Friday, September 5, 2014

निर्देशनलाई लत्याउँदै सभासद्हरु विदेश सयरमा

September 4
काठमाडौं । संविधानसभा अध्यक्ष सुवास नेम्बाङको निर्देशनविपरीत सातजना सभासद् शुक्रबार मलेसिया जान लागेका छन् । नेम्बाङले संविधानको मस्यौदा तयार नभएसम्म जिल्लासमेत नजान निर्देशन दिइरहेका बेला अर्थ समितिका सभापति प्रकाश ज्वालाको नेतृत्वमा यी सभासद् मलेसिया जान लागेका हुन् । मलेसिया जाने सभासद्मा कांग्रेसका कमला पन्त, जगदीश्वरनरसिंह केसी, नेकपा मालेका सीपी मैनालीलगायतका सातजना रहेको अन्नपूर्ण पोस्टमा खबर छ । एमाओवादीले भने आफ्ना सभासद्लाई विदेश जान रोक लगाएको छ । एमाओवादीका शक्ति बस्नेतको नाम विदेश जाने टोलीमा रहे पनि प्रमुख सचेतक गिरिराजमणि पोखरेलले नजान निर्देशन दिएका हुन् । ‘अहिले विदेश जाने बेला होइन,’ पोखरलेलले भने । ‘संविधानका विषयमा सहमति गर्न यत्रो गृहकार्य भइरहेको छ । यस्तो अवस्थामा केको विदेश ?’ संविधानका विवादित विषयमा शनिबारसम्म सहमति नजुटे ‘प्रक्रिया’ अनुसार अगाडी बढ्ने बेलामा सभासद्हरु विदेश यात्रामा निस्कन लागेका हुन् । समितिका सभापतिहरुले महत्वपूर्ण विषयमा निर्णय लिँदा सम्बन्धित दल र प्रमुख सचेतकको सल्लाह लिनुपर्ने पोखरेलले बताए ।

No comments: