Thursday, September 11, 2014

गुप्तचरका दुई एआइजी बढुवामा गृहमन्त्रीको चलखेल भट्टलाई घर पठाएर अधिकारीलाई ल्याउने तयारी

September 11
काठमाडौं । नेपाल प्रहरीमा डीआइजी बढुवा प्रकरण सुल्झिएको छ । तर, सरकारी गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभागमा भने डीआइजी बढुवामा चलखेल सुरु भएको छ । सिंहदरवार दक्षिण गेटमा रहेको गुप्तचर विभागको कार्यालय सिंहदरवार दक्षिण गेटमा रहेको गुप्तचर विभागको कार्यालय राष्ट्रिय अनुसन्धान विभागमा दुई एआइजी पद रिक्त छन् ।

एआइजी गणेश थापाले अवकास पाएपछि गत असार २१ देखि एउटा एआइजी पद खाली भएको हो । त्यसअघि नै मोतीबहादुर गुरुङ आइजी बनेपछि अर्को एआइजी पद रिक्त थियो, जुन अहिलेसम्म पूर्ति हुन सकेको छैन । स्रोतका अनुसार अनुसन्धान विभागका डीआइजी देवराज भट्ट बरिष्ठताका आधारमा एआइजीमा बढुवा हुने पहिलो दाबेदार हुन् ।

तर, भदौ १९ गते क्याबिनेटमा पुगेको उनको नाम गृहमन्त्री वामदेव गौतमले फिर्ता गराएका छन् । विहीबारसाँझ बस्ने क्याबिनेटमा पनि डीआइजी बढुवाको फाइल गृह मन्त्रालयले अघि बढाएन भने डीआइजी भट्टले घर जानुको विकल्प रहने छैन । गृहमन्त्रीले १९ गतेको क्याबिनेटमा पुगिसकेको फाइल फिर्ता गराएपछि सिनियर डीआइजी भट्ट बढुवामा नपरी घर जाने स्थितिमा पुगेका हुन् ।

 भट्टको पदावधि असोज २१ गतेदेखि सकिँदैछ । प्रधानमन्त्री सुशील कोइराला असोज ३ गते अमेरिका गएपछि १० गते संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिएर मात्रै र्फकने छन् । यता ९ गतेदेखि घटस्थापना हुने भएकाले १४ गतेदेखि सबै सरकारी कार्यालय बन्द भइसक्छन् ।

 असोज २० गते एक दिन सरकारी कार्यालय खुल्छ, जुन दिन बेलुका ५ बजेसम्म क्याबिनेटले पनि निर्णय नगरे डीआइजी भट्टसँग घर जानुको अर्को विकल्प छैन । यसो गरेपछि अधिकारीलाई एआइजी बन्न बाटो खुल्ने छ ।

गृहमन्त्रीको दाऊ
 स्रोतको दाबीअनुसार गृहमन्त्री वामदेव गौतमले भट्टको फाइल अगाडि नबढाएर असोज २१ सम्म टार्न चाहन्छन् । यसो गरेर गौतमले अर्का डीआइजी गणेश अधिकारीका लागि बाटो खोल्न चाहेका छन् । डीआइजी अधिकारी गृहमन्त्री गौतमका नातेदार रहेको स्रोत बताउँछ । गृहमन्त्रीको साथ नपाएपछि डीआइजी भट्टले पनि आफ्नो बढुवाको फाइल अगाडि बढाउन विभिन्न शक्तिकेन्द्रमा लविङ गरिराखेको स्रोतले अनलाइनखबरलाई बतायो ।

 को-को छन् दाबेदार ?
 काम धेरै गर्नु नपर्ने तर आफ्ना मान्छे भर्ती गर्न र राम्रो पैसा कमाउन पाइने गुप्तचर विभागमा एआइजी बन्नका लागि भट्ट, अधिकारीका साथै डीआइजी दिलिप रेग्मी र अर्जुन केसी पनि सक्रिय रहेका छन् । स्रोतको दाबीअनुसार गृहमन्त्रीको सहानुभूति अधिकारी र रेग्मीमाथि बढ्ता रहेको छ ।

 धमाधम आफ्ना मान्छे
 त्यसो त अनुसन्धान विभागमा करिब ५० जना अधिकृतसहित करिव १८७ जनाको दरबन्दी रिक्त रहेको छ । यस्ता पदहरुमा हाकिमले सुटुक्क आफ्ना मान्छेहरु भर्ती गर्ने परम्परा रहेको कर्मचारीहरु बताउँछन् । विगतदेखि नै एमालेका गृहमन्त्रीले अनुसन्धान विभागमा अखिल र युवासंघका कार्यकर्ता भर्ती गरेको स्रोतले बतायो । त्यस्तै कांग्रेसले पनि आफ्ना कार्यकर्तालाई अनुसन्धान विभागमा भर्ना गरेर घरैमा बसी बसी जागिर खुवाउने गरेको गुनासो आउने गरेको छ ।

No comments: