26 August 2014 13:35
प्रमुख दलहरूले संसदीय समितिको नेतृत्वका लागि युवा सांसदको समेत नाम अघि सारेका छन्। दोस्रो संविधानसभा निर्वाचनको साढे नौ महिनापछि बुधबार हुन लागेको १२ संसदीय समितिका सभापतिमध्ये केही प्रभावकारी समितिको नेतृत्व युवा सांसदले पाउन लागेका हुन्। कांग्रेसले कृषि तथा जलस्रोत समितिको नेतृत्वका लागि गगन थापा र एमालेले विकास समितिको सभापतिका लागि रवीन्द्र अधिकारीलाई उम्मेदवार बनाउने निश्चित भएको छ। विद्यार्थी आन्दोलनको पृष्ठभूमिबाट राजनीतिमा आएका युवा नेताद्वय थापा र अधिकारी २०६२/६३ को शान्तिपूर्ण जनआन्दोलनका अभियन्तामध्येका हुन्।
कांग्रेसले नेतृत्व गर्ने समितिहरूमा कृषि तथा जलस्रोतमा थापा, राज्य व्यवस्थामा दिलबहादुर घर्ती, उद्योग वाणिज्य तथा उपभोक्ता हितमा भीष्मराज आङदम्बे र संसदीय सुनुवाइ विशेषमा कुलबहादुर गुरुङलाई सभापति बनाउने तयारी गरेको छ। चारमध्ये आङदम्बे र गुरुङ वरिष्ठ नेता शेरबहादुर देउवानिकट हुन्।
कांग्रेसले संसदीय समितिको नेतृत्वमा समानुपातिकबाट निर्वाचित दुई जनालाई अघि सारेको छ। प्रस्तावित ४ उम्मदवारमध्ये थापा र आङदम्बे प्रत्यक्ष निर्वाचित सांसद हुन्। एमालेबाट पनि दुई समानुपातिक सांसदले मौका पाउने भएका छन्। विकासमा प्रस्तावित अधिकारी, सुशासन तथा अनुगमन समितिमा प्रस्तावित शेरधन राई प्रत्यक्ष निर्वाचित हुन् भने विकास समितिको नेतृत्व गर्न लागेका प्रकाश ज्वाला र महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिमा प्रस्तावित रञ्जु झा समानुपातिक सांसद हुन्।
सभापतिका लागि एमाले संसदीय दलबाट प्रस्तावित ज्वालाबाहेक अन्य तीन उम्मेदवार अध्यक्ष केपी ओली निकटका हुन्। निवर्तमान अध्यक्ष झलनाथ खनालनिकट ज्वाला भने पछिल्लो महाधिवेशनमा माधव नेपाल प्यानलमा थिए।
कांग्रेस र एमालेसहितका प्रमुख दलहरूले संसदीय दलको औपचारिक बैठक र छलफलबिना नै उम्मेदवारको नाम तय गरेका हुन्। आफ्नो दलले पाउने ४ सभापतिमध्ये तीनवटाका लागि जनजाति उम्मेदवार अघि सारेको प्रमुख सत्तारूढ दल कांग्रेसले महिला, मधेसी र पिछडिएको क्ष्ाेत्रबाट एक जनाको पनि प्रस्ताव गरेको छैन। कांग्रेस संसदीय दलका मुख्य सचेतक चीनकाजी श्रेष्ठले पदाधिकारीको बैठकले आवश्यकताको सिद्धान्तअनुसार चार जना उम्मेदवार तय गरेको बताए। ‘मधेसी दल र साना दलहरूलाई पनि एक/एक सभापति छुट्याएका छौं, एमाले, एमाओवादीसहित दलहरूले पनि महिला, मधेसी उम्मेदवार बनाएका छन्,’ उनले भने, ‘यो सुविधाको पद पनि भएकाले वरिष्ठहरूलाई समेत समेट्नुपरेको हो।’
एमाओवादीले अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको
सभापति प्रभु साहलाई बनाउने भएको छ। यसअघि राज्य व्यवस्था समितिको सदस्य रहेका साहलाई अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा ल्याउन त्यहाँबाट राम (सुरेन्द्र) कार्कीलाई राज्य व्यवस्था समितिमा सरुवा गरेको थियो। समितिको सभापति हुन सम्बन्धित समितिकै सदस्य हुनुपर्छ। लामो समय बाबुराम भट्टराई क्याम्पमा रहेका कार्की पछिल्लो समय उनीबाट
टाढिएका छन् भने साह भट्टराईका सहयोगी हुन्। यसअघि लेखा समितिको सभापतिमा निर्वाचित जनार्दन शर्मा भने संस्थापन
पक्षका हुन्।
राप्रपा नेपालले पनि सामाजिक न्याय तथा मानवअधिकार समितिको सभापतिका लागि सुशीलकुमार श्रेष्ठलाई अघि सारेको छ। उनलाई पनि विकास समितिबाट सोमबारै सम्बन्धित समितिमा सरुवा गरिएको हो।
कुन समितिको सभापति को ?
कांग्रेस
- कृषि तथा जलस्रोत – गगन थापा
- राज्य व्यवस्था – दिलबहादुर घर्ती
- उद्योग, वाणिज्य तथा
- उपभोक्ता हित – भीष्मराज आङदम्बे
- सुनुवाइ विशेष – कुलबहादुर गुरुङ
एमाले
- विकास – रवीन्द्र अधिकारी
- अर्थ समिति – प्रकाश ज्वाला
- सुशासन तथा अनुगमन – शेरधन राई
- महिला, बालबालिका, ज्येष्ठ
- नागरिक तथा समाजकल्याण – रञ्जु झा
एमाओवादी
- अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम – प्रभु साह
मधेसी दल
- वातावरण संरक्षण समिति – जनकराज चौधरी
साना दल
- विधायन – निर्णय हुन बाँकी
न्यूज स्रोत : कान्तिपुर दैनिक
- See more at: http://www.nepaljapan.com/2014/08/26/128182/#sthash.YWBnUqEc.dpuf
No comments:
Post a Comment