Friday, September 12, 2014

अध्यक्ष अवैधानिक भएको भन्दै उद्योग वाणिज्य महासंघका पदाधिकारीद्धारा बैठक बहिष्कार

September 12
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदिपजंग पाण्डे अवैधानिक भएको भन्दै बरिष्ठ उपाध्यक्ष पशुपति मुरारकासहित करिब दुई दर्जन कार्यसमिति सदस्यले बैठक बहिस्कार गरेका छन् । महासंघको चौथो कार्यकारीणी बैठक शुक्रबार धुलिखेलमा सुरु भएको थियो ।

 ‘अध्यक्ष पाण्डेले भ्रष्टाचार गरेको प्रमाणित भएसँगै उहाँ अवैधानिक हुनुभएको छ, अवैधानिक अध्यक्षको अध्यक्षतामा महासंघजस्तो गरिमामय संस्थाको बैठक बस्ने कुरै भएन’ मुरारकाले अनलाइनखबरसँग भने-‘त्यसैले मसहित दुई दर्जन कार्यसमिति सदस्यले बैठक बहिस्कार गरेका छौं ।’

पाण्डे तीन दशकअघि काठमाडौं उपत्यका खानेपानी कार्यालयमा हुँदा भ्रष्टाचार गरेको ठहर भएको थियो । तर, पूरा सजाय भुक्तान नगरेकाले पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएपछि पाण्डेले सर्वोच्चमा रिट दायर गरेका छन् ।

तत्कालीन राजाले कैद मिनाहा गरेको दावी गर्दै परेको रिटमा सर्वोच्चले पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ । उद्योग बाणिज्य महासंघको विधानत अब अध्यक्ष पद रिक्त भएको मुरारकाको दावी छ । उनले पाण्डेको अध्यक्षतामा बसेको बैठक अवैधानिक भएको दाबी गरे ।

 तर, कोरम पुर्‍याएर बैठक बसिरहेको महासंघकी कार्यकारीणी सदस्य तथा महिला उद्यमी समितिकी सभापति कमला श्रेष्ठले जानकारी दिइन । ‘६० जनाको सदस्यहरुमा २० जना बैठकमा उपस्थित हुनुभएन’ श्रेष्ठले भनिन्-‘४० जना कार्यसमिति सदस्यहरुको बैठक बसिरहेको छ ।’ बैठकले आगामी दिनका योजनाहरु बारेमा छलफल गरेको उनले जानकारी दिइन् ।

No comments: