Sunday, September 7, 2014

निजामति कर्मचारीले के गरे ? अब के गर्नुपर्छ ?-सेवाग्राही जनताप्रति समर्पित निजामती सेवा

September 7
२२ गते । निजामती सेवा दिवसको उपलक्ष्यमा सम्पूर्ण देशवासीप्रति हामी समस्त करिव ७५ हजार कार्यरत निजामती कर्ममचारी र सेवानिवृत कर्मचारीको तर्फबाट गुणस्तरीय ढंगले तोकिएको अवधिभित्र तपाई सेवाग्राही जनतामा सन्तुष्टि पैदा गर्ने गरी सार्वजनिक सेवा प्रदान गर्ने प्रतिवद्धतासहित हार्दिक नमस्कार गर्दछौं ।
कृष्णहरी बस्कोटा
यस निजामती सेवा दिवसको पावन उपलक्ष्यमा निजामती कर्मचारी सदैव मुलुकको सार्वभौमसत्ताको संरक्षण, मुलुकको आर्थिक सम्वृद्धि, जनतालाई गरिखान मिल्ने वातावरणको निर्माण गराउन र सुशासनको अभिवृद्धिमा निरन्तर लागि रहनेछौं ।

 साथै आम जनतामा दैनिक सेवा प्रवाह गर्ने, विकास निर्माणको काम गर्ने र नीति निर्माण एवं कार्यान्वयनमा निजामती कर्मचारीलाई सदाझंै आम देशवासी जनताबाट सहयोग र हौसला प्राप्त भैरहने अपेक्षा गर्दछौं ।  

निजामती सेवाको आरम्भः आदि-अनादि कालदेखि कुनै न कुनै रुपमा प्रशासनयन्त्रले मुलुकमा सेवा गरी आएको हो । तथापि तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यका पालामा पहिलोपटक निजामती सेवा ऐन, ०१३ भाद्र २२ गते जारी भएकाले सोही समयदेखि निजामती सेवाले औपचारिकता र कानुनी हैसियत पाएको ठान्नुपर्छ । यसर्थ स्वर्गीय आचार्यप्रति हामी हार्दिक श्रद्धासुमन व्यक्त गर्दछौं ।
  
यत्रतत्र सर्वत्र निजामती सेवा
 मुलुकमा प्रत्येक वस्ती, टोल, वडा, गाउँ विकास समिति, इलाका, सेवा केन्द्र, नगरपालिका, जिल्ला, अञ्चल, क्षेत्र र केन्द्रीयस्तर गरी सवै भौगोलिक क्षेत्रमा निजामती सेवाका कर्मचारीले आफ्नो कर्तव्य निर्वाह गरी आएका छन् ।
टाउको दुखेको जनतालाई सिटामोल दिनेदेखि प्राकृतिक विपत्तीमा परेकालाई उद्धार गर्ने र राहत दिने काममा निजामती कर्मचारी अहोरात्र खटिएका छन् । विदेशस्थित नियोगदेखि शिक्षा, कृषि, वन, पूर्वाधार र शान्ति सुरक्षा लगायतका सवै क्षेत्रमा निजामती कर्मचारीले जिम्मेवारी वहन गरिरहेका छन् ।  

आर्थिक सम्वृद्धिमा योगदान
गत आ.व. ०७०/०७१ मा मुलुकको आर्थिक वृद्धिदर ५.२ प्रतिशत कायम रह्यो । नेपालीको प्रतिव्यक्ति आय वृद्धि भएर ७०३ अमेरिकी डलर अर्थात् ६९ हजार ९ सय १९ रुपैयाँ पुगेको छ । शहरी गरिवी १५.५ प्रतिशतमा र ग्रामीण गरिवी २७.४ प्रतिशतमा झरेको छ ।

 गतवर्ष ७ लाख ९७ हजार ७ सय ५९ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए । मुलुकभित्र सडक विभागले कालोपत्रे १० हजार ८१० किमि, खण्डास्मित ५ हजार ९२५ किमि र कच्ची ८ हजार ८६४ किमि गरी कूल २५ हजार ५९९ किमि मोटरबाटो निर्माण गरेको छ ।

 मुलुकभित्र वाहृय लगानी भित्रिने क्रम शुरु भएको छ । विकासका साझेदारहरुले नेपाललाई सघाउने रकमको प्रतिवद्धता बढाउन थालेका छन् । क्रमशः मुलुक औद्योगिकीकरणतर्फ रुपान्तरित हुँदैछ । यसका लागि आवश्यक पूर्वाधार निर्माणको कार्य आरम्भ गरिएको छ । यसमा निजामती सेवाको योगदान उल्लेख्य छ ।

 सुशासनको अभिवृद्धि
 सुशासन ऐन, ०६४ को व्यवस्थाबमोजिम सबै सरकारी कार्यालयले समय सीमा किटान गरी नागरिक वडापत्र जारी गरेका छन् । ०६९ सालदेखि ५ हजार रुपैयाँको क्षतिपूर्तिसहितको नागरिक वडापत्र जारी भएको छ । घर-दैलोसम्म सेवा विस्तार गर्न निजामती सेवाका कर्मचारीले एकीकृत घुम्ती सेवा संचालन गरेका छन् । कम्पनी रजिष्ट्रारको कार्यालय जस्ता निकायले ‘अनलाईन’ सेवा विस्तार गरेका छन् ।

 सरकारी ‘वेभ साईट’ मा कैयौ सूचना राखिएको छ । नेपाल कानुन आयोगको ‘वेबसाइट’बाट सबै ऐन कानुनको ‘अपडेट’ हासिल गर्न सकिन्छ । हालैदेखि ‘ई नेशनल पोर्टल’ पनि सञ्चालनमा ल्याइएको छ । जनताले भोग्नु परेका प्रशासनिक सास्ती हटाउन र जनताले माग गरेको सेवा तत्काल प्रवाह गर्न चौबीसै घण्टा हेलो सरकार सञ्चालित छ ।

सामान्यतः जनताको माग अनुसार नागरिकता जारी गर्ने, घर जग्गाको रजिष्ट्रेशन पारित गर्ने, नक्शा पास गर्ने, सवारी साधन दर्ता गर्ने, वैदेशिक रोजगारीको अनुमति दिने, कम्पनी दर्ता गर्ने, सामाजिक सुरक्षा भत्ता वितरण गर्ने, सहकारी दर्ता गर्ने र विकास निर्माणका काममा निजामती कर्मचारीले आफूलाई संलग्न गराई आएका छन् ।  

अन्तर्राष्ट्रिय सूचकाङ्कमा बढोत्तरी
 ट्रान्सपरेन्सी इन्टरनेसनलले गत वर्ष जारी गरेको ‘करप्सन परसेप्सन इण्डिकेटर’ मा नेपालले २७ अंकसहित १३९ औं स्थान हासिल गरेकोमा यो वर्ष ३१ अंक सहित ११७ अाैं स्थानमा उक्लिन सफल भएको छ । यसैगरी विश्व बैंक समूहले गत वर्ष प्रकाशित गरेको ‘डुइङ बिजनेश इण्डिकेटर’ मा नेपाल १०९ औं स्थानमा रहेकोमा यो वर्ष १०५ औं स्थानमा उक्लिएको छ ।

यसैगरी वल्र्ड इकोनोमिक फोरमले तयार गरेको ‘विश्व व्यवसायिक प्रतिस्पर्धा’ प्रतिवेदनमा गत वर्ष नेपाल ३.७ अंक सहित ११७ औं स्थानमा रहेकोमा यो वर्ष ३.८ अंक सहित १०२ औं स्थानमा उक्लिन सफल भएको छ । करिव दश वर्षको अन्तरालमा विश्व वैंकले ‘डेभ्लपमेण्ट पोलिसी लोन’ जारी गरेको छ । यसैगरी जापान सरकारले पनि एक दशकदेखि स्थगित गरेको ‘येन लोन’ खोलेको छ ।

 यूरोपियन इन्भेष्टमेण्ट वैंकले नेपालमा लगानी आरम्भ गरेको छ । अमेरिकी ‘ मिलेनियमन च्यालेन्ज कर्पोरेशन’को १६ वटा सूचनाङ्कको मूल्यांकनमा नेपाल ‘थ्रेसहोल्ड प्रोग्राम’ का लागि उपयुक्त ठहरिएको छ । फाइनान्सियल एक्सन टाक्स फोर्सले नेपाललाई शंकाको सूचीबाट हटाएको छ । यस्ता अन्तर्राष्ट्रिय सूचकाङ्कमा बढोत्तरी हासिल गर्न र मुलुकको अन्तर्राष्ट्रिय छविमा सुधार ल्याउन निजामती कर्मचारीलाई सफलता हासिल भएको छ ।

 निजामती सेवाको कार्यक्षेत्र
 निजामती सेवा ऐनभित्र आर्थिक योजना तथा तथ्याङ्क, इन्जिनियरिङ्ग, कृषि, न्याय, परराष्ट्र, प्रशासन, लेखापरीक्षण, वन, शिक्षा र विविध सेवा रहेका छन् । यसरी निजामती सेवा मुलुकको ऐन कानुनको मस्यौदा गर्ने, न्याय सम्पादनमा सघाउने, मुलुकको पूर्वाधार निर्माण गर्ने , अर्थतन्त्र निर्माण गर्ने, कृषिको प्रवर्द्धन गर्ने, अन्तर्राष्ट्रिय सम्वन्ध कायम गर्ने, सरकारी खर्चको लेखा परीक्षण गर्ने, अनियमितताविरुद्ध कार्वाही गर्ने, वन संरक्षण गर्ने, कृषिको विकास गर्ने र मुलुकको सामान्य शासन सञ्चालन गर्ने कार्यमा संलग्न रहेको छ । मुलुकमा देखिएका कैयौं जटिल स्थिति र उतार-चढावमा पनि आफ्नो कर्तव्य निरन्तर सम्पादन गर्न निजामती सेवा सफल छ ।  

राजनैतिक संक्रमणमा अहम भूमिका निजामती सेवाले मुलुकको स्थायी सरकारको बागडोर सम्हालेको छ । पछिल्ला समयमा भएको ०४६ साल र ०६२ सालको राजनैतिक परिवर्तनअनुरुप मुलुकभित्र व्यवस्थापन गर्न निजामती सेवालाई सफलता हासिल भएको छ । संविधानसभाको पहिलो निर्वाचन अन्यौलका वीच सम्पन्न गराउन संवैधानिक निर्वाचन आयोग र तत्कालीन राजनैतिक सरकार एवं राजनैतिक दलहरुलाई श्रेय दिनैपर्छ, तर यथार्थमा यस्को सफल सञ्चालन र व्यवस्थापन कर्मचारीतन्त्रबाटै भएको हो ।

 दोस्रो संविधानसभाको निर्वाचन गराउन प्रधानन्यायाधीशको अध्यक्षतामा गठित सरकारमा निजामती सेवाका पूर्वमुख्यसचिव र सचिवहरुले मन्त्रीको रुपमा निर्वाह गरेको भूमिका निकै प्रशंसनीय रहेको छ । यसबाट राजनैतिक संक्रमणमा निकास दिन निजामती सेवा सक्षम छ भन्ने प्रमाणित भएको छ । भावी गन्तव्य निजामती सेवाको भावी गन्तव्य मुलुकमा सुशासन प्रवर्द्धन गर्नु हो । सार्वजनिक सेवा प्रवाहमा आम सेवाग्राही जनताको मन जित्नु हो ।

 कुनै पनि प्रकारको प्रशासनिक सास्ती र विकृति, विसंगतिको समुल नष्ट गर्नु हो । आम जनताप्रति जिम्मेवारी वोध गरी जनतालाई महंगी, वेरोजगारी र वेथितिबाट जोगाउनु हो । मुलुकभित्र लगानीको वातावरण निर्माण गर्न कर्मचारीतन्त्रले सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्छ । मुलुकभित्र आर्थिक क्रियाकलापले बढोत्तरी पाएपछि नै रोजगारीको अवसर सिर्जना हुन्छ र बाहृय रोजगारीमा जाने युवाको भेल रोकिन्छ ।

 मुलुकभित्र सञ्चालित र प्रस्तावित राष्ट्रिय गौरवका आयोजना, मेगा प्रोजेक्ट र प्राथमिकतामा परेका कार्यक्रमहरु समयमै सम्पादन हुने गरी काम गर्नुपर्छ । नेपालको अन्तर्राष्ट्रिय सीमानाको सुरक्षा गर्ने, विदेशीको नेपाल आवगमनलाई व्यवस्थित गर्ने र मुलुकभित्र शान्ति-सुरक्षा एवं अमन चैन कायम गर्न निजामती सेवाका बफादार कर्मचारीहरु अहोरात्र राष्ट्र र जनताको हितमा क्रियाशील हुनुपर्छ ।

 विपतमा परेका नागरिकलाई सघाउन, विकासमा पछाडि परेको क्षेत्र र वर्गको उत्थान गर्न तथा जनताको स्वास्थ्य सेवा र शिक्षा पाउने आधारभूत अधिकार सुनिश्चित गराउन कर्मचारीतन्त्र आˆनो कर्तव्यमा खरो उत्रिनु पर्छ । मुलुकमा विधिको शासन स्थापित गर्न, मानव अधिकारको संरक्षण गर्न, उत्तरदायित्व र जवाफदेहिता वहन गर्न, पारदर्शी संस्कृतिको विकास गर्न कर्मचारीतन्त्र प्रतिवद्ध हुनुपर्छ ।

 अन्त्यमा, भदौ २२ को निजामती सेवा दिवसको पावन दिनमा समस्त निजामती सेवाका राष्ट्रसेवक कर्मचारीहरुले राष्ट्र र जनताको हितमा सधै क्रियाशील भैरहने प्रण गर्नुपर्दछ ।

No comments: