September 20
दसैंका बेलामा बन्द हडतालको आयोजना गर्दा जनतालाई सास्ती हुन्छ भनेकुरा माओवादी नेता विप्लवलाई राम्रोसित थाहा छ । उनले आफ्नो वक्तव्यमै यसलाई स्वीकार गर्दै भनेका छन्-‘दशैंको पूर्वसन्ध्यामा हुने यस बन्दले जनतालाई आवत-जावतमा केही असजिलो पार्नेप्रति क्षमा माग्दै देशकै भविष्य र जनताको विरुद्धमा भएको यो अक्षम्य सम्झौताप्रति दशैंको कारणले चुप लाग्न नहुने भएकाले यातायात, कलकारखाना, शिक्षण संस्था, बजार व्यवसाय बन्द गरी सहयोग गरिदिनुहुन अनुरोध गर्दछौं ।’
समाचार टिप्पणी
४ असोज, काठमाडौं । नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य र सचिव विप्लवले छुट्टाछुट्टै वक्तव्य निकालेर आन्दोलनको घोषणा गरेका छन् । अध्यक्ष वैद्यले पीडीए सम्झौताको विरोधमा असोज ७ गतेदेखि देशव्यापी विरोध कार्यक्रम गर्ने वक्तव्य निकालेका छन् भने पश्चिम कमाण्डको इञ्चार्ज रहेका विप्लवले पश्चिमाञ्चल बन्दको घोषणा गरेका छन् ।
देशको भविश्य बर्बाद हुन लागेको भन्दै बन्द र हडताल गरेर जनतालाई थप मारमा पार्नेर् यो तरिका परम्परागत एवं जनघाती प्रमाणित भइसकेको छ । सबैले यातायात, शिक्षण संस्था र कारखाना बन्द गरिदिँदैमा देशको भविश्य सुध्रन्छ ? यसको जवाफ नदिई विप्लवले घोषणा गरेको बन्दले माओवादीप्रति जनताको आस्थामा अभिवृद्धि हुनुको साटो झनै घट्ने निश्चित छ ।
विप्लव आफैंले वक्तव्यमा स्वीकार गरेका छन् कि दसैंको पूर्वसन्ध्यामा आयोजना गरिएको यस्तो बन्दका कारण जनतालाई सास्ती हुनेछ ।
सरकारले भारतसँग गरेको पीडिए सम्झौतामा नेपालको राष्ट्रिय हितमा नकारात्मक प्रभाव पर्ने तर्क वैद्य माओवादीका नेताले मात्रै होइन, कांग्रेसका पूर्वजलस्रोत सचिव लक्ष्मण घिमिरे, एमालेका उपाध्यक्ष भीम रावल र एमाओवादीका नेताहरु एवं जलस्रोतविदले समेत बताइरहेको अवस्था छ । यो स्थितिमा बन्द र हडतालको घोषणाले आन्दोलनकारीलाई जनताको समर्थन आउने छैन, बरु भएको समर्थन पनि घट्ने छ ।
माओवादी नेतामा जनताप्रति संवेदनशीलता छ भने पश्चिमाञ्चल बन्दको कार्यक्रम फिर्ता लिएर जनतालाई सास्ती नहुने गरी आन्दोलन गर्नु उपयुक्त हुने देखिन्छ । यसो नगरिए जनताको ध्यान बन्द र हडतालको विरोधपट्टी जानेछ र माओवादीले उठाउँदै आएको राष्ट्रियताको एजेन्डा ओझेलमा पर्नेछ ।
विप्लवले जुन पश्चिमाञ्चल बन्दको घोषणा गरेका छन्, त्यो विरोधको अतिवादी एवं जनविरोधी कार्यशैली हो । यसलाई जतिसक्दो छिटो फिर्ता लिन आवश्यक देखिन्छ ।
संघर्षको जडसूत्रवादी कार्यशैली
संविधानसभाको चुनाव बहिस्कार गरेको नेकपा- माओवादी यतिबेला आफ्नै जडसूत्रवादी कार्यशैलीका कारण जनताबाट कट्दै र एक्लिँदै जान थालेको छ । ६ महिना अघिदेखि गोलमेच सम्मेलनको गोलचक्करमा अल्ममिलएको माओवादी यतिबेला ‘न गरी खानु न मरी जानु’को अवस्थामा छ ।
नेतालाई सामान्य आलोचना गरेको स्थितिमा पार्टीका केन्द्रीय सदस्य अनिल शर्मामाथि कारवाही गरिएको अवस्था छ । सानो समूहमा आपसमा मिल्न नसक्ने नेताहरुले एकपछि अर्को गर्दै आफूलाई सीमान्तीकृत बनाउँदै लगिरहेका छन् ।
राष्ट्रियताजस्तो सम्वेदनशील विषयमा जनताको समर्थन लिन सकिने अवस्थामा पनि विप्लवको विप्लववादी कार्यशैलीले जनतालाई चिढ्याउने गरी बन्दको आयोजना गर्नुले वैद्य माओवादीले जनमुखी कार्यशैली अपनाउने अपेक्षा क्षीण बन्न थालेको छ ।
आन्दोलन र बन्द हडताल कर्मकाण्ड वा सोह्रश्राद्ध जस्तै बन्न थालेकोछ । विप्लव कामरेड पश्चिमाञ्चल बन्दको कार्यक्रम फिर्ता लिनोस् । तपाईकै पार्टी अध्यक्षले प्रेस वक्तव्यमा भनेजस्तै शान्तिपूर्णरुमा पीडीए सम्झौताको विरोधमा जनतालाई आह्वान गर्न सक्नुहुन्छ । जनतालाई दुख नदिनोस् । जनताको विश्वास जित्नोस् । जनता बन्द हडतालको पक्षमा छैनन् ।
No comments:
Post a Comment