भदौ, ११ बुधबार
विजयकुमारलाई समेत उपस्थित हुन आदेश काठमाडौं :
सर्वोच्च अदालतले कान्तिपुर पब्लिकेसन प्रालिका प्रकाशक, निर्देशक एवं सम्पादकलाई सात दिनभित्र बयानमा उपस्थित हुन मंगलबार आदेश दिएको छ। सर्वोच्चमा दायर अवहेलनासम्बन्धी एक मुद्दामा कान्तिपुर दैनिकका प्रकाशक कैलाश सिरोहिया, निर्देशक स्वस्तिका सिरोहिया र सम्पादक सुधीर शर्मालाई बयान दिन बोलाइएको हो। कान्तिपुर दैनिकमा विभिन्न अंकमा प्रकाशित अदालतसम्बन्धी लेख, रचना र समाचार र सम्पादकीय टिप्पणीको निरन्तर प्रकाशनका कारण अदालतको अवहेलनाजन्य कसुर गरेको प्रस्ट हुन आएको भन्दै सर्वोच्चले बयानमा हाजिर हुन भनेको छ। आदेशअनुसार म्याद थाम्न र वारेश राख्न पाइने छैन। कान्तिपुरलाई अदालतको अवहेलनामा कारबाहीको माग राखेर अधिवक्ता अञ्जनीकुमार पोखरेल र रत्नकुमारी श्रेष्ठले भिन्नाभिन्नै मुद्दा दायर गरेका थिए। मुद्दामा सुनुवाइपछि सर्वोच्चका न्यायाधीश गोपाल पराजुलीको एकल इजलासले बयानमा डाक्ने आदेश गरेको हो। न्यायपालिकाको प्रतिष्ठा र सम्मानमा आघात पुर्याई अदालतको निष्पक्षता, सक्षमता तथा विश्वसनीयतामा जनमानसमा भ्रम उत्पन्न गराउन खोजेकोसमेत आदेशमा जनाइएको छ। 'सर्वोच्च अदालत ऐन २०४८ को दफा ७ बमोजिम अदालतको अवहेलनामा किन कारबाही र सजाय नगर्ने हो आफूउपर कारबाही र सजाय गर्न नपर्ने भए समाह्वान पाएको मितिले सात दिनभित्र तारेख थाम्न नपाइने गरी यस अदालतमा बयान गर्न स्वयं उपस्थित हुन आउनु भनी निजहरूको नाउँमा प्रस्तुत निवेदन र यस आदेशको प्रतिलिपिसाथ समाह्वान जारी गरी तामेल गर्नू' आदेशमा लेखिएको छ। मुद्दामा विपक्षी बनाईका पत्रकार विजयकुमार पाण्डेलाई भने बयान नलिने गरी लिखित जबाफ लिएर उपस्थित हुन पाउने सुविधा दिइएको छ। सर्वोच्चले मुद्दा दायर गर्ने कानुनव्यवसायीलाई सुरक्षा प्रबन्ध मिलाउनसमेत आदेश दिएको छ।
No comments:
Post a Comment