September 7
सउल । नेपथ्यका गायक अमृत गुरुङले चार वर्षपछि दक्षिण कोरियामा सांगितिक कार्यक्रम गरेका छन् । सिनहियोंग विश्वविद्यालयको कभर्डहलमा भएको कार्यक्रममा झण्डै तीन हजार नेपालीको सहभागिता थियो ।
नेपथ्यले यसअघि पनि दक्षिण कोरियामा सन् २००५ र २०१० मा आफूलाई प्रस्तुत गरिसकेको थियो ।तर, यसपटकको प्रस्तुती भने प्राविधिक विशेषतादेखि दर्शकको विशाल उपस्थितीसम्मले गर्दा सर्वाधिक भब्य बन्न पुग्यो । ‘कार्यक्रममा तीन हजारभन्दा बढी दर्शक आएका थिए,’ आयोजक कमिटिका सदस्य झक थापा भन्छन्, ‘कोरियामा आजसम्मै आयोजित नेपाली कार्यक्रममा यति धेरै दर्शक जम्मा भएको यो पहिलोपटक हो ।’ दुई घन्टा लामो प्रस्तुतीका बेला अमृतले दर्शकलाई उनीहरु जन्मे हुर्केको पहाड पखेरा र बस्तीहरुको रमाइलो यात्रा गराए ।
कार्यक्रममा नेपथ्यले संकलन गरेका लोकलयसँगै भिडियो पनि देखाइएको थियो जसमा छाडेर आएका उनीहरुकै बस्ती र समाज अटाएको थियो । पूर्वी नेपालको सम्झना गराउने ‘रेशम’, लाङटाङ भेगमा संकलित ‘भेँडाको ऊनजस्तो’, गण्डकीका सुसेली बोकेको ‘तालको पानी’ र ‘लामपाते सुरती’ देखि पश्चिमी नेपालको ‘सा कर्णाली’सम्म हलमा गुञ्जिँदा दर्शक तालसँगै नाचेका थिए ।
मुलुकको कुना काप्चामा गीत संकलन गर्दै घुमिहिँड्दा अमृतले ती भेगका सुन्दर दृश्यलाई पनि सँधै आफुसँगै बोकेर ल्याउने गरेका छन् जसलाई उनले रैथाने भाकासँगै मिलाएर प्रस्तुत गर्छन् । ‘त्यो ‘सालै जो’ भाका मेरै गाउँबाट संकलन गरेको भन्ने सुन्दा जति घत परेको थियो, गीतसँगै गाउँका दृश्य पनि देख्दा झनै आनन्द लाग्यो’ पूर्ण रानाले भने- ‘देशको कुना काप्चामा पुगेर त्यहाँको रस ठम्याउने काम सबैले गर्न सक्दैनन् । अमृतदाईको यो गुणले नै नेपथ्यको कन्सर्ट सबैभन्दा विशेष बन्ने गर्छ ।’
कार्यक्रममा ‘रेशम’ र ‘भेँडाको ऊनजस्तो’ले दर्शकलाई सँधैजस्तो यसको मिठासमा बाँधेको थियो भने ‘यो जिन्दगानी’ र ‘यौटा चिठ्ठी’ले भावुक बनाएको थियो । त्यसैगरि ‘गाउँ गाउँ बाट उठ’ र ‘रातो र चन्द्रसूर्य’ जस्ता गीतहरुले राष्ट्रप्रेमको भावना पैदागरेको थियो ।
यसरी यो प्रस्तुती पनि विभिन्न रसका गीतहरुको स्वादलाग्दो मिश्रण बन्नपुगेको थियो । ‘तपाईहरुका निम्ति छुसोकको एउटा उपहार पनि मैले ल्याएको छु,’ कोरियामा सुरुभएको राष्ट्रिय पर्वलाई उदृत गर्दै अमृतले बीचैमा भने, ‘आजसम्म रेकर्ड नभएको यो एकदम नयाँ गीत पहिलोपटक तपाईहरुका निम्ति गाउँदैछु ।’ त्यसपछि सुरुभए-
‘हो रामा रामा…हो रामा रामा… है माया हाँसी दिँदा देब्रे गाला डिम्पल …’
यो अप्रत्याशित उपहार पाएपछि सिनहियोंग विश्वविद्यालयको कभर्डहलमा भरिएका तीन हजार दर्शकमध्ये कोहि पनि सिटमा बसिरहन सकेनन् । एक त त्यसै पनि सिंगो कोरिया पर्वको माहोलमा डुबेको बेला यो कुनाले अझ रोमाञ्चकता बढाइदिएको थियो ।
छुसोक उत्सवलाई कोरियालीहरु अमेरिकामा ‘थ्यांक्स गिभिङ’ पर्वजस्तै मनाउने गर्छन्, जसमा परिवारका सबै सदस्य जम्मा भएर एकअर्कालाई शुभकामना एवं धन्यवाद आदान प्रदान गर्ने गरिन्छ । कार्यक्रममा अमृतलाई ड्रमसेटमा ध्रुव, किबोर्डमा सुरज, बेस गितारमा सुबिन, गितारमा निरज र मादलमा शान्तिले सघाएका थिए ।
कोरियास्थित नेपाल मगर संघको आयोजना रहेको यस कार्यक्रमलाई नेपालयले संयोजन गरेको थियो । नेपथ्यको प्रस्तुती अगाडि बहुचर्चित नृत्यांगना तेरिया मगरले केहि नृत्य प्रस्तुत गरिन् ।
No comments:
Post a Comment