अनुसन्धानका उपलब्धि सर्वसाधारणको हितका लागि नै हुने हो। जडीबुटी, कृषि, ऊर्जा लगायत क्षेत्रको विकासका लागि अनुसन्धान गर्न यसले थप मद्दत गर्नेछ।

No comments: