Wednesday, August 27, 2014

कोरियाली भाषा परीक्षाका कारण दसैंमा बाहिरिने यात्रु ६२ हजार थपिने


काठमाडौं— 

दसैं सुरु भइसकेपछि दक्षिण कोरिया जान चाहने कामदारको भाषा परीक्षा हुने भएपछि यो वर्ष मुख्य चाडका बेला उपत्यकाबाट बाहिरिने यात्रुको चाप बढ्ने भएको छ। सामान्य अवस्थामा पनि दसैंका बेला उपत्यकाबाट बाहिरिने यात्रुको चाप थामिनसक्नु हुन्छ । यो वर्ष इपिएस परीक्षा दिन ६२ हजार युवायुवती काठमाडौं आउने छन्। उनीहरु फर्कने समय पनि त्यही पर्ने भएकाले घटस्थापनापछि बाहिरिन समस्या हुने छ। कोरियाली भाषा परीक्षाका लागि देशभरका करिब ६२ हजार दुई सय १४ जनाले फारम भरेका छन् । परीक्षा असोज १० र ११ गते हुँदैछ। परीक्षा सकेका व्यक्तिहरु धेरै दिन काठमाडौं नबस्ने हुँदा त्यसको भोलि र पर्सिपल्ट बाहिरिनेको चाप बढी हुनेछ । असोज ९ गते परेको घटस्थापनादेखि दसैं सुरु हुन्छ । काठमाडौंबाट दसैंका लागि बाहिरिनेको चाप घटस्थापनाबाटै बढ्न थाल्छ । दसैंको मुखमा काठमाडौंबाट बाहिरिनेको चाप बढ्ने स्थिति भए पनि यसको व्यवस्थापनका लागि यातायात व्यवस्था विभागले हालसम्म कुनै योजना बनाएको छैन । विभागले दसैं, तिहार र छठ पर्वलाई लक्ष्य गर्दै विभिन्न कार्ययोजना पारित गरेको छ । 'इपिएसको परीक्षा त्यही बेला पर्छ भन्नेमा हाम्रो ध्यानै भएन,' यातायात व्यवस्था विभागका महानिर्देशक काशीराज दाहालले भने । यसबारे कुनै निकायले पनि ध्यान नदिएको र परीक्षाको मिति तोकिएअनुसार हुने भएकाले पनि यसका लागि केही गर्न ढिलो भइसकेको उनले बताए । 'अझै सबै मन्त्रालयका प्रतिनिधि बसेर छलफल गर्न सकिन्छ,' उनले भने । यसका लागि यातायात व्यवसायीलाई थप गाडी ल्याउन अनुमति दिइने दाहालले बताए । घटस्थापनादेखि महाअष्टमीसम्मको समय विदेशबाट आएका र उपत्यकामा बसोबास गर्नेहरु घर फर्किने 'पिक सिजन' हो । त्यसमाथि परीक्षार्थीसमेत थपिने भएपछि यातायात व्यवस्थापन गर्न निकै गाह्रो हुने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कोषाध्यक्ष सरोज सिटौलाले बताए । यसलाई व्यवस्थापन गर्न यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, श्रम तथा रोजगार मन्त्रालय र वैदेशिक रोजगार विभागबीच समन्वय हुनुपर्ने उनको सुझाव छ । दसैंमा ३० लाखभन्दा धेरै यात्रु विभिन्न नाका हुँदै राजधानीबाट बाहिरिन्छन् । साना, ठूला गरी दैनिक तीन हजार चार सयभन्दा धेरै सवारी साधन आवागमन हुने भएकाले व्यवस्थापन गर्न निकै कठिन हुने गरेको छ । 'त्यसै त यात्रुको चाप मारामार हुन्छ । त्यसमाथि, इपिएसका करिब ६२ हजार परीक्षार्थी भएकाले थप समस्या हुनेछ,' सिटौलाले थपे, 'कुनै पनि निकायसँग यसको व्यवस्थापन गर्ने योजना छैन ।' परीक्षार्थी ओसार्न कम्तीमा एक हजार गाडी थप्नुपर्ने भन्दै उनले यो निकै चुनौतीपूर्ण हुने बताए । यसका लागि इपिएस परीक्षाको मिति सार्नु नै उत्तम विकल्प हुन सक्ने उनको सुझाव छ । 'या त परीक्षा मिति सार्नुप¥यो, नभए देशका अन्य सहरमा पनि परीक्षा केन्द्र राख्नुप¥यो,' उनले भने । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यसका लागि पहल गर्नुपर्ने व्यवसायीको माग रहेको उनले बताए । यस विषयमा कसैको ध्यान नगएको दाहालको भनाइसँग इपिएस कोरिया शाखाका निर्देशक डिल्लीराम बाँस्तोला भने सहमत छैनन् । 'यस विषयमा बृहत् छलफल भएको हो,' उनले भने । सबै निकायबीच व्यापक छलफल भए पनि कुनै पनि हालतमा परीक्षाको मिति सार्न नसकिने बास्तोलाले बताए । 'इपिएसको प्रक्रिया लामो हुने भएकाले डिसेम्बरसम्म सबै काम सक्नुपर्ने हुन्छ । सफल भएकाले ५ फेब्रुअरीदेखि कोरियामा काम नै सुरु गर्नुपर्ने भएकाले पनि यसलाई सार्न कोरिया सरकार सहमत छैन,' बाँस्तोलाले भने । अन्य सहरमा पनि परीक्षा सञ्चालन गर्ने विकल्पमा कोरिया सरकार सहमत नभएकाले उपत्यकामै सञ्चालन गर्नुपर्ने बाध्यता रहेको उनले सुनाए । 'परीक्षा अत्यन्तै संवेदनशील भएकाले स्वच्छता, पारदर्शिता र गोपनीयतामा ध्यान दिनुपर्छ । त्यसकारण कोरिया सरकार सहमत नभएको हो,' उनले भने । यातायातको सहज व्यवस्थापनका लागि यातायात र श्रम तथा रोजगार मन्त्रालयले एकअर्कालाई सहयोग गर्नुको विकल्प नभएको बाँस्तोलाले बताए । गत वर्ष पनि त्यही समय इपिएसको परीक्षा परेकाले यात्रुले सास्ती भागेका थिए । गत वर्ष ४७ हजारजनाले कोरियाली भाषा परीरक्षा दिएका थिए । यातायात व्यवस्था विभागले टिकट भदौ २५ देखि खुल्ने बताए पनि व्यवसायीहरु अझै टुंगोमा पुगिनसकेको सिटौलाले बताए । आवश्यकताअनुसार सवारी साधन थप्न आफूहरु सहमत भए पनि भत्किएका सडक र पुल निर्माण गरी पूर्वाधारको सुनिश्चिचता दिनुपर्ने व्यवसायीको माग रहेको उनले बताए । 'बाढी र पहिरोको कारण भत्किएका बाटोघाटो र पुल निर्माणलाई तीव्रता दिएमात्र व्यवसायीले गाडी थप्न सक्छन्,' उनले भने । कमजोर सडकमा नयाँ गाडी गुडाउनु व्यवसायीका लागि घाटा हुने उनको भनाइ छ । उनका अनुसार कति संख्यामा गाडी थप्ने भन्ने निर्णय व्यवसायीले गरिसकेका छैनन् ।

No comments: