Saturday, September 6, 2014

सरकार मानव बेचबिखन अन्त्य गर्न प्रयत्नशील : मन्त्री केसी

September 6
महिला, बालबालिका तथा समाज कल्याणमन्त्री निलम केसीले समाजको कलङ्कका रुपमा रहेको मानव बेचबिखन अन्त्य गर्न सरकार प्रयत्नशील रहेको बताउनुभएको छ । सो मन्त्रालय, माइती नेपाललगायतका विभिन्न गैरसरकारी संस्थाले ‘मानव बेचबिखनविरुद्धको आठौ राष्ट्रिय दिवस’ का अवसरमा आयोजना गरेको कार्यक्रममा उहाँले मानव बेचबिखनजस्तो जघन्य अपराधलाई अन्त्य गर्न सरकारी तथा गैरसरकारी क्षेत्र प्रतिबद्ध भएर लाग्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।KK-KTM-rastriya-diwas-Rally

 मन्त्री केसीले विपन्नता, अशिक्षा, घरेलु हिंसा जस्ता कारण मानव बेचबिखन हुने गरेको भन्दै त्यसलाई रोक्न देशव्यापी रुपमा सचेतना अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पछिल्लो समयमा चेलीबेटी बेचबिखनमात्र नभएर मानवको अङ्गसमेत बिक्री हुने गरेको र बेचबिखन हुने ठाउँसमेत फराकिलो भएर समस्या जटिल बनेको बताउनुभयो । मन्त्रालयका सचिव धनबहादुर तामाङले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन बनिसकेको र मन्त्रालयले निजी क्षेत्रसँग मिलेर यसको रोकथाममा काम गरिरहेको बताउनुभयो ।

 राष्ट्रिय महिला आयोगका अध्यक्ष शेख चाँद ताराले नेपालमा वार्षिक रुपमा १५ देखि २० हजार महिला बेचबिखनमा पर्ने गरेको र गरिबी, अशिक्षा, भेदभाव, कमलरी प्रथा र घरेलु हिंसाका कारण धेरैजसो महिला बेचबिखनमा पर्ने गरेको बताउनुभयो । केन्द्रीय बालकल्याण समितिका अध्यक्ष डिल्लीराम गिरीले खाडी र अफ्रिकी मुलुकमा समेत मानव बेचबिखनमा पर्ने गरेको जानकारी दिनुभयो ।

 सो अवसरमा मानव बेचबिखनको क्षेत्रमा योगदान पु¥याउनुभएको विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो । रेडियो सफलता पोखराका सञ्चालिका दुर्गा घिमिरे, कान्तिपुर दैनिक सिन्धुपाल्चोकका संवाददाता ऋषिराम पौडेल, नारी सीप सिर्जना केन्द्र मकवानपुरका अध्यक्ष विष्णु माझी र नेपाल समाचारपत्र बाँकेका संवाददाता कुमार श्रेष्ठलाई मन्त्री केसीले सम्मान गर्नुभएको थियो ।

त्यसै गरी, मन्त्री केसीले मेट्रो एफएमकी संवाददाता रुपा नेहा शर्मा, महानगरीय प्रहरी महिला विभाग कालीमाटी, एबिसी नेपाल महिला तथा बालबालिका कार्यालय काठमाडौँलाई रु १०÷१० हजार पुरस्कार स्वरुप प्रदान गर्नुभएको थियो । सोही अवसरमा मन्त्री केसीले मन्त्रालयले जारी गरेको ‘मानव बेचबिखन विशेष गरी महिला तथा बालबालिकाको बेचबिखन तथा ओसारपसारविरुद्धको राष्ट्रिय कार्ययोजना २०६८ को कार्यान्वयन योजना २०७०’ र ‘मानव बेचबिखनविरुद्धको यात्रा’ सार्वजनिक गर्नुभएको थियो ।

 ‘जागौँ जागौँ, मानव बेचबिखन रोक्न सबै लागौँ’ भन्ने नाराका साथ मानव बेचबिखन दिवस सरकार र निजी क्षेत्रले यही भदौ १८ गतेदेखि २४ गतेसम्म विभिन्न कार्यक्रम गरी मनाइरहेका छन् । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्ने उद्देश्यका साथ २०६३ भदौ २० गतेदेखि नेपालले सो दिवस मनाउन थालेको हो ।

 कार्यक्रममा माइती नेपालले मानव बेचबिखनसम्बन्धी नाटक प्रस्तुत गरेको थियो भने मानव बेचबिखनसम्बन्धी गीत पनि प्रस्तुत गरिएको थियो । दिवसका अवसरमा भृकुटीमण्डपबाट निकालिएको र्‍याली पद्मोदय मोड, पुलतीसडक, बागबजार हुँदै पुलिस क्लबमा पुगेर कार्यक्रममा परिणत भएको थियोे ।

No comments: