September 4
काठमाडौं । डिआइजी बढुवाका लागि सिफारिसमा नपर्ने बरिष्ठ एसएसपीहरुले पुनरावलोकन समिति समक्ष उजुरी गर्ने भएका छन् ।
आइजिपी उपेन्द्र अर्यालले पूर्वाग्रहपूर्वक बढुवा सिफारिसमा नपारेको भन्दै उनीहरु पुनरावलोकनमा जान लागेका हुन् ।डिआइजी बढुवामा सिफारिस भएका १३ मध्ये तीनजना आइजिपीकै ब्याजी छन् भने अरु दश जना २०४४ का ब्याजी हुन् । को-को जाँदैछन् ?
सो समूहका एक र दुई नम्बर बरिष्ठतामा रहेका रणवहादुर चन्द र हेमन्त पाललाई हटाएर अरुको नाम सिफारिस गरिएको छ । चन्द र पाल पनि पुनरावलोकनमा जाने भएका छन् । ‘नियतवस बढुवा हुन रोक्न खोजिएकाले कानुनी उपचार खोज्छौं’ चन्दले भने । गृहसचिव सूर्यप्रसाद सिलावाल संयोजकत्वको सिफारिस समितिले डिआइजी बढुवाका लागि रामकुमार खनाल, मनोहर रिमाल, पूर्णसिंह खड्का, पशुपति उपाध्याय, देवेन्द्र सुवेदी, विजयलाल कायस्थ, मधु पुडासैनी, माधव जोशी, केशररीराज घिमिरे, कमलसिंह बम, मिङमार लामा, पंकज श्रेष्ठ र माधवकुमार नेपालको नाम सिफारिस गरेको छ । सिफारिसमा चित्त नबुझाई पुनरावलोनमा जानेमा रविप्रताप राणा, ज्ञानोदराज वैद्य लगायत आइजिपी अर्यालका ब्याजीहरु पनि छन् । आइजिपी अर्याल तथा एसएसपी राणा, वैद्य नेपाल प्रहरीमा सँगै प्रवेश गरेका हुन् । अर्याल आइजिपी भइसक्दा उनीहरु एसएसपीबाटै घर जानुपर्ने भएको छ ।
पुनरावलोकन समिति नै कटौतीमा
मन्त्रिपरिषद बैठकले डिआइजी बढुवा गर्नुअघि नै उनीहरु उजुरी लिएर लोकसेवा आयोग अध्यक्ष नेतृत्वको पुनरावलोकन समितिमा जान लागेका छन् ।
मैले अहिलेसम्म नेताको संगत गर्न जानिन, नेता नचिन्दा पनि पछि परिँदो रहेछ । -रवीन्द्रप्रताप राणा, एसएसपी ‘आइजिपी र सिफारिस समितिले पूर्वाग्रही भएर निर्णय गरेकाले यसका विरुद्द पुनरावलोकनमा जान्छौ’ एसएसपी राणाले भने । अर्का एसएसपी वैद्यले पनि आफूमाथि नियतवश अन्याय गरिएकाले न्यायका लागि सम्बद्ध सबै ठाउँमा जाने बताए । यसअघि एआइजी बढुवा सिफारिसमा नपरेका डिआइजीहरु पुनरावलोकन समितिमा गएपछि समितिले नाम थपघट गरेको थियो । तर, अहिले मन्त्रिपरिषलले ऐन संशोधन गरि पुनरावलोकन समितिको अधिकार कटौती गरेको छ ।
चलखेल र षडयन्त्रः राणा
डिआइजी बढुवा सिफारिसमा नपरका एक नम्बरमा एसएसपी रविप्रताप राणाले आइजिपीको पूर्वाग्रह र नेताहरुसँग संगत नभएका कारण आफू बढुवा हुन नसकेको बताए । राणाले अनलाइनखबरसँग भने-’पहिलो कुरा त आइजिपीले नै रुचाएनन्, अर्को कुरा मैले अहिलेसम्म नेताको संगत गर्न जानिन, नेता नचिन्दा पनि पछि परिँदो रहेछ ।’ उनले बढुवा सिफारिसमा पनि ठूलो चलखेल र षडयन्त्र हुने गरेको भन्दै आफू सोझो भएकाले सधै पछि परेको दावी गरे ।
पुरस्कार पाएको थिएँ : वैद्य
सिफारिसमा नपरेका बैद्यले आफ्नो कार्यक्षमतामा कहिल्यै प्रश्न नउठे पनि बढुवामा पछि पारिएको बताए । बैद्यले अनलाइनखबरसँग भने- ‘दिल्लीमा पुलिस एट्याची भएर काम गर्दा खुङ्खार अपराधी रोशन पाण्डेलाई क्यानाडाबाट पक्राउ गराएँ, कुवेरसिंह रानाको पालामा छड्के दौडाहा टोलीमा राम्रो काम गरेको भनेर प्रशंसा पाएँ, रेकर्डमा जनिने धेरै पुरस्कार पाएँ तर, बढुवामा पूर्वाग्रह राखियो ।’ पश्चिमाञ्चलको अनुगमन टोली प्रमुख हुँदा उनले खराब आचरण गर्ने धेरै प्रहरीलाई कारवाही समेत गरेका थिए । त्यसबेला एसएसपीहरु सर्वेन्द्र खनाल, रमेश खरेल र ज्ञानोदराज वैद्यलाई छड्केमा पठाइएको थियो । यदि बढुवा नभएमा राणा र वैद्य आगामी कात्तिक २५ मा ३० वर्षे सेवा अबधिको हदबन्दीका कारण घर जानुपर्ने छ ।
No comments:
Post a Comment