Saturday, September 13, 2014

काठमाडौं गोलीकाण्डका नाइके मुम्बईबाट समातिए

September 14
काठमाडौं । साढे तीन वर्षअघि काठमाडौंमा भारतीय व्यवसायी र सोरुमका कर्मचारीको हत्यामा संलग्न दुई अभियुक्त भारतको मुम्बईबाट समातिएका छन् । १० चैत ०६७ मा एक्साइड व्याट्रीको टेकुस्थित सोरुमका कर्मचारी प्रेमकृष्ण महर्जन र २७ चैतमा भारतीय व्यवसायी अञ्जनीकुमार चाचानको गणबहालस्थित पसलमै गोली प्रहार गरी हत्या गरेको घटनाका मुख्य अभियुक्त पक्राउ परेका हुन् ।

 गोलीकाण्डपछि भारतमा लुक्दै आएका जीरज केसी र सुनील महर्जन पक्राउ परेका नयाँ पत्रिकामा खबर छ । अपराध महाशाखाका अनुसार महर्जनलाई दुई साताअघि नै काठमाडौंबाट पक्राउ गरिएको थियो भने भारतीय प्रहरीको सहयोगमा केसी बिहीबार मुम्बईबाट पक्राउ परेका हुन् ।

 ‘दुई हत्यामध्ये प्रेमकृष्ण महर्जनलाई व्यक्तिगत रिसइबीमा गोली हानेको देखिन्छ,’ महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्कीले भने, ‘चाचानलाई भने पैसा लुट्ने उद्देश्यले उनीहरुले गोली हानेका थिए ।’ यो समूहका दुई जना राजु डंगोल र अशोक गोले दुई वर्षअघि नै पक्राउ परिसकेका छन् । उनीहरु हाल जेलमा रहेका छन् । एसएसपी कार्कीका अनुसार अभियुक्त डंगोल र प्रेमकृष्ण महर्जनबीच रिसइबी रहेकाले त्यही कारण गोली हानिएको थियो ।

No comments: