Monday, September 1, 2014

दाजु–भाउजुको कुटाइबाट लक्ष्मणको मृत्यु

September 1

सिन्धुपाल्चोक जिल्लाको सिपापोखरे–४ निवासी ३५ वर्षीय लक्ष्मण तामाङको आइतबार राति कुटपिटका कारण मृत्यु भएको छ । तामाङको अस्पताल लैजाँदै गर्दा काभ्रेको हिगिवापाटी भन्ने स्थानमा मृत्यु भएको हो ।Hiting उनलाई गत असार २६ गते दाजुभाइबीच झगडा हुँदा दाजु धनबहादुर तामाङ र भाउजू पातली तामाङ मिलेर कुटपिट गरेका थिए । सोही झगडाका कारण उनको मृत्यु भएको खुल्न आएको छ । दाजु धनबहादुर तामाङ र भाउजू पातली तामाङलाई इलाका प्रहरी कार्यालय मेलम्चीले पक्राउ गरेको प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले बताउनुभयो । मृतकको शव परीक्षणका लागि मेलम्ची क्षेत्रीय अस्पतालमा राखिएको थापाले बताउनुभयो उता पर्सा जिल्लाको सेढवा गाविसको वडा नं २ की ४२ वर्षीया महिला आशादेवी खनाल (पासवान)को उनकै बुहारीको मिलेमतोमा हत्या भएको पर्सा प्रहरीले निष्कर्ष निकालेको छ । भदौ १२ गते बिहान घर नजिकैको नदीमा आशाको शव घाँटी काटिएको अवस्थामा फेला परेपछि पर्सा प्रहरीले उनको हत्याको विषयमा अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका क्रममा आशाको हत्या उनकै बुहारी रिन्कु खनाल (पासवान)को मिलेमतोमा भएको पुष्टि भएको पर्सा प्रहरीले बताएको छ । रिन्कु पक्राउ परेपछि उसले आफ्नै संलग्नतामा आफ्नी सासूको हत्या भएको वयान दिएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार आशाको हत्यामा अन्य दुईजनाको पनि संलग्नता रहेको छ । हत्याको मुख्य कारण भने यौन सम्पर्क रहेको छ । जानकीटोला गाविस–७ पाँडेपुरका लङ्गडा भनिने मदारिफ मियाँ धोबी भनी चिनिने महमद आरिफ मियाँले केही महिनादेखि सासू आशा र बुहारी रिन्कुदेवीसँग नियमित यौन सम्पर्क गर्दै आइरहेकामा पछिल्लो समयमा बुहारीसँग पनि मियाँको सम्बन्ध रहेको थाहा पाएपछि आशा र मियाँका बीचमा सम्बन्ध चिसिँदै गएको हो । दुईजनाका बीचमा विवाद बढ्दै गएपछि बुहारी रिन्कुकै सहयोगमा भदौ ११ गते राति सुतिरहेको अवस्थामा मियाँ, रिन्कु र मियाँका साथी हलमुल्लाह मियाँसमेत मिलेर आशाको हत्या गरी नजिकैको खोलामा लगी फालिदिएको पनि बयानका क्रममा रिन्कुले बताएको प्रहरीले जनाएको छ । उनीहरुले धारिलो हतियार प्रयोग गरी आशाको हत्या गरेको र पछि तीनैजना मिलेर उनको शव खोलामा फालिदिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न बुहारी रिन्कु देवीलाई पक्राउ गरेको भए पनि अन्य घटनामा संलग्न रहेकाहरु भने फरार रहेको पनि पर्सा प्रहरीले जनाएको छ । रिन्कुका पति सुरज खनाल भने हाल वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका छन् भने आशाको हत्या भएको दिनमा उनका पति अर्जुन पनि चितवन गएको बताइएको छ ।

No comments: