Tuesday, September 9, 2014

एउटै सिटका लागि दोहोरो टिकट काट्नेलाई कारवाही

September 9
काठमाडौं । सरकारले दशैंको टिकट बुकिङमा एउटै सिटका लागि दोहोरो टिकट काट्नेलाई कारवाही गर्ने भएको छ ।

यातायात व्यवसायीसहित सरोकारबाला निकायसँग मंगलबार भएको छलफलमा प्रधानमन्त्री कार्यालयका सचिव शान्तराज सुवेदीले सिट क्षमता भन्दा बढी टिकट नकाट्न, एउटै सिटमा २ वटा टिकट बुकिङ नगर्न निर्देशन दिएका छन् ।

एउटै सिटमा २ वटा टिकट बुकिङ भएमा पहिलो खरिदकर्तालाई सिट उपलब्ध गराउन र दोहोरो टिकट काट्नेलाई कारवाही गर्ने पनि उनले भनेका छन् ।

 यातायात व्यवस्था विभाग र यातायात व्यवसायीहरुबीच भएको सहमति अनुसार दशैंका लागि अग्रिम टिकट बुकिङ २५ गते बुधबार विहान ७ बजेदेखि खुला हुनेछ ।

 ६ घण्टा भन्दा लामो रुटमा चल्ने सवारी साधनमा अनिवार्य रुपमा २ जना चालकको व्यवस्था गर्नु पर्नेछ भने सबै यात्रुहरुको विवरण र २ जना चालकको नाम सहितको चलानी विवरणको एक प्रति ट्राफिक प्रहरीलाई उपलब्ध गराउनु पर्नेछ ।

 सवारी साधनको गतिसँगै २ जना चालक राखे-नराखेको, जस्ता बिषयमा यातायात व्यवसायीहरुको प्रतिनिधि समेत समावेश गरी नियमित तथा छड्के अनुगमन गरिनेछ ।

 सडक विभागले दशैं अगावै सडकहरू मर्मत गरिसक्नेछ । टिकट काउन्टरमा बस्ने कर्मचारीले अनिवार्य रुपमा परिचयपत्र लगाउनु पर्नेछ ।

विचौलियालाई प्रवेश नदिन र सिट क्षमताभन्दा बढी यात्रु नराख्न पनि सचिव सुवेदीले निर्देशन दिएका छन् ।

 हवाई टिकट सहज पाउने गरी टिकट विक्रीको व्यवस्था मिलाउन र दुर्गम तथा पहाडी जिल्लाहरुमा थप उडान सञ्चालन गर्ने भनिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।

No comments: