Wednesday, August 27, 2014

एमाओवादीमा देशैभर समानान्तर कमिटी खुल्दै

बुधबार ११ भाद्र, २०७१


कीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल पक्षले एकलौटी ढङ्गले काम गरेको भन्दै वरिष्ठ नेता डा. बाबुराम भट्टराई पक्षधरहरूले चितवनमा नयाँ समानान्तर कमिटी गठन गरेका छन् ।

पार्टीको चितवनमा नयाँ नेतृत्व चयन भएको दुई साता नबित्दै भट्टराई पक्षीय नेता अमर रेग्मीको अध्यक्षतामा ४१ सदस्यीय समानान्तर समिति गठन गरिएको नेता विष्णुहरि तिमिल्सिनाले सोमबार जानकारी दिनुभयो ।

पार्टीभित्र अध्यक्ष प्रचण्ड दाहालले अल्पमतको कदर गर्न नसकेकाले त्यसैको व्यवस्थापनका लागि दबाब दिन यस्तो कदम चालिएको तिमिल्सिनाले बताउनुभयो ।

यो आन्तरिक सङ्घर्षको चरण रहेको समेत उहाँले बताउनुभयो । संयोजक रेग्मी तोकिए पनि अन्य पदाधिकारी भने छानिएको छैन ।

यसअघि साउन अन्तिमसाता चितवनमा एमाओवादी पार्टीको सातौँ सम्मेलनपछिको पहिलो बैठकले अध्यक्षमा दाहाल पक्षीय नेता यमबहादुर परियार इन्द्रजीतलाई चयन गरेको थियो ।

उहाँको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको थियो । विवादका कारण लामो समयपछि कार्यसमिति चयन भएपनि त्यसको दुईसाता नबित्दै अहिले समानान्तर कमिटी गठन भएको हो ।

देशका अन्य जिल्लामा पनि समानान्तर कमिटी गठन भइरहेको समाचार बाहिर आएको छ । एमाओवादी चितवनले पदाधिकारीहरू चयन गर्ने क्रममा कुरो नमिलेपछि समानान्तर कमिटी गठन भएको स्रोतले बताएको छ ।

पदाधिकारी चयनका विषयमा छलफल भएको बताए पनि एमाओवादी चितवनको नेतृत्व पक्षले भने समानान्तर कमिटीबारे जानकारी नभएको बताएको छ ।

नवनिर्वाचित अध्यक्ष इन्द्रजीतले भने आगामी दिनमा जिल्ला पार्टीलाई एकताबद्ध भएर लैजाने दाबी गर्नुभएको छ ।

No comments: