Friday, September 12, 2014

जाली पासपोर्टमा नेपाल आउँछन् सिरियालीहरु

September 12
काठमाडौं । सिरियाली नागरिक मोहमद घुसा अलमास्ट गत साउन २९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परे । उनलाई ‘जाली राहदानी (अरुको राहदानीमा फोटो परिवर्तन गरेको) प्रयोग गरेको आरोपमा अध्यागमन कर्मचारीले पक्राउ गरेका थिए ।

 उनले रोमानियाका एक नागरिकको १००१६४६३ नम्बरको राहदानी प्रयोग गरेका थिए । गत जेठ १० गते त्रिभुवन विमानस्थलमै नक्कली राहदानीसहित एकसाथ तीन सिरियाली नागरिक समातिए । पक्राउ पर्नेमा मोहमद फारह्याट, ओमार अलोमारी र आयम्यान अलोमरी थिए ।

 फारह्याटले गि्रसका नागरिक इलिफारिस च्याट जिप्पालिजको ‘ए २११४६४९६’ ओमारले ग्रिसकै जर्जियस रासलसको ‘एके १४७१४०२’ र आयम्यानले सिरियाकै एक नागरिकको ‘एन ००४६८४४५२’ नम्बरको राहदानी प्रयोग गरेका थिए । जेठ १ गते पक्राउ परेका लेला सलाम नाम गरेका सिरियाली नागरिक स्विडेनका नागरिक हनान खाधिमको ८५७३३५१९ नम्बरको राहदानी प्रयोग गरेका थिए ।

 यी प्रतिनिधि घटना हुन् । अध्यागमन विभागको अनुसन्धानबाट द्वन्द्वग्रस्त राष्ट्र सिरियाका नागरिकले जाली राहदानी प्रयोग गरी युरोप र अमेरिका जान नेपाललाई ‘ट्रान्जिट’ बनाउने गरेको खुलासा भएको नागरिकमा खबर छ । पछिल्ला महिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जाली राहदानीका साथ पक्राउ परेका सिरियाका नागरिकले आफूहरुलाई शरणार्थी दाबी गर्दैनन् ।

पक्राउ पर्ने व्यक्ति फरक भए पनि उनीहरुले जाने गन्तव्य एउटै बताउने गरेका छन्- युरोप वा अमेरिका । पक्राउपछि बयानमा उनीहरुले यो कबुल गरेका हुन् । उनीहरुले १ देखि १२ हजार अमेरिकी डलरसम्ममा विभिन्न देशका राहदानी खरिद गरी फोटो परिवर्तन गरेर नेपाल हुँदै युरोपेली राष्ट्र र अमेरिकालाई गन्तव्य बनाउने गरेको बयानमा बताएका छन् ।

No comments: