Wednesday, August 27, 2014

जानकीनगको आशा

मिति : २०७१ भदौ, ११ बुधबार

http://www.annapurnapost.com/get_img?ImageRatio=75&ImageWidth=800&ImageHeight=399&ImageId=12574भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा जनकपुर आउने कार्यसूची बनाए पनि भ्रमण स्थगित गरियो। भ्रमण स्थगित भएपछि जनकपुरवासी निराश भए, तर निकट भविष्यमा हुन गइरहेको सार्क शिखर सम्मेलनमा मोदीले जनकपुर र लुम्बिनीको भ्रमण गर्ने बताएका छन्। यो घोषणापछि जनकपुरवासीमा ऊर्जा थपिएको छ। जर्जर र पुरानो जनकपुरले नयाँ रूप फेर्ने आशा लिएर बसेको छ। नगर सौन्दर्यीकरण अभियान सुरु भए पनि बजेट नहुँदा काम अघि बढ्न सकेको छैन। हजारौं वर्षको धर्म र संस्कृतिको इतिहास बोकेको यो पावन भूमि अतित सम्झिँदै विवश, निरीह भएर बाँच्न विवश छ। जनकपुरधाम एउटा प्राचीन नगरी हो। त्रेताकालीन रामायणका नायक मर्यादा पुरुषोत्तम रामको ससुराली, जगत जननी सीताको जन्मथलो र राजर्षि जनकको राजधानीका रूपमा सम्मानित, प्रतिष्ठित जनकपुरले विभिन्न कालखण्डमा आफ्नो महत्त्वलाई अक्षुण्ण राख्दै आएको छ। पंक्ति कार जनकपुर आउँदा रेल्वे स्टेसनबाट जानकी मन्दिर जाँदा एकदुई घर थिए। दरबार भनेको उही रामशमशेरको। पछि दरबार राणाहरूको दशा-दिशाझैं खण्डखण्डमा विभक्त भई लोप हुँदै गयो। जनकपुरका मठमन्दिरका जग्गा बिक्री हुन थाले। गुठीका हाकिम त्यही जग्गाको बन्दोबस्त गर्न हाकिम भएर आउन थाले। पोखरीहरू स्थानीय वासिन्दाले आफू पनि र गुठीका हाकिमहरूको कृपाबाट पनि अतिक्रमण हुन थाले। जनकपुरका धार्मिक कीर्ति लोप हुन थाले। धर्म कीर्तिका रूपमा राममन्दिर र जानकी मन्दिर मात्र आफ्नो स्वरूपसाथ यस नगरीको गौरव बढाउँदै छन्। तर जनकपुरको अवस्था निकै अस्वस्थ भएको थियो। दिनानुदिन अतिक्रमण, मन्दिरहरूबीच नै आपसी संघर्ष, विवाद, धार्मिक भावना र क्रियाकलापमाथि कुठाराघात भइरहेको थियो भने विकासको नाउँमा आउने नगण्य सरकारी रकम पनि सदुपयोग भएको थिएन। भारतीय दूतावासबाट प्राप्त ६ करोड रुपैयाँभन्दा बढी रकम र स्थानीय विकास मन्त्रालयबाट पनि प्राप्त यसै हाराहारीको रकमको उपयोग जनकपुरको विकासमा कहाँ कति खर्च भयो, प्रशंसनीय रूपमा चर्चायोग्य छैन। जनकपुर त्यस्तै अविकसित, अव्यवस्थित र खाल्टोले भरिएको सडकको सहर भएर बाँचिरह्यो। राजनीतिक रूपमा संविधानसभा निर्वाचनपछि जति उर्बरक बने पनि सामाजिक विकासका लागि त्यत्ति नै पछाडि पर्दै गयो। नगरवासी यस दु:खद स्थितिमा बस्न आफूलाई अभिशाप ठानी हिलाम्मे सडक र आपसी द्वेष र दलालीको सीमाबन्दीमा बाँच्न अभ्यस्त हुँदै गयो। बीचबीचमा केही युवा संगठन र क्लबहरूले जनकपुरलाई जुर्मुराउन प्रयास नगरेका हैनन् तर ती सबै प्रयास क्षणिक हुन्थ्यो। अवसर विशेषको हुन्थ्यो। स्वच्छ र पवित्र वातावरणमा बाँचिरहने वाचा यो क्षणमा नगरवासीलाई गरेको हुन्थेन। जनकपुर नगर सौन्दर्यीकरण अभियान सुरु भए पनि बजेट नहुँदा काम अघि बढ्न सकेको छैन। धेरै पुरानो धर्म र संस्कृतिको इतिहास बोकेको यो पावन भूमि अतित सम्झिँदै विवश, निरीह भएर बाँच्न विवश छ। त्यसैले जनकपुरवासी निकै आशा र भरोसाका साथ भारतीय प्रधानमन्त्री मोदीको आगमनको प्रतीक्षा गर्दैछन्। यसैबीच केही महत्त्वपूर्ण घोषणा भयो। जनकपुर विकासका लागि गरिएका यी घोषणा दीर्घकालीन थिए। आशा पलाउने नै भयो। यस्ता घोषणामा जनकपुर रेल्वेको बर्दिबाससम्मको ६७ किमि ब्रोडगेजमा विस्तार थियो, जो भारत सरकारले बनाइदिने भयो। जटही-जनकपुर, ढल्केवर-भिठामोड, जनकपुर-यदुकोहा यस्ता सडक थिए, जसको स्तर सुधार भएपछि सीमा यातायात सुलभ र आरामदायी हुन्थ्यो। फेरि एसियाली विकास बैंकको ऋण सहयोगमा जनकपुरका सडकको स्तरोन्‍नतिका लागि एकीकृत सहरी विकास योजना लागू भयो। यो क्रान्तिकारी योजना जनकपुरको विकासमा कोसेढुंगा सावित हुन्थ्यो। निकै पीडादायी बसाइ भोगिरहेका नगरवासीका लागि यो घोषणा र योजनाले राहतको काम गरेको थियो। जनकपुरले एकचोटि कोल्टो फेर्ने भयो भन्ने भयो। अनेकौं राजनीति, गुटबन्दी, अराजकताबीच अन्तत: ती योजना कछुवा गतिमा भए पनि जनकपुरमा लागू भइरहेको छ। योजना ढिलो पूरा हुने र नगरवासीमा स्वच्छ, सुन्दर जनकपुर पाउने आशा पलाएको छ। नगरवासीका यी आशा आकांक्षाकै सँघारमा पोखरीको अतिक्रमण हटाउने एेतिहासिक काम बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्कै नेतृत्वमा हुन थाल्यो। सुरुमा जानकी मन्दिरकै सम्पत्तिमाथि चासो राखिएको देखियो, तर पछि अन्य अतिक्रमित पोखरी पनि सफाइ अभियानमा परे। अहिले परिषद्ले यद्यपि अभियानबाट पछि हटेको हल्ला छ। र केही पोखरीमा काखा-पाखा गरेर बदनामी पनि प्रशस्त कमाएको छ। एउटा महत्त्वपूर्ण अभियान लथालिंग हुने अवस्थामा परिसकेको छ। त्यस्तै एसियाली विकास बैंकको परियोजना पनि बाधा-अड्चनमा पर्न थालेको छ। ल्यान्डफिलको तत्काल सुनिश्‍चित नहुनु र बाटो फराकिलो गर्दा मुआब्जाको विषय उठाएर अभियानको गति कमजोर पार्ने काम भइरहनु जनकपुरको सौन्दर्यीकरणको बाटोमा ठूलो अवरोध बन्‍न थालेको छ। यसमा नगरपालिकाको मुख्य भूमिका हुने भएकाले यो समस्याको समाधान कसरी हुने? प्रतीक्षाको विषय बनेको छ। विकास हुनुपर्छ। राजधानी त बनाउने तर त्यो भुइँमा नभई आकाशमा बनाउने। तल बनाइयो भने सडक फराकिलो पार्नुपर्छ। पोखरीहरूमा खोलिएको घरको नाला बन्द गर्नुपर्छ। सडकमा पर्ने घरटहरा हटाउनुपर्छ। यो नहुँदै जनकपुर स्वच्छ, सुन्दर र सफा बन्न सके झनै राम्रो हुनेछ। तर सत्य त्यो हुनै सक्दैन। सडक फराकिलो हुन्छ, दुवैतिर ढल बन्छ। अन्य पूर्वाधारका योजना सञ्चालन हुनेछन्। अनि मात्र जनकपुरको सौन्दर्यीकरणको अभियान पूरा हुनेछ। गंगासागरलाई सफा गरी जसरी अहिले गंगा आरतीको सुरुआत गरिएको छ, त्यसले जनकपुरधामको गरिमा बढाएको छ। आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न स्वच्छ, सफा र सुन्दर जनकपुर जति महत्त्वपूर्ण छ। राममन्दिर र जानकी मन्दिरको स्वच्छता, सौन्दर्यीकरण त्यत्तिकै जरुरी छ। जानकी मन्दिरको केन्द्रमा राखी सडक विस्तार गर्ने र यसवरिपरिका पोखरीबीच पानीको आदानप्रदान गरी ढुंगा विहारको व्यवस्था मिलाउने अति महत्त्वाकांक्षी योजना बनाइएको छ। निश्चय पनि, यसले जनकपुरको सौन्दर्य बदल्नेछ। तर यसका लागि लाग्ने अर्बौंको लागत कहाँबाट आउने? बृहत्तर जनकपुर योजना बजेट घोषणा हुनुअघि १५ अर्बको योजनासहित काठमाडौं पुगेको थियो। बजेटमा त्यो सामेल गर्न सकिएन, तर नियमित बजेटमा एक करोड रुपैयाँ थपेर सम्भवत: वीज रकम प्रदान गरेको आत्मसुख प्राप्त गर्न सकिन्छ। अरू अर्बौंको आशा दक्षिणतिर नै पलाएको संकेत पाइएको छ, तर तिनीहरूले पनि के गर्ने! तराई उनीहरूको एजेन्डामा पहिले पनि थिएन, अहिले पनि छैन। जाबो एउटा हुलाकी सडक बनाउने सम्झौता त कार्यान्वयन हुन सकेन। जनकपुरको सौन्दर्यीकरणको लागि भारतले यसअघि पनि सहयोग गर्दै आएको छ। भारतीय प्रधानमन्त्त्री नरेन्द्र मोदी जनकपुर आउनुअघि नेपालले पनि यो नगरको सौन्‍दर्यीकरणमा विशेष चासो दिने अपेक्षा गर्न सकिन्‍छ। हिन्‍दुवादी भारतीय जनता पार्टीका नेता प्रधानमन्त्री मोदी जनकपुर जानकी दर्शनका लागि आउने पक्‍कै भए पनि औपचारिक घोषणापछि हुनेछ। काठमाडौंले जनकपुर नगरवासीको स्‍वच्‍छ, सफा र हराभरा नगरमा बस्‍ने सपना साकार पार्न अवश्‍य सहयोगी भूमिका निर्वाह गर्नेछ। हामी जनकपुरबासी यसको व्‍यग्र प्रतीक्षामा छौ। ऐतिहासिक जनकपुरको स्वरुप बदलिनेछ। यहाँका पोखरी हराभरा हुनेछन्। स्वदेशी मात्र होइन विदेशी पर्यटकको पनि आकर्षणको केन्द्र बन्‍नेछ।

No comments: