September 11
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सहमतिको नाममा गर्ने भनिएको राष्ट्रिय राजनीतिक सम्मेलन निरर्थक अभ्यास मात्र हुने दावी गरेका छन् । यो समय खर्चने र संविधान बन्न नदिने षड्यन्त्र मात्र भएको उनको भनाइ छ ।
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष थापाले भने- ‘मोहन बैद्यले नेतृत्व गरेको मोर्चाले भनेजस्तो सम्मेलन गर्दै जाने हो भने कहिल्यै पनि सहमति हुँदैन ।त्यसमा काँग्रेस-एमाले नराम्रोसँग फसेका छन् ।’ राष्ट्रिय राजनीतिक सम्मेलनलाई प्रवचन गोष्ठी भन्दै उनले चार दलले बालुवाटारमा बैठक बसेर सिण्डिकेट लाग्ने र राष्ट्रिय सम्मेलन गराएर कार्यतालिका परिवर्तन गर्ने षड्यन्त्रमा लागेको आरोप लगाए ।
अब विधि र प्रक्रियामा जानुपर्छ
राप्रपा नेपालका अध्यक्ष थापाले सहमतिको नाममा समय थपिरहनुको कुनै औचित्य नभएको धारणा राखे । उनले भने-राप्रपा नेपाल आँफै अब सहमतिको नाममा समय थप्न तयार छैन् । यदि दलहरुले सहमतीको कुरा गरेर समय थपिरहने हो भने हामी संविधान सभा र व्यवस्थापिका संसद दुवैबाट दबाबमूलक कार्यक्रम सुरु गर्छौं ।’
मुलुकलाई माघ ८ गतेभित्रै संविधान दिनका लागि विधि र प्रक्रियामा जानुको विकल्प नभएको उनको भनाइ छ । विवादित विषयहरुलाई विधि र प्रक्रियाबाटै गएर भए पनि टुँगो लगाउनु पर्ने थापाको जोड थियो । संघियता, धर्मनिरपेक्षता, गणतन्त्रको विषयमा आफूहरुले विमति राख्दा ठूला पार्टीले सुनुवाई नगरेको भन्दै उनले आक्रोश पोखेका छन् ।
उनले थपे-हामीले स्म्वाद समितिमा असहमति राखिसकेका छौं । अब अब जनमत संग्रहबाटा टुँग्याउनुपर्छ ।’ सत्तारुढ काँग्रेस र एमालेले संख्याको आधारमा गणितीय दम्भ देखाउने गरेको र प्रमुख प्रतिपक्ष दल एमाओवादीले चुनावमा हारेको पीडाबाट असूरक्षित महशुश गरेको भन्दै उनले तीन दलको निषेधको राजनीतिले संविधान माघ ८ गते नै आउनेमा शंका लागेको बताए ।
उनले भने-‘जबसम्म तीन दलको सिण्डिकेट अन्त्य हुँदैन तबसम्म संविधान निर्माण प्रक्रिया सहज रुपमा अघि बढ्दैन् ।’
लावतीले छाड्दैमा केही हुन्न
राप्रपा नेपालका अध्यक्ष थापाले पद्मसुन्दर लावतीहरुले पार्टी छाड्दैमा आफूलाई केही फरक नपर्ने बताएका छन् । उनले भने-लावतीहरुले अर्को पार्टी खोले नेपालमा पार्टीको संख्या बढ्छ, अरु के हुन्छ ?’ राप्रपा नेपालले लावतीलाई स्पष्टिकरण सोधेको छ ।

No comments:
Post a Comment