September 16
काठमाडौं । मोहन वैद्य नेतृत्वको मोर्चाले गोलमेच सम्मेलन बहिस्कार गरेपछि संविधानसभा भवनको ल्होत्से हलबाट रित्तो हात फर्किएका प्रमुख दलका नेताहरुले वैद्यले ठूलो भूल गरेको प्रतिक्रिया दिएका छन् ।
आफैंले गरेको प्रस्तावबाट पछि हटेर वैद्यले राजनीतिक जीवनको इतिहासमै गम्भिर गल्ति गरेको भन्दै उनीहरुले अब यो अवसर आउन नसक्ने संकेत गरे । गोलमेच सम्मेलन रद्द भएपछि घटना र बिचार प्रतिनिधिले बिभिन्न दलका नेताहरुसँग प्रतिक्रिया लिदा उनीहरु प्रायः सबैको एउटै बिचार थियो ।नियत खराब रहेछः केपी ओली, एमाले अध्यक्ष
kp-oliगोलमेच सम्मेलन गरे हामी संविधान निर्माणको प्रक्रियामा सहभागी हुन्छौं भन्नुभयो । उहाँहरुको माग पूरा गर्दा संविधान बन्छ भने किन नमान्ने त भनेर हामी लचिलो भयौं । उहाँहरुकै प्रस्ताव अनुसार गोलमेचको आयोजाना गरेपछि एकाएक उहाँहरु भाग्नुले नियत खराब रहेछ भन्ने प्रष्ट भयो । एउटा अबसर मोहन वैद्य कमरेडले गुमाउनुभयो, अब यस्तो अवसर फेरि नआउन सक्छ । संविधानसभाले आफ्नो काम अघि बढाउछ, अब कसैलाई पर्खेर बसिदैन । म यति भन्छु उहाँहरुले उचित काम गर्नुभएन ।
बैद्यको बहाना रहेछः रामचन्द्र पौडेल, उपाध्यक्ष नेपाली कांग्रेस
उहाँहरुले भने अनुसारनै हामीले गर्यौं । अहिले आएर प्रष्ट भएको छ, गोलमेच सम्मेलन उहाँहरुको बहानामात्र रहेछ । हिजो उहाँहरुले संविधानसभा बाहेक अन्तबाट बनाइएको संविधान मान्दैनौं भन्नुभयो । आज गोलमेच भन्नुभयो । आखिर दुवै ठाउबाट छाडेर उहाँहरुको सबै बहाना छरपष्ट भए । उहाँहरु संविधानसभाबाट संविधान बनोस भन्ने चाहानुहुन्न । अझ उहाँहरु मुलुकमा नयाँ संविधान नबनोस भन्ने चाहानुहुन्छ भन्ने प्रष्ट भएको छ । अब गोलमेच हुदैन ।
बैद्यले भ्रूण हत्या गरेः टोपवहादुर रायमाझी, नेता एनेकपा माओवादी मोहन वैद्य जस्तो जिम्मेवार नेताले गोलमेच सम्मेलनमा सहभागी भएर आफ्ना बिचार राखेको भए धेरै राम्रो हुन्थ्यो । उहाँहरुले गम्भिर गल्ति गर्नुभयो । गोलमेच सम्मेलनको प्रस्ताव उहाँहरुलेनै गर्नुभयो । अनि आफैंले गर्भधान गरेको भ्रूण हत्या गरेर बैद्यले ठिक गर्नुभएन । यो उहाँको ऐतिहासिक भूल हो । उहाँका जे जे कुरा हुन् गोलमेच सम्मेलनमै राखेको भए कतिपय कुराहरुमा उहाँहरुलाई हाम्रो पनि साथ हुने थियो । यसले त उहाँहरुको नियत ठिक रहेनछ भन्ने पुष्टि भयो ।
नाटकको पर्दा बन्द भयोः प्रेम सुवाल, नेता नेमकिपा गोलमेच सम्मेलन भन्ने कुरानै नाटक थियो । उहाँहरुले राम्रो नियतले, संविधान बनाउने उद्देश्यले मागेकै होइन । नाटकको पर्दा खोल्नुभयो र अहिले आफैं बन्द गर्नुभयो । संविधानसभा भन्दा बाहिरबाट संविधान बनाउने प्रयास विफल पार्नुपर्छ ।
No comments:
Post a Comment