Saturday, September 6, 2014

डिजिटल प्रविधिमा प्रवेश गर्दै राष्ट्रिय अभिलेखालय

September 6
राष्ट्रिय अभिलेखालयमा सङ्ग्रह गरिएका पुरातात्विक एवम् ऐतिहासिक सामग्रीलाई डिजिटल प्रविधिमा लैजाने कार्य परीक्षणका रुपमा सुरु गरिएको छ । यसअघि माइक्रोफिल्म गरेर राखिएका सामग्री पढ्न गाह्रो भएकाले अध्ययन एवम् अन्य कार्यका लागि पनि सजिलो होस् भन्ने उद्देश्यले डिजिटल प्रविधिमा लैजान लागिएको राष्ट्रिय अभिलेखालयका प्रवक्ता कुमार श्रेष्ठले जानकारी दिनुभयो ।DigitalLibrary

 अभिलेखालयमा ५० हजार पुरातात्विक एवम् ऐतिहासिक सामग्री भावी पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले अभिलेखीकरण गरी राखिएको छ । यसमध्ये ३० हजार हस्तलिखित सामग्री रहेका छन् । हस्तलिखित सामग्रीहरु नेपाली कागज, भोजपत्र र ताडपत्रमा लेखिएका छन् ।

माइक्रोफिल्म गरेर राखिएका सामग्रीलाई डिजिटल प्रविधिमा लैजान डिजिटल कन्भर्टर मेसिन ल्याइएका पनि प्रवक्ता श्रेष्ठले बताउनुभयो । रु ४० लाखमा अत्याधुनिक अमेरिकी कम्पनीको मेसिन ल्याइएको हो । मेसिनबाट अहिले परीक्षणका रुपमा माइक्रोफिल्म गरी राखिएका सामग्रीलाई डिजिटल प्रविधिमा लैजाने काम भइरहेको पनि प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

समय सापेक्षरुपमा छिटो र छरितो तरिकाले थोरै समय र ठाउँमा धेरै सामग्री रुपान्तरण गर्न सकिने भएकाले यो प्रविधि अभिलेखालयका लागि उपयोगी हुने कार्यालय प्रमुख प्रकाश दर्नालले बताउनुभयो । माइक्रोफिल्म प्रविधि बिग्रँदै गएकाले र महँगो पनि भएकाले पनि डिजिटल प्रविधिमा जानुपरेको कार्यालय प्रमुख दर्नाल बताउनुहुन्छ । विसं २०२४ असोज १७ गते हस्तलिखित सामग्री सङ्कलन गरी आधुनिक प्रविधिबाट संरक्षण गर्दै लैजाने उद्देश्यका साथ राष्ट्रिय अभिलेखालयको स्थापना भएको थियो ।

No comments: